अपडेट 
२०७९ जेष्ठ ३, मंगलवार ०७:५६

जनकपुरधामको जनकचोकमाजनकमन्दिरको कम्पाउन्डमा दीपनारायणको पत्रिका पसल छ । दुई दिन पहिले उनको पसल अगाडी शिक्षित ग्रामीण झै लाग्ने दुईजना शुभेच्छुकलाई भेटेँ । एक जनाले भन्दै थिए — ‘दुःखको कारण अभाव, स्वाभाव र प्रभाव हो !’ अर्कोले थपे — ‘अभाव, स्वाभाव र प्रभाव संगै दुःखको कारण जवाबपनि हो !’ यो रमाइलो बहस सुनेरमनमनै हाँसोपनि उठ्यो । तर यथार्थ के हो भने उनिहरु मानवीय जीवनबारे सबैभन्दा महत्वपूर्ण दार्शनिक प्रश्नमाथी बहस गरिरहेका थिए । संसारभरीको दार्शनिक चिन्तन मात्र होइन, राजनैतिक, सामाजिक र वैज्ञानिक खोज र विकासको आधारभूत प्रश्नपनि यो ‘दुःखको कारण’को खोजी नै हो । विगतका दार्शनिकहरुलाई गहिरिएर अध्ययन गर्दा सहजरुपमा के बुझिन्छ भने हरेक दार्शनिकले आफ्नो समयको जीवन र जगत तथा यस्को जटिलताको अध्ययन गरे, आफ्नो समयको दुःखको पहिचान गरे, यस्को कारण खोजे र दुःखको समाधानको दिशापनि देखाए । ती दार्शनिकहरुले देखाएका दिशाहरु अर्थात् ज्ञानलाई मानिसहरुले कसरी बुझे, हामीले कसरी बुझिरहेका छौँ, यो बेग्लै कुरा हो । वस्तुतः दुःखको कारणको बोध गाह्रो छैन । गाह्रो हाम्रो बुझ्ने प्रक्रिया हो ।दुःख त दुःखै हो , अन्नको भोक भएपनि, ज्ञानको भोक भएपनि । अन्नको भोक छ भने खाना खानु पर्छ, ज्ञानको भोक छ भने जीवन र जगतको अध्ययन गर्नु पर्छ, परिवेश चिन्नु पर्छ । जनक मन्दिरभित्रका ती मेरा शुभेच्छुकहरुले दुःखको कारणको खोजी सहजै गरिरहेका थिए ।उनिहरु आफ्नो भौतिक परिवेश, भोगाई र त्यसबाट विकसित चेतनाको आयतनको हिसाबले दुःखको कारणको खोजीबारे बहस गरिरहेका थिए । ‘अभाव’को निरन्तरता ‘स्वभाव’मा परिणत हुन्छ, यस्ले वरिपरीका मानिसहरुलाई ‘प्रभाव’ पार्छ । यसको ‘जवाब’ दिँदा मिल्यो भने ठिकै, होइन भने विरोध हुन्छ । विरोध दुःख हो र विरोधको कारण अभाव हो । ‘अभाव हुन दिएन भने दुःख हुँदैन ।’ यो मेरा ती दुईजना ग्रामीण सरलहृदयी शुभचिन्तकहरुको बहसको सार थियो । उनिहरुका तर्कहरु अमिल्दा भएपनि निष्कर्ष भने सटिक थियो — ‘अभाव हुन दिएन भने दुःख हुँदैन ।’ उनिहरुले भनिरहेको स्वभाव, प्रभाव र जबाब, अभावको पश्चप्रभाव हो । दुःखको कारण अभाव हो । भौतिक अभावले असमानता सृजना गर्छ र यसै कारण मानिस दुःखी हुन्छ । यो असमानता व्यक्तिमा भयो भने व्यक्ति, समुदायमा भयो भने समुदाय दुःखी हुन्छ ।यस दुःखबाट मुक्ति पाउन मानिसले प्रयत्न गर्छ । यस प्रयत्नको अनुभव प्रारम्भिक ज्ञान हो भने ज्ञानको नयाँ प्रयोगबाट प्राप्त विशिष्ट अनुभव विशिष्ट ज्ञान वा विज्ञान हो । तपाँई भन्न सक्नु हुन्छ, दुःख र दुःखको कारण र यसबाट मुक्तिको दिशा र तरिकाबारे जानकारी नै ज्ञान हो । यो ज्ञान इन्द्रियग्राह्य अनुभूति र निपुणताको दुई चरणमा निरन्तर विकसित भैरहन्छ । अध्यात्मवादीहरुले ज्ञानलाई आत्मीय चिन्तन प्रक्रियाबाट विकसित स्थायी तत्वको रुपमा व्याख्या गर्ने गर्छन् । उनिहरुले ज्ञान प्राप्तिको उद्देश्य कुनै अलौकिक अस्तित्वमा विलिन भएर अलौकिक, अवर्णनीय आनन्दको अनुभूति अर्थात मोक्षको रुपमा व्याख्या गर्छन् । ज्ञानबारे यस दृष्टिकोणको समस्या भनेको जगत अर्थात भौतिकतासंग अलग्ग्निु वा जगतको उपेक्षा गर्नु हो । केही अध्यात्मवादीहरु जगतको उपेक्षा गर्दैनन्, तर जगतलाई हीन र दोषमय भन्छन् । यसै कारण उनिहरु जगत वा भौतिकतामा आधारित दृष्टिकोणलाई हेयतापूर्वक हेर्छन । इसाको आठौँ शताब्दीमा ब्रह्म वेदान्तको पुनरोत्थान गर्ने आदिशंकराचार्यले जगतसम्बन्धी सिद्धान्तलाई ‘शारिरक’ अर्थात शरीरलाई दोषमय मान्ने विचार भने । यस विचारले जीवन र जगतलाई उपेक्षा गर्छ र अवर्णनीय अलौकिकतासंगको सम्मिलनको आनन्द अर्थात मोक्षको निम्ती प्रेरित गर्छ । अध्यात्मवादले यस मोक्षको निम्ती जड धार्मिक आख्यान र नियमहरु पनि निर्माण गरियो । राज्य र धर्माचार्यहरु यी धामिर्क आख्यान र नियमहरुलाई प्रचारित गरे, प्रोत्साहित गरे । तर के यस्ले मानिस र मानवीय समुदायको दुःख हरण गर्न सक्यो ? अहँ, यो सुतुरमुर्ग चराको प्रवृत्तिमात्र थियो । टाङ्गमुनी टाउको लुकाएर सबै सुरक्षित छ भन्ने बुझ्ने प्रवृत्ति । संसारभरी मानिसहरुको पुस्तौँ पुस्ता यस्ता धार्मिक आचरणको अनुपालन गरिरहे । यतिमात्र होइन, धार्मिक आदर्शको आधारमा जीवनशैली ढाले, बसुधैव कुटुम्बकम्को सूत्र जपि रहे, साधुलाई भोको जान दिएनन् । तात्पर्य के भने मानिसहरु आचरणमा मात्र होइन, भावमा समेत धार्मिक जीवन बिताई रहे, पुस्तौँ पुस्ता । तर भनिन्छ नि, ‘ दवा ज्यूँ ज्यूँ की, मर्ज (रोग) त्यूँ त्यूँ बढता गया ।’ अध्यात्मिकताबाट विकसित धार्मिकताका बावजूद मानवीय जीवन जटिल हुँदै गयो । कतिसम्म भने यस जगतमा अध्यात्मक पाठ पढाउने अनेक ईश्वर र ईश्वरीय अवतारहरुको आगमन र प्रयत्नपछि पनि सम्पूर्ण धार्मिक आख्यानहरु राक्षस र युद्ध, दास, नारी अपहरण, खरीद विक्री, धार्मिक, जातिय र आर्थिक शोषणका प्रसंगहरुले भरिए ।मानव समाजको प्रारम्भमा शुरुभएको विभेद, असमानता र कमजोरवर्ग माथीको दलन र दमन कहिल्यै अन्त भएन । विश्वका कल्याण होस र बसुधैव कुटुम्बकम् को सूत्र वाक्य रटान गर्ने अध्यात्मवादी आचार्यहरुका शिक्षाका बावजूद विश्वमा अकल्याणमात्र बढी रह्यो । अरु त अरु यी अध्यात्मवादीहरु आफू अर्थात धार्मिक समुदायभित्रपनि सौहाद्र्रता कायम राख्न सकेनन् । संसारभरीको धार्मिक ग्रन्थहरु आखिर एउटा धर्मले अर्को धर्म र एउटा धार्मिक सम्प्रदायले अर्को सम्प्रदायसंग हिंसक संघर्षकै इतिहास त हो ! यस्तो किन भयो ? यस्को एउटै कारण छ — जगत र जगतका समस्याहरुबाटआँखा चिम्लनु । तर आँखा चिम्लेपनि समस्याको जटिलता कम हुँदैन नि ! बरु समयमा समाधान गरिएन भने झन् बढदै जान्छ । अध्यात्मवादीहरुले वास्तविक ज्ञानको स्रोतलाई नै थुनि दिए, अनि दुःखको हल कसरी हुने ? दुःखको कारण हो जगत र जीवन अर्थात जगत र मानवीय व्यवहारबीचको जटिलता ।तर उनिहरु यस्को स्रोत कुनै अलौकिक र दैविय अस्तित्वमा खोजिरहेका थिए ! यस अलौकिकताले एक छिनको निम्ती अलौकिक आनन्दको भ्रममात्रसिर्जना गर्न सक्थ्यो । यो भ्रमित मानव समुदायले जो यस जगतमा बस्छ, जगतको जटिलता अर्थात् दुःखको भौतिक कारण हल नभएसम्म कसरी आनन्दित हुन सक्छ ? त्यस कारण अध्यात्मवाद दुःखको कारणको खोजीमा उल्टो यात्रा हो । उर्दूको प्रसिद्ध शायर मिर्जा गालिबको एउटा शेर छ:

‘उम्रभर गालिबयही भूल करता रहा, गर्द चेहरे पे
थी और आइना साफ करता रहा ।’

दार्शनिक विचारहरु यस्तै अवास्तविक अध्यात्मवादी र धार्मिक चिन्तन पद्धतिको विरुद्ध विकसित भएको हो । ऋगवेदमा उल्लेखित प्राचीन आर्यका प्रकृति आश्रित सरल जीवनशैलीको व्याख्या गरिरहेका सरल भौतिक विचारहरु, लोकजीवनका भौतिक व्यवहार र सरल चिन्तनबाट जन्मेका लोकायत, चार्वाक र बार्हस्पत्य जस्ता भौतिकतामा आधारित ग्राम्य चिन्तन र व्यवहारहरु भौतिकवादी विचारका प्रारम्भिक आधार सामग्ीहरु हुन् । राज्यको आश्रयमा प्रोत्साहित अध्यात्मवादी चिन्तन र धार्मिक विचार व्यवहारसंग ग्रामिण र श्रमिक समुदायको व्यावहारिक टक्करहरु बाट जन्मने प्रतिरोधी भाव र विचारहरुको सूत्रीकरण र सैद्धान्तिकीकरण हामी जैन र बुद्धको दर्शनमा पाउँछौँ । जैन र बुद्धका अनुयायीहरु पछि गएर आफै रहस्यवाद र धार्मिकतामा संशोधित भए, तर यो दुबै विचारधारा यथार्थमा भौतिकवाद तिर ढल्केको अज्ञेयवादी धारा हो । अझ बुद्धका विचारहरु त मूलभूतरुपमा भौतिकवादी अर्थात जगत प्रधान नै हुन् । बुद्ध परम्परामा महायानको रुपमा रहस्यवादी धारा विकसित भएपछि मात्र बुद्धको अवतारको कथा रचियो र निर्वाणमा रहस्यवादी बोध समायोजन गरियो । यसै कारण ब्रह्मवादीहरुले बुद्धलाई विष्णुको अवतारमा सामेल गरे । होइन भने त ब्रह्मवादी शैव र वैष्णवहरु बौद्धहरुसंग हिंसक संघर्ष गरेको प्रसंगले इतिहास भरिएको छ ।

हिजो जेष्ठ २ गते बुद्धजयन्ती थियो ।

बुद्धले दुःखको कारण अभाव भने ।अभावमूलतः भौतिक हुन्छ, तर विशिष्टतामा यो भौतिक व्यवहारबाट जन्मने मानसिकपनि हुन्छ । यो जगत अभावमय छ । अर्थात् जगतलाई जान्नु नै अभावलाई जान्नु हो । अभावलाई बुझ्नु नै दुःखलाई जान्नु हो । र दुःखलाई जानेपछि मात्र दुःखबाट मुक्त हुने प्रयत्नको निम्ती प्रेरित भइन्छ । यसको तात्पर्य, बुद्धकै भाषामा भन्ने हो भने, यो जगत दुःखमय छ, दुःखका कारणहरु छन्, दुःखको शमनका मार्गपनि छन् र दुःखको कारण जान्नु दुःख शमनको दिशामा प्रेरित हुनु हो । बुद्धका अनेकौँ रहस्यवादी व्याख्याहरु उनका महायानी शिष्यहरुले गर्छन् । तर बुद्धका विचारहरुलाई जगतबाट कटाई दिने हो भने, यो तेल बिनाको दीप जस्तै हुन्छ, प्रकाशहीन । बुद्धको चिन्तनपद्धति भौतिकताको विचारबाट गुज्रन्छ । बुद्धले जगतलाई अनित्य अर्थात गतिशील अर्थात् हमेशा परिवर्तित भइरहने भने । बुद्धका कयौँ भनाईहरु पुराना भईसकेका छन्, तर यस संसारबारे उनका अनित्यवादी दृष्टिकोण सार्वकालिक, सार्वभौमिक र सटिक छन् । बुद्धले आफ्नो समयको जगत, जीवन र त्यसैले ज्ञानको व्याख्या गरेका थिए । हामी जुन युगमा छौँ, हाम्रा ज्ञानका स्रोतहरुपनि आजको जगतको वस्तुगत यथार्थबाट विकसित हुन्छ । यसैकारण हाम्रा दुःखका कारणहरुपनि आजकै सामाजिक जटिलता र मानवीय व्यवहारबाट जन्मेका हुन् । आजको दुःखको समाधानपनि आजको जगतमै खोज्नु सही दिशा हो । यस प्रयत्नमा इतिहास हाम्रो निम्ती मानवीय व्यवहारको अनुभव भने हुनसक्छ । हर क्षण नयाँ बन्दैछ, पुरानो मर्दैछ, अनि ज्ञान कसरी स्थायी हुनसक्छ ? तर अतितमोहको कारण हामी पुरातनसंग टाँस्सिएर बसेका हुन्छौँ र जगतको नवीन सौन्दर्यबाट वञ्चित भै रहेका हुन्छौँ । जगत र जीवनको नित नवीन जटिलतालाई स्वीकारौँ, समग्र मानव समुदायलाई कसरी दुःखमुक्त र सुन्दर बनाउन सकिन्छ, त्यसको निम्ती प्रयत्न गरौँ । नवीन अर्थमा बुद्धलाई सम्झनुको अर्थ यही हो । जगतबाट अलग्ग्निु सम्भव छैन, यसलाई कल्याणकारी, मानवीय र सुन्दर कसरी बनाउने भन्ने नै सही दृष्टिकोण हो । र संसारलाई सुन्दर बनाउने श्रमिकहरु शोषणमारहेसम्म यो संसार कसरी मानवीय र सुन्दर बन्न सक्छ ? यस पटकको बुद्ध जयन्तीमा विचार गरौँ !

Comment


Related News

Latest News

Trending News