अपडेट 
२०७९ जेष्ठ ३, मंगलवार ०८:४४

पर्सा जिल्लाको छिपहरमाइ गाँउपालिका–२ को चेरगाहा मतदान केन्द्रमा पुनः मतदान गराउन माग गर्दै नेपाली कांग्रेसले मतगणना कार्य स्थगित गराएको छ ।

मतदान र मतगणना दुबैमा धाँधली भएको भन्दै कांग्रेसले विरोध गरे पछि छिपहरमाइ गाउंपालिकाको मतगणना कार्य आइतबार अबेर साँझदेखि नै रोकिएको हो । वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार नवीन सिंहले वडा नम्बर २ को चेरगाहा मतदान केन्द्रमा शुक्रबार भएको मतदान रद्ध गरेर पुनः मतदान नगरिए पुरै गाउँपालिकाको मतगाणना हुन नदिने चेतावनी दिएका छन् । मतदान र मतगणना दुबैमा निवर्तमान गाउँपालिका अध्यक्ष एंव नेकपा एमालेका अध्यक्ष मनोज गुप्ताले धाँधली गरेको आरोप सिंहको छ । सिंहले भने ,‘ यदि चेरगाहा मतदान केन्द्रको मतदान रद्ध गरी पुनः मतदानको मिति घोषणा गरिएन भने अवस्था भयवह हुन सक्छ , हामी जेल जान पनि तयार छौ । सिंहले शुक्रबार भएको मतदानका क्रममा चेरगाहा मतदान केन्द्रमा एमाले अध्यक्ष उम्मेदवार गुप्ताले गाउँपालिका कार्यालयमा आफूले करारमा नियुक्त गराएका कर्मचारीहरु मार्फत धाँधली गराइ मतदाता भन्दा बढी संख्यामा मत खसाउन लगाएको आरोप लगाए ।

गुप्ताको निर्देशनमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका सहायक मतदान अधिकृत शम्भु साहले १ हजार ५ सय ९० मत खसेको भए पनि इन्ट्रि भने १ हजार ६ सय २० मतको गराएर मुचुल्का उठाएको आरोप सिंहले लगाए । यसका साथै एमाले उम्मेदवार गुप्ताले मृत्यु भइसकेका मतदाताको नाममा पनि मत खसाउन लगाएको र त्यसको प्रमाण पनि आफूसंग सुरक्षित रहेको सिंहले जानकारी दिए । त्यही बेला आफूहरुले विरोध गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सिंहले अहिले मतगणनाका क्रममा पनि गुप्ताले करारमा नियुक्त गरेका कर्मचारीहरुले धाँधली गरेपछि आफूहरुले आइतबार देखि मतगणना रोक्न लगाएको बताए । उनले मतदान र मतगणनामा धाँधली गर्ने कर्मचारी र एमाले अध्यक्ष उम्मेदवार गुप्तालाई तत्काल पक्राउ गरि कानूनी दायरामा ल्याउन स्थानीय प्रशासनसंग माग पनि गरे । आफूले निर्वाचन कार्यालयसंग तीन दिन देखि माग गर्दै आइरहे पनि कुनै सुनुवाइ नभएपछि सोमबार पत्रकार सम्मेलन गर्न बाध्य भएको सिंहले बताए । सोमबारको पत्रकार सम्मेलनमा कांग्रेसका जिल्ला प्रवक्ता रमेशनाथ पाण्डे , पूर्व जिल्ला सचिव किशोरी साह कानु लगायतका नेताको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News