अपडेट 
२०७९ जेष्ठ ४, बुधबार ०८:१०

स्थानीय तहको चुनावको मान्यता आफ्नै किसिमिको रहेको छ । तर पुराना मान्यतागत केही भाष्यहरु यसपटक कमजोर भएको देखिएको छ । देशमा चुनावको भाष्यमा धेरैतिर परिवर्तन नै देखिएको छ । निर्वाचनका सहजताहरु कतै केही कमजोर पनि देखिएको छ भने निर्वाचनको परिणामलाई स्वाभाविक स्वीकार्ने प्रवृत्तिमा पनि केही खलबली देखिएको छ । यद्यपि यो सामान्य भाष्य हो कि जो हार्दछ, उसले प्रतिकार गर्दै अस्वीकार गर्दछ । यति हुँदाहुँदै पनि यसपटकको स्थानीय चुनावले सबैको ध्यान निरन्तर तानिरहन सकेको छ । चुनावको प्रकृतिले नै सबैको ध्यान तान्न सफल भएको हो । स्थानीय तहको सरकार भनिरहँदा प्रारम्भमा धेरैलाई विश्वास नै लागेको थिएन । सिंहदरबारको अधिकार गाउँलाई दिइएको कुरालाई पनि कतिपयले बुझ्न सकिरहेका थिएनन् तर यसपटकको चुनावसम्म आइपुग्दा धेरै हदसम्म घाम स्पष्ट भइसकेको छ ।

स्थानीय सरकार अधिकार सम्पन्न मात्र नभएर यो अन्य गुणले पनि सम्पन्न रहेको अब राजनीतिमा रुचि राख्ने सबैले व्यावहारिक रुपमा नै बुझिसकेका छन् । धेरै हदसम्म विकासको लागि केन्द्रकै योजना र रकमको भर पर्नुपर्ने अवस्था अब कमजोर हुँदै गएको जनताले पनि बुझ्न थालेका छन् । जनताले सत्तामा आफ्नो भागीदारी पनि यसै मार्फत खोजिरहेका छन् । र, यो पनि स्पष्ट हुन पुगेको छ कि जनताले चाहेर सत्तामा परिवर्तन हुने रहेछ । आफूलाई जतिसुकै राम्रो तर्क तथा आफ्ना समर्थकबाट जतिसुकै असल भनाउने प्रयास गरिए पनि भजन मन्डलीको कुरालाई जनताले नपत्याउने रहेछ भन्ने । यस चुनावले आफूले राम्रो काम गरेको भन्ने धेरैलाई पछारि दिएको छ र बिल्कुलै नयाँ उम्मेदवारलाई पाँच वर्षको लागि आफ् नो अभिभावक बनाएको देखिएको छ । सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षका नवयुवकले गाउँपालिका अध्यक्षको पदमा विजय हासिल गरेर यो पनि देखाइदिएका छन् कि स्थानीय सत्तामा युवाको हस्तक्षेप सम्भव छ । युवाले चाहेमा सत्तामा परिवर्तन हुन सक्छ । यसअघि जुन पार्टीको स्थानीय सरकार थियो, त्यो पार्टीले सत्ता पूर्णतया गुमाउन पुगेको छ । अन्यत्र धेरै ठाउँमा के देखिएको छ भने पहिले जो जितेका थिए, तीमध्ये निकै कमलाई मात्र जनताले अनुमोदन गरेका छन् ।

अनुमोदन हुने चाहिँ उहीँ हुन् जो आफ्ना विरोधीद्वारा पनि राम्रो कहलिने काम गरेका थिए । हो, लोकतन्त्रमा विरोधीले आलोचना गर्ने गर्दछन् तर आलोचनालाई बुझेर अबको काममा आलोचना नहुने गरी आफूलाई सपार्ने छु भन्ने सन्देश ग्रहण गर्नेले सजिलै आफूलाई फेरि उभ्याउन सकेका छन् हैनभने धेरै ठाउँमा यो पनि देखियो कि सर्वसाधारणले ठाडै तपाइँले पाँच वर्षमा केही पनि नगरेको र अहिले आएर जे यो गरेँ, त्यो गरेँ, अब यो गर्छु, त्यो गर्छु भन्नुको कुनै अर्थ र औचित्य छैन । नेपाली राजनीतिको इतिहासमा धेरै ठाउँमा जनताले हाकाहाकी नेतालाई तपाईँलाई हामीले स्वीकार गर्दैनौँ भनेको पहिलोपटक हुनुपर्छ । एक मतदाताले उम्मेदवारलाई सम्झाउँदै थिए – “तपाईँसित मेरो कुनै व्यक्तिगत दुस्मनी छैन, तपाईँलाई अन्य सबै सहयोग गर्छु, आवश्यक छ भने केही रकम पैँचो पनि दिन्छु जुन मलाई तपाईँले आफ्नै भाकाअनुसार फर्काउनु होला म ब्याज माग्दिनँ तर मसित भोट नमाग्नु होला हैनभने तपार्इँको बोली खेर जान्छ, तपार्इँले आफ्नो पहिलेका वाचा पूरा गर्नु भएन, यसकारण तपाईँको कुनै पनि बोलीको भरोसा गर्दैनाँै । तपाईँको राजनीतिबाहेकको क्षेत्रमा म फेरि तपाईँसितै छु । तपाईँ हाम्रो गाउँ र समाजको प्रतिष्ठा हुनुहुन्छ तर विगतमा राजनीतिको कारणले हाम्रो कुरा सुन्नु भएन, हामीलाई सोध्न आउनु भएन । जसरी जितेपछि तपाईँले हामीलाई बिर्सनु भयो, त्यसरी नै हामीले पनि चुनाव भर तपाईँलाई बिर्सेकै छौँ र मेरो घरमा अझ नआउनु होला चुनावभर । चुनावपछि मेरो घरको अभिभावक तपाईँ नै हो फेरि ।”दुवै हात जोडेर उम्मेदवारले कुनै उत्तर नदिई आफ्नो विगतको भूमिकामा पछुतो मानिरहेका थिए । अन्तिमसम्म पनि पग्लेनन् जनता जनार्दन । ऊनी चुनाव नराम्ररी हारे । सर्लाहीमा २२ वर्षका नवयुवक गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा केही समयको लागि मिडियाको मसाला बन्नु स्वाभाविक हो तर नवयुवक गाउँपालिकाको अध्यक्ष हुनु भनेको प्रतीकात्मक रुपमा स्थानीय तहमा राजनीति गर्नेहरु जो आफूलाई खेलाडी मान्छन्, को विरासतमाथि प्रश्न चिन्ह खडा गर्नु पनि हो ।

कमसेकम राजनीतिको क्षेत्रमा अब मैले उमेर पकाएको छु, धेरै जानेको छु भन्नुको अर्थ नरहने संकेत भइसकेको छ । देशमा अन्य उदाहरण पनि छन् । यसभन्दा पहिलेको स्थानीय चुनावमा काठमाडौँमा उम्मेदवार बनेकी रञ्जु दर्शनाको अनुहार र उनीप्रतिको क्रेज नेपाली नागरिकले अझै बिर्सिसकेका छैनन् तर उनलाई अहिले खासै चर्चामा रहेको देखिँदैन । खासै चर्चामा नदेखिनुको कारण कतिपयले यो मानेका छन् कि उनी पार्टीको राजनीतिको घेरामा घेराबन्दी बन्दी भइन् र अहिले देशले राजनीतिको घेराबन्दीमा रहेका कमैलाई मन पराएका छन् र जो खास गरी राजनीतिमा रहेका तर घेराबन्दीमा नरहेका नवयुवालाई समाजले मन पराएको देखिएको छ । यसलाई यदि केही हदसम्म प्रवृत्तिलाई लिने हो भने एउटा झिल्को रौतहटमा पनि देखिएको छ । रौतहटको गरुडा नगरपालिकामा लोसपा नेपालको तर्फबाट भर्खरका नवयुवक मेयर पदका प्रत्याशी बनेर युवामाझ निकै लोकप्रियता हासिल गरेका छन् । जिल्लाका धेरै मानिसहरुले सामाजिक सञ्जालमा स्पष्ट शब्दमा लेखे पनि – काठमाडौँमा बालेन साह र गरुडामा दीपक यादवको राजनीतिमा हस्तक्षेप एक किसिमको विद्रोह हो । तर खासै चर्चामा नरहेको रामनगरका नवयुवकले पहिलो बाजी मारेर धेरैलाई आश्चर्यचकित तुल्याइदिएका छन् ।

बालेन साहले अस्वाभाविक चर्चा पाएको परम्परागत राजनीतिमा लागेकाहरुको बुझाइ छ । राजनीतिमा कुनै बेला छलाङ र फड्को शब्द धेरै प्रचलनमा थियो । पञ्चायी व्यवस्थाबाट हरेक व्यवस्थामा फड्को र छलाङ मार्दै आफ्नै वर्चस्व कायम गर्न खोज्नेहरुलाई बालेन साहको हस्तक्षेप कृत्रिम वा अस्वाभाविक लाग्नु अस्वाभाविक होइन किनभने बालेन साहसित परम्परागत राजनैतिक पृष्ठभूमिगत विरासत छैन, छ त युवकहरुको साथ र विश्वास । काठमाडौँमा लामो समय विश्वविद्यालयमा पढाएका डा. घनश्याम न्यौपाने परिश्रमी आफ्नो सामाजिक सञ्जालमा लेख्छन् – “काठमाडौँमा अघिल्लोपटक पनि साझा र विवेकशील नामका युवा नेतृत्वका दलप्रति मतदाताको आकर्षण थियो । उनीहरु मिलेर उठेको भए जित्थे । तर अब ती दुवै पार्टीले अस्तित्व गुमाए । फलतः बालेन्द्र साहप्रति मतदाताको आकर्षण देखियो । अब बालेन्द्रले नयाँ पार्टी खोलेमा केजरीवाल बन्ने बलियो सम्भावना देखियो ।” यसरी सामाजिक सञ्जालमा बालेन साहप्रति अनेक आशाका नजरहरु स्वाभाविक रुपले तानिएका छन् र धेरैले धेरै किसिमको अपेक्षा पनि राखेका छन् । नेपाली राजनीतिमा केही समयदेखि केजरीवालको खोजी भइरहेको सन्दर्भमा पेसाले इन्जिनियर र गायक पनि बालेन साहप्रति देखिएको आशाहरुप्रति यसरी एक जनाले समीक्षा गरेका छन् – “यति छिटो यति ठूलो अपेक्षा नराखौँ । बालेन्द्र एक्ले छन्, केजरीवालको पूरै टिम समर्पित थियो । उनले पार्टीमा प्रवेश गर्ने जुनसुकै व्यक्तिलाई पनि शर्त राखेका छन् कि यदि जनताबाट विरोध भयो या कुनै पनि अप्रिय कार्य गरेमा तत्काल प्रभावले पार्टीको साधारण सदस्यबाट पनि निष्काशित गरिनेछ । आम आदमी पार्टीले डा. कुमार विश्वास र योगेन्द्र यादवजस्ता व्यक्तिको परवाह गरेन ।

पहिलो चुनाव पूर्व केजरीवालले स्वयं आफ्नै हातले धेरै काम गरेका हुन् ।” आशा पनि निराशा देख्नु र निराशाबाट पनि आशा गर्नु दुई विपरीत ध्रुवका कुरा भए पनि दुवै स्वाभाविक हुन् । काठमाडौँको राजनीतिमा कहिल्यै नाम नसुनिएका बालेन साहको नाम आज सबैको मुखमा पुगिसकेको छ । बालेन साहले काठमाडौँमा हस्तक्षेप गरेका हुन् वा काठमाडौँको राजनीतिले उनको हस्तक्षेप खोजेको हो ? यो अनुसन्धानको विषय हुन सक्छ तर बालेन साहलाई अहिले काठमाडौँले एउटा प्रभावशाली व्यक्तिको रुपमा उभ्याएको छ । स्थानीय सरकारको प्रत्यक्ष चुनाव भइरहेको समयमा बालेन साह मिडियामा एकछत्र आइरहेका छन् । यसरी आउनु धेरै किसिमले सकारात्मक छ । अहिले हाम्रो देशले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अंगीकार गरेको छ । र, बालेन साहको जित हुनु वा हार हुनु एउटा पक्ष हुन्छ । यद्यपि जितमा भने लोकतन्त्रमा परिपक्वता आएको मानिनेछ तर पनि अहिलेकै आधारमा भन्ने हो भने बालेन साहलाई सबै पक्षले आफ्नो मानेको पाइएको छ । यसको अन्तर्यमा यो देख्न सकिन्छ कि बालेन साह एक मधेसी हुन् र मधेसी भएकै कारणले उनको प्रतिभालाई अहिले रोकिनु परेको देखिएको छैन । यदि देशमा लोकतान्त्रिक गणतन्त्रातमक संघीयता भएको समावेशी युग नभएको भए सम्भवतः बालेन साहलाई स्वीकार गरेको कुरो धेरै महान वा दुर्लभ घटना हुन सक्थ्यो तर अब बालेन साहको हार्दिक स्वीकारोक्तिमा उपत्यकाले यस्तो छलाङ मारेको आफ्नो परिपक्वता देखाएको छ कि अब लोकतन्त्र जाति, धर्म, समुदाय, सम्प्रदाय र दलभन्दा पनि माथि उठेको छ ।

दलभन्दा माथि उठ्दा बहुदलीय स्वतन्त्रतामाथि अलिकति पनि हस्तक्षेप गरेको छैन किनभने बालेन साहमै धेरैले केजरीवालको स्वरुप देख्न थालेका छन् र अब आम आदमी पार्टीजस्तो पार्टी खोल्नुपर्ने सपना देख्न थालेका छन् । बालेन साह अब व्यक्ति होइन, प्रवृत्तिको रुपमा देशमा विकास हुने आशा धेरैले गरेका छन् जुन वास्तवमा वर्तमान चुनावको, स्थानीय लोकतन्त्रको र समावेशी लोकतन्त्रको सुन्दर अनुहार हो । विस्तारै हाम्रो लोकतन्त्र जनस्तरमा बलियो हुँदै गएको प्रमाण हो । नवयुवकले यही लोकतन्त्रमा आफूलाई कसरी भूमिकायुक्त बनाउन सकिन्छ भन्ने बाटो खोज्न वा आफ्नै बाटो निर्माण गरेर यही लोकतन्त्रलाई बलियो बनाउने दिशामा हिँडिसकेको बलियो उदाहरण हो ।

Comment


Related News

Latest News

Trending News