मलंगवा । मतपत्र गायब गरेर माओवादी केन्द्रका उम्मेदवारलाई विजयी भएको नतिजा सार्वजनिक गरेको विरोधमा सर्लाहीको लालबन्दी नगरपालिका स्थित मतगणना स्थलमा प्रदर्शन भएको छ ।
लालबन्दी नगरपालिका –८ को ११ वटा मतपत्र गायब गरेर नतिजा सार्वजनिक गरिएको भन्दै विरोध गरिएको हो । वडा न–८ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शुक्र लामालाई निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले विजयी भएको नतिजा सार्वजनिक गरेको थियो । माओवादीका लामाले ४ सय ६० मत , एमालेका उम्मेदवारले ४ सय ४४ मत, नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ३१ मत र अन्य उम्मेदवारले १० भन्दा कम मत पाएको परिणाम सार्वजनिक भएको थियो । जम्मा १ हजार ४ सय २७ मत खसेकोमा उम्मेदवारले प्राप्त गरेको पुरै मत मध्येबाट ११ वटा मत नपुगेको नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार संजीब श्रेष्ठले जानकारी दिए । सार्वजनिक मत परिणामलाई स्विकार्न नसकिने र अब पुनः मतदान गर्नुपर्ने उम्मेदवार हरुले बताएका छन् । लालबन्दीको पुरानो नगरपालिका कार्यालयको भवनमा राखिएको मतगणना स्थलमा अत्यन्त सीमित व्यक्तिहरु बाहेकलाई प्रवेश निषेध गरिएको छ । पत्रकारहरुलाई समेत मोबाइल, क्यामरा बाहिर गेटमै राखेर प्रवेश गर्न दिइएको छ । कम्पाउण्ड भित्र प्रवेश गरेका पत्रकारहरुलाई बाहिर रहेको प्रतीक्षालयमा बसेर नतिजा कुर्नु परेको छ । गेटमा उभिएका सशस्त्र प्रहरीले समेत पत्रकारहरुसँग दुव्र्यवहार गर्दै आएका छन् ।
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=3s