२०७९ जेष्ठ ५, बिहीबार ०७:५३

स्थानीय तहको चुनावमा मधेश प्रदेशमा ठूला नेताहरुले वडासमेत जोगाउन सकेनन् ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो गृहनगर नगराइनको वडा नम्बर २ जोगाउन सकेनन् । निधिको वडामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का बुलन यादव विजयी भएका छन् ।तर जनकपुरधाम उपमहानगरपालिकामा उनले समर्थन गरेका मेयरका प्रत्याशी मनोज कुमार साह विजयोन्मुख छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका लागि पनि जगरनाथपुरको चुनाव पीडादायी भएको छ । उनकी पत्नी जुलेखा खातुन उपाध्यक्षमा पछाडि परेकी छन् । खातुनको जित्ने संभावना निकै कमजोर भइसकेको स्थानीयहरुले जनाए ।

सप्तरी जिल्लाको भारदह कंकालनी नगरपालिकामा मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिसोर साहका पुत्र निवर्तमान मेयर शैलेस कुमार साह पराजित भएका छन् । सामाजिक विकास मन्त्रालयले नगर क्षेत्रको विकासका लागि भारी लगानीसमेत गरेका थिए । निवर्तमान मेयर साहलाई जनमत पार्टीका वीरेन्द्र माझीले पराजित गरेका छन् । तर उपमेयरमा भने जनता समाजवादी पार्टी(जसपा)की उम्मेदवार नै विजयी भएकी छन् ।

लोसपाका मधेश प्रदेश अध्यक्ष समेत रहेका पूर्व मन्त्री जितेन्द्र सोनारको पैतृक गाउँ परवानीपुर गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका वडाअध्यक्ष जितेका छन् ।गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि एमालेले नै जितेको छ ।

मधेश प्रदेश सभाका सभामुख सरोजकुमार यादवको पैतृक नगरपालिका सिम्रौनगढको वडा नम्बर ३ मा नेपाली कांग्रेसले जितेको छ ।सभामुख यादवको घर त्यही वडामा रहेको छ ।

त्यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको पैतृक गाउँ लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ३ मा जसपाका हिरा यादव वडाअध्यक्षमा जितेका छन् ।तर गाउँपालिकामा कांग्रेसका अध्यक्ष भोगेन्द्र मिश्र समेत उपाध्यक्ष र एउटा वडा जितेको छ ।

यसैगरी नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव धनगढी नगरपालिकाको मेयरमा पराजित भएका छन् ।उनलाइ नेकपा एमालेका उम्मेदवारले हराएका छन् । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार मतगणनामा पछाडि परेका छन् ।धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको निवर्तमान मेयर समेत रहेका साहलाई एमालेका उम्मेदवार सुकदेव यादवले झण्डै २ सय ५० मतले पछाडि पारेका छन् ।तर मंगलवार देखि मतगणना रोकिएको छ ।

बारा जिल्लाको कलैया उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसका सभापति राजेशकुमार राय यादव ५ हजार मतले पछाडि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवारले अन्तरलाई फराकिलो बनाउँदै लगेका छन् । यादव पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुन् । उनी कलैया उपमहानगरपालिकाको निवर्तमान मेयरसमेत रहेका छन् ।

प्रदेश १ को एकमात्र विराटनगर महानगरपालिकाको उपमेयरमा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादव पछाडि परेका छन् । उनलाई नेकपा एमालेकी उम्मेदवार शिल्पाले ५ हजार बढी मतले पछाडि पारेकी छन् । यादव पाँच दलीय गठबन्धनका उम्मेदवार रहे पनि पछि परेका छन् ।तर मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।

नेकपा एमालेका सचिव रघुवीर महासेठको गृहनगर मिथिलाबिहारीमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । महासेठको वडामा कांग्रेसले झण्डा फहराएपछि महासेठले कर्मचारीहरुले शान्तिपूर्ण धाँधली गरेको आरोप समेत लगाएका छन् । धनुषामा एमालेले विगतमा जितेको मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, मुखियापट्टी मुसरनिया गाउँपालिकामा यस पटक पराजित भएको छ ।

मिथिलाबिहारीको मतगणना जारी रहेको छ । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको गृह गाउँपालिका मुखियापट्टी मुसहनियामा जसपाका जयकुमार यादव निर्वाचित भएका छन् । मन्त्री यादवले कडा मिहिनेत गरे पनि आफ्नै भतिजा रामबाबु यादवलाई जिताउन असफल भए । जसपाका धनुषा जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकामा पराजित भएका छन् ।उनलाई नेपाली कांग्रेसका नेता विशेश्वर यादवले पराजित गरेका छन् । त्यसैगरी पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा मुख्यमन्त्री राउतका स्वकिय सचिव समेत रहेका जसपाका युवा नेता दीपक यादव पराजित भएका छन् । त्याहाँ कांग्रेसका दिनेश चौधरीले पराजित गरेका छन् ।यादव भने चौथों स्थानमा रहेका छन् ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News