जनकपुरधाम । धनुषा जिल्लाको १८ वटा पालिका मध्ये १० वटा पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । नतिजा अनुसार अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
अहिलेसम्म लक्ष्मीनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका र धनुषाधाम नगरपालिकाको परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक गरिएको मतपरिणाम अनुसार पाँच वटा पालिकामा नेपाली कांग्रेस, तीनवटामा जनता समाजवादी पार्टी नेपाल र दुई वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन् भने कांग्रेसकी फूलकुमारी यादवनी उपाध्यक्षमा विजयी भएको जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।
त्यसैगरी औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै पुनम साह विजयी भएकी छन् ।
धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा राजकुमार साह र उपाध्यक्षमा रामबति देवी मण्डल निर्वाचित भएकी छन् ।
जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छन् ।
त्यस्तै, विदेह नगरपालिकाको नगरप्रमुखमा बेचन दास तत्मा निर्वाचित भएका छन् । उपमेयरमा नेकपा एमालेकी आशा झा निर्वाचित भएकी छन् ।
धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा बालेश्वर मण्डल र उपमेयरमा विद्या देवी भुजेल निर्वाचित भएकी छन् ।
त्यसैगरी कमला नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विशेश्वर यादव र उपमेयरमा शीला देवी मण्डल निर्वाचित भएकी छन् । यादवले जसपाका पशुपति यादवलाई एक हजार २८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । उनले तीन हजार ८ सय ८७ मत प्राप्त गरेका छन् भने पशुपतिले दुई हजार ८ सय ५९ मत मात्र प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा मण्डलले तीन हजार ८ सय ८७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी पुनिता कुमारीले दुई हजार ७ सय ६६ मत मात्र ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
धनुषाको सहिदनगर नगरपालिकामा मेयर जनता समाजवादी पार्टी र उपमेयर नेपाली काँग्रेसले जितेको छ । जसपाका दिनेश प्रसाद यादव मेयर पदमा विजयी भएका छन् । उनले १ हजार ६ सय ३८ मतको अन्तरले काँग्रेस उम्मेदवार सुधीर कुमार गोइतलाई पराजित गरेका छन् । यादवले ५ हजार ७ सय ४३ मत ल्याइ विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका गोइतले ४ हजार १ सय ५ मत मात्र ल्याउन सके । तेश्रो नम्बरमा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान कान्छो मेयर बरबरिया ४ हजार ७७ मतमा सीमित भए । यस्तै उपमेयरमा काँग्रेसकी सुनिता कुमारी सिंह ४ हजार ९३१ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी जसपाकी लक्ष्मीनिया कुमारी मण्डल ४ हजार ७ सय ९१ मत ल्याएकी छन् भने तेश्रोमा माओवादी केन्द्रकी रेखाकुमारी मण्डल ४ हजार २१५ मतमा सीमित भइन ।
त्यस्तै मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जयकुमार यादव अध्यक्ष पदमा र सैदा खातुन उपाध्यक्षमा निर्वाचित भएकी छन् । बटेश्वर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा रामअशीष महतो र उपाध्यक्षमा फुलकुमारी सिंह निर्वाचित भएकी छन् ।
please subscribe our official youtube channel below and support us.

