२०७९ जेष्ठ ६, शुक्रबार १३:३५

सिरहाको औरही गाउँपालिकामा मतगणना सुरु गर्ने सहमति भएको छ । सर्वदलीय बैठकबाट सो सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी गराए । मतपेटिकाको सुरक्षण शील तोडिएको भेटिएपछि हिजोदेखि मतदान स्थगित भएको थियो ।

स्थानीय प्रशासन ऐन तथा निर्वाचन  कसुर तथा सजाय ऐन २०७३ अनुसार चुनाव गराउन निर्वाचन आयोगबाट निर्देशन आएको निर्वाचन अधिकृत पिताम्बर गौतमले बताए । आयोगले निर्वाचन अधिकृतको कार्यालय औरही गाउँपालिका र जिल्ला प्रशासन कार्यालय सिरहालाई दिएको निर्देशन अनुसार मतगणना कार्यमा अवरोध सृजना गर्न खोजेको खण्डमा जो कोहीलाई स्थानीय प्रशासन ऐन तथा निर्वाचन  कसुर तथा सजाय ऐन २०७३ अनुसार सख्त कारवाही गर्ने भनिएको छ ।

आवश्यक सुरक्षा व्यवस्था मिलाई मतगणना प्रकृया अगाडि बढाएर निर्वाचनको परिणाम घोषणा गर्न आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेसलगायतका दलले सुरक्षण शील कसरी भाँचियो त्यसको अनुसन्धान गर्नका लागि सीसी क्यामराको फोटो तथा भिडियो हेर्न माग गरेका थिए । सो माग अनुसार सीसी क्यामराको फोटो तथा भिडियो हेर्न दिने तर मतगणना नरोकिने निर्वाचन अधिकृत गौतमले बताए । तर माओवादी केन्द्र र काँग्रेसका प्रतिनिधिले सीसी क्यामराको भिडियो र फोटो हेरेपछि मात्र मतगणना गर्नुपर्ने अडानमा छन् । उनीहरूले निर्णयमा हस्ताक्षर समेत गरेका छैनन् । तैपनि निर्वाचन अधिकृतले मतगणना कार्य सुरु गरेका छन् ।

औरही गाउँपालिकाको ५, ४, ३ र २ वडाको मतगणना भइसकेको छ । चारवटा वडामध्ये ४ नम्बर वडा माओवादी केन्द्रले जितेको छ भने तीनवटा वडा जसपाले जितेको छ । हालसम्म अध्यक्ष र उपाध्यक्षमा जसपाले अग्रता लिएको छ ।

Comment

Related News

Latest News

Trending News