अपडेट 
२०७९ जेष्ठ ७, शनिबार ०७:५२

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम ढिलो भएपनि अब भटाभट आउँदै छ । मुलुकको पहिलो पार्टी बनेको दम्भमा नेपाली कांग्रेस उफ्रिदैछ । काठमाण्डौ हारोस, जनकपुर हारोस् । भरतपुरमा हंसिया हथौडामा मतदान गर्न परोस् । डैम केयर – गठबन्धन सरकार रहनु पर्दछ । पार्टी विभाजनको वावजूदपनि दोश्रो दल बन्न पाएको खुसीमा नेकपा एमाले मख्ख छ – जति जाल झेल गरेपनि दोश्रो हुनबाट कसैले रोक्न सकेन । दोश्रो भएको खुसीमा प्रतिनिधिसभाको अवरोधपनि खोलिई सकेको छ ।

अर्कोतिर कांग्रेस, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको बुई चढेर तेश्रो स्थान प्राप्त गरेको नेकपा माओवादी केन्द्रको त खुसीको ठेगानै छैन । छोरी हार्दा लोकतन्त्र धरापमा पर्ने चेतानवी दिएका प्रचण्ड गदगद छन् । कपालमा जेल दल्दै ओलीतिर औला तेर्साएर भन्दैछन् – तू डाल डाल तो मै पात पात । आफैले बनाएको घरमा आगो लगाएर नयाँ घर निर्माण गर्ने अभियानमा निस्केका एकिकृत समाजवादी पार्टी का अध्यक्ष माधव नेपाल गोहीको आँसु बगाउँदै छन् – कांग्रेस र माओवादीले धोका दियो भन्दै गठबन्धनको पुर्नमूल्यांकन गर्ने चेतावनी दिदै छन् । तर २०७४ को स्थानीय तह निर्वाचन र यसपछि भएको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा शानदार प्रदर्शन गरेको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी मौन छन् । न हा“स्न सकेका छन् न त रुन सकेका छन् । ती दलका शिर्ष नेताजीहरु के सोच्दा हुन ? थाहा भएन । जनताले मधेसवादी भने पनि आफूलाई मधेसवादी भनाउन इन्कार गर्ने , आफ्नो पार्टीको नामसमेतबाट मधेस शब्द झिकिदिने यी दुई दलका शिर्षनेताहरु अ–आफ्ना सखा–सन्तान,सर–कुटुम्ब,नाता– गोताका उम्मेदवारहरु जिते–जितेनन् ?

यसकै समीक्षामा तल्लीन देखिन्छन् । जीत–हारको समीक्षा किन गर्नु पर्यो ? अर्को निर्वाचनको मुखमा क्रान्तिकारी नारा दिएर आन्दोलनको माहौल सृजना गर्ने, शहादतलाई सिढी बनाउने , भोला भाला मधेसी जनताको भोंट सोहोर्ने अनि पुन : प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जित्ने योजनामा छन कि ? राजनितिमा वंशवाद,नातावाद,कृपावाद र पैसावालहरुको हालमुहाली नयाँ होईन । मुलुकका सबभन्दा जेठा नेपाली कांग्रेसबाट सुरु भएको यो प्रवृति नेकपा एमाले, माओवादी हुंदै अब मधेसवादी दलमा पनि भित्रिन थालेको छ । नेताका छोरा छोरी राजनीतिमा आउनु हुन्न भन्ने छैन । राजनीतिमा रुचि भएका , आन्दोलनमा सकृयता देखाएका, नेतृत्व क्षमता भएका नेताका छोरा छोरी राजनीतिमा आउनु स्वाभाविक हो । नेपाल भारतमा यस्ता सफल उदाहरणहरुपनि छन् । तर नेताकै सन्तान भएको,भाई–भतिजा भएको, सम्धी–सम्धिनी भएकै कारणले राजनीतिमा आउनु भने उचित होइन । यस प्रवृतिको मधुरो विरोध भने हुदै पनि आएको छ । तर २०७९ को स्थानीय तह निर्वाचनबाट प्राप्त मतादेशले नेताहरुमा व्याप्त वंशवाद विरुद्ध दरिलो प्रहार गरेको छ । मतादेशले के पनि संकेत गरेको छ भन्ने आफूलाई शिर्ष भनाउ“दा नेताहरु आफ्नै वार्ड र पालिकामा अलोकप्रिय छन् । आफ्नो वार्डसमेतलाई नेतृत्व गर्न नसक्ने नेता देशको नेतृत्व कसरी गर्न सक्लान् ? निर्वाचनको परिणाम सार्वजनिक भई रहदा समाचारपत्रहरुमा प्रकाशित हुने समाचार शिर्षकहरुमाथि ध्यानाकर्षण गरौं – ‘ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले मतदान गर्नु भएको डडेलधुराको वार्डमा कांग्रेस पार्टीको हार भयो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नु भएको वार्डमा एमाले नराम्ररी हारे । कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले मतदान गर्नुभएको नगराईनमा कांग्रेसको हार भयो । मुख्यमन्त्री लालबाबू राउतकी श्रीमति पालिकाको प्रमुख पदमा नराम्ररी हार्नु भयो । उनका दुई स्वकीय सचिवमध्ये पशुपति यादव कमला नगरपालिकाको प्रमुखपदमा हार्नु भयो भन्ने अर्का स्वकीय सचिव दीपक यादव आफ्नो गृहनगर पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको प्रमुखमा जमानत समेत जोगाउन सकेनन् । मधेस सरकारमा सामाजिक विकास मन्त्री नवलकिशोर साह र पूर्वमन्त्री नागेन्द्र राय यादवका छोरा मेयर पदमा पराजित भए । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ट नेता राजेन्द्र महतोका दाजु गापाको प्रमुख पदमा हार्नु भयो । जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा बिराटनगर उपमहानगर पालिकाको उपमेयरको मतगणनामा निकै पछाडि छन् । गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी धर्मपत्नी सिर्जना सिंह काठमाण्डौ महानगरपालिकाको निर्वाचनमा तेश्रो नम्बरमा छन् । प्रचण्डकी छोरी जेनतेन प्रकारेण भरतपुर महानगर पालिकामा बढत बनाएकी छन् । ’ विभिन्न समाचार माध्यमहरुमा प्रकाशित यी समाचारहरु ठिक हुन । यसमा दुईमत हुदै सक्दैनन् । तर यी समाचारहरुले गुंढ रहस्य उद्घाटन गरेको छ । दलहरुले यी संकेतहरु गंभीरतापूर्वक मनन गर्नु पर्दछ । छलफल र वहस चलाउनु पर्दछ । कारण आम मतदाता जान्न चाहेका छन् – के यी नेताहरुकै सखा–सन्तान प्रमुखका उम्मेदवार हुन लायक छन ?

नेताजीहरु आफ्नै वडामा यतिविधि अलोकप्रिय किन भए ? काठमाण्डौ महानगर पालिका, जनकपुरधाम उपमहानगर पालिका, बर्दीवास नगरपालिका लगायतका महत्वपूर्ण पालिकाहरुमा स्वतन्त्र उम्मेदवारहरु किन अघि बढदैछन् ? राजनीतिक दल र यिनका नेताजीहरु अलोकप्रिय भएकै हुन ?’ यदि मतदाताको मन मुटुमा यी र यस्ता सवाल छन भन्ने राजनीतिक दल र शिर्षनेताजीहरु गंभीर छलफलमा जुट्नु होस् । टिकट खरीद बिक्री बन्द गर्नुहोस् । वंशवाद रोक्नु होस् । अन्यथा तपाईहरुले गर्नुभएको गलतीको भारी मुलुकको व्यवस्थाले बोक्नु पर्दछ । कल्पना गरौं – नराम्ररी हारेकी मुख्यमन्त्रीजीको श्रीमतिलाई के आधारमा टिकट दिइएको होला ? जमानत समेत जोगाउन नसकेका मुख्यमन्त्रीका स्वकीय सचिवले कुन आधारमा पाटीको टिकट पाएका होलान ? अन्तमा यतिमात्र भनौं – नेताजीहरु हो । पटक पटकको आन्दोलन र आम नागरिकको सहादतबाट मुलुक संघीय गणतान्त्रिक स्वरुप ग्रहण गरेको छ । बहुलवाद र आवधिक निर्वाचन सुनिश्चित भएको छ । यस उपलब्धिलाई वंशवादको छायामा धुमिल नपारि दिनोस् । मतादेशको भावार्थ बुभिदिनुस । अन्यथा इतिहासले माफ दिने छैन ।

Comment


Related News

Latest News

Trending News