बारा जिल्लाको १६ वटा स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
मुख्य निर्वाचन अधिकृत समेत रहेका जिल्ला न्यायाधीश खिलनाथ रेग्मीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका छन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रेग्मीले निर्वाचित जनप्रतिनिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गरे । उनले निर्वाचनमा मत विभाजन भए पनि निर्वाचित जनप्रतिनिधि विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताए । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र सरकारका जनप्रतिनिधि हिड्नु पर्ने बताए । पाँच वर्ष कार्यकाललाई उत्कृष्ट बनाउन सबै लग्नु पर्नेमा जोड दिदै उनले स्थानीय तहको दोस्रो निर्वाचन भएका कारण गाउंपालिका तथा नगरपालिकामा धेरै ऐन नियम र कार्यविधि निर्माण भएको बताए । शपथ लिएका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने रेग्मीले बताए । स्थानीय तह निर्वाचन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हालेका हुन् ।