जनकपुरधाम ।स्थानीय तहको निर्वाचनमा मधेश प्रदेश कांग्रेसमय बनेको छ ।अनपेक्षित सफलता हात पारेको कांग्रेस मधेश प्रदेशमा सर्वाधिक स्थान जितेर पहिलो दल बनेको छ । तर चुनाव लडेका कांग्रेसका सबै जिल्ला सभापतिहरु भने पराजित भएका छन् ।
कांग्रेसका सभापतिहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले नै पराजित गरेका हुन् । सत्तारुढ गठबन्धनबाट कलैया उपमहानगरपालिकामा मेयरका उम्मेदवार बनेका निवर्तमान मेयर राजेश कुमार राय यादव पराजित भएका छन् ।उनलाई नेकपा एमालेका विनोद साहले पराजित गरेका छन् ।साहले २४ हजार १ सय ७४ मत पाउँदा निकट्तम् प्रतिद्वन्दी रहेका यादवले १८ हजार ५ सय ४० मत प्राप्त गरे ।उनी निवर्तमान मेयर पनि हुन् । जिल्ला सभापतिहरुलाई पालिकाको चुनावमा नलड्ने प्रदेश समितिले आन्तरिक रुपमा सुझाव दिए पनि तीन जिल्ला सभापतिले त्यस विपरीत टिकट पाएर उम्मेदवार भएका थिए ।
बारा जिल्लाको ४ वटा पालिकामा नेपाली कांग्रेसले सफलता प्राप्त गरेको छ ।तर दुई उपमहानगरपालिका रहेको बारामा गठबन्धनको समर्थन प्राप्त गरे पनि भारी मतान्तरले सभापति यादव पराजित भएका छन् । त्यसैगरी धनुषा जिल्लाको १० वटा पालिकामा कांग्रेसले सफलता प्राप्त गरेको छ ।गत चुनावमा एमाले, माओवादी, जनता समाजवादी पार्टीले चुनाव जितेका पालिकामा कांग्रेसले झण्डा फहराएको छ ।तर जिल्ला सभापति योगेन्द्र पजियार क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका छन् । कांग्रेसको क्षेत्रीय समितिले सिफारिस नगरेपनि जिल्लाबाट सिफारिस गरी प्रदेशबाट टिकट लिन सफल भएका पजियारले चुनावमा एमालेका नवप्रवेशी नेता सुखदेव यादवबाट पराजित भएका छन् । क्षीरेश्वरनाथ नपामा उपमेयरको भन्दा बढी मतले मेयर पजियार पराजित भएका हुन् । गत निर्वाचनमा तत्कालीन जसपाका नेता यादवलाई पजियारले मेयरमा पराजित गरेका थिए । चुनाव भन्दा दुई महिना पूर्व एमाले प्रवेश गरेका यादवले पजियारलाई पराजित गर्न सफल भएका छन् ।
मिथिला नगरपालिका, मिथिला बिहारी नगरपालिका , बटेश्वर गाउँपालिका, हँसपुर नगरपालिका, गणेशमानचारनाथ नगरपालिकामा जितेको कांग्रेसले ,धनौजी गाउँपालिका, नगराइन नगरपालिका, धनुषाधाम नगरपालिकालाई पनि जोगाउन सफल भएको छ । गत चुनावमा भारी सफलता हासिल गरेको क्षीरेश्वरनाथ नगरपालिकामा सभापति पजियार पराजित भएका छन् ।
त्यसैगरी सिरहा जिल्लाका कांग्रेस सभापति रामचन्द्र यादव धनगढी नगरपालिकामा एमालेका उम्मेदवारबाट पराजित भएका छन् । नेकपा एमालेका उम्मेदवार शिवशंकर महतोले कांग्रेस सभापतिलाई १ सय ५५ मतको झिनो अन्तरले पराजित गरेका छन् । महतोले ७ हजार ५६ मत प्राप्त गरे ।उनका निकटतम् प्रतिद्वन्दी यादवले ६ हजार ९ सय १ मत प्राप्त गरे । जिल्ला सभापतिको निर्वाचनमा विवादमा परेका यादवलाई पार्टीबाट नै असहयोग भएको उनका सहयोगीहरुले आरोप लगाएका छन् । सभापति यादव पराजित भए पनि सिरहा जिल्लामा कांग्रेसले लहान नगरपालिका समेत दुई पालिकामा जित हासिल गरेको छ । कांग्रेसले लहान नगरपालिकामा भएको जितलाई ठूलो उपलब्धि मानेको छ ।सिरहामा सबै भन्दा बढी पालिकामा नेकपा एमालेले जित हात पारेको छ ।मधेश प्रदेशमा एमालेका लागि सिरहा सफल भएको छ । कांग्रेसबाट टिकट नपाएर विद्रोह गरेका जनकपुरधाम उपमहानगरपालिकद्दामा मनोज कुमार साह मेयरको जित नजिक पुगेका छन् ।
महोत्तरीको बर्दिबासमा कांग्रेसका विद्रोहीले चुनाव जितेका छन् । अन्य दलका जिल्ला सभापतिहरु पनि पालिका चुनावमा पराजित भएका छन् ।धनुषामा नेकपा एमालेका अध्यक्ष राजकिसोर यादव दोस्रो पटक पनि सबैला नगरपालिकाको मेयरमा पराजित भएका छन् ।जनता समाजवादी पार्टी( जसपा)का जिल्ला सभापति पशुपति यादव पनि दोस्रो पटक कमला नगरपालिकाको मेयरमा पराजित भएका छन् । त्यसैगरी माओवादी केन्द्र धनुषाका सभापति दीपक यादव पनि दोस्रो पटक धनुषाधाम नगरपालिकाको मेयरमा पराजित भएका छन् । जिल्ला सभापतिहरु नै चुनावमा होमिएको कारण पालिकाको निर्वाचनमा अपेक्षित सफलता प्राप्त हुन नसकेको सबै दलमा आरोप लागेको छ । पालिकाको चुनावमा मधेश प्रदेशमा जसपा र लोसपालाई ठूलो धक्का लागेको छ ।
please subscribe our official youtube channel below and support us