२०७९ जेष्ठ १०, मंगलवार ०७:३८

जनकपुरधाम ।नेपाली कांग्रेसका विद्रोही मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा विजयी भएका छन् ।

निर्वाचन आयोगले सोमवार दिउँसो घोषणा गरेको परिणाम अनुसार साहले १३ हजार ४ सय ६५ मत प्राप्त गरेका हुन् । साहका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ ले ९ हजार ५ सय ३२ मत प्राप्त गरे ।३ हजार ९ सय ३३ मतको फराकिलो अन्तरले विजयी भएका साहलाई नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए । उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन् । गत चुनावमा कांग्रेसको टिकटबाट चुनाव लडेका साह तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)का उम्मेदवार लालकिशोर साहसित झण्डै १२ हजार मतको फराकिलो अन्तरले पराजित भएका थिए । स्वतन्त्र भएर चुनाव लड्दा साहले सफलता हासिल गरेका छन् । मेयरमा निर्वाचित साहले गत चुनावको भन्दा २ हजार ३ सय १ मत बढी ल्याएका हुन् । उनका प्रतिद्वन्दी रहेका एमालेका हिरा साहले ९ हजार ५ सय ३२ मत प्राप्त गरेका छन् ।

पार्टी विभाजित भएको अवस्थामा एमालेले प्राप्त गरेको मत गत चुनावको भन्दा ४ हजार ८ सय ६५ मत बढी रहेको छ ।गत चुनावमा एमाले एक ढिक्का रहेको थियो ।उक्त चुनावमा एमालेका मेयरका प्रत्याशी लक्ष्मीनारायण भगतले ४ हजार ६ सय ६७ मत प्राप्त गरेका थिए । गत चुनावमा १२ हजार बढी मतान्तरले मेयरमा निर्वाचित भएका लालकिशोर साह चौथो स्थानमा झरेका छन् ।उनले ५ हजार १ सय ९४ मत प्राप्त गरे । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) बाट मेयरका प्रत्याशी मनोज कुमार चौधरीले ५ हजार ३ सय ६० मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् । गत चुनावमा चौधरी निवर्तमान मेयरका प्रमुख सहयोगी थिए । निवर्तमान मेयर साह सत्तारुढ पाँच दलीय गठबन्धनको जसपाबाट मेयरका उम्मेदवार थिए ।तर उनले गठबन्धनका ठूला दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको मत तान्न सफल हुन सकेनन् ।कांग्रेसद्वारा प्रचार सामग्रीमा मेयरको छाप खाली राखेर उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुको रुख छापमा मतदान गर्न आव्हान गरिएको थियो ।कांग्रेसले अन्य पदमा रुख छापमा मतदान गरे पनि मेयरमा गठबन्धनको विरुद्धका उम्मेदवार मनोज साहको घण्टाघर छापमा मतदान गरे । जनकपुरधामका मारवाडी समुदायले मतदानको परम्परागत शैलीमा परिवर्तन गर्दै एमालेको पक्षमा मतदान गरेको देखिन्छ । यद्यपि मारवाडी समुदायको मत विभाजित भएको थियो । नेकपा एस र माओवादी केन्द्रका मतदाताहरुलाई पनि मतदान गर्न बाध्य बनाइएको थिएन् । उनीहरुले पनि विवेक प्रयोग गरे ।

गठबन्धनबाट मेयरका उम्मेदवार साहले जेनतेन जमानत जोगाए पनि उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह विजयी भएका छन् । उनले सर्वाधिक १५ हजार ५ सय २५ मत ल्याइ विजयी भएका छन् ।साह दोस्रो पटक जनकपुरधामको उपमेयर बनेका छन् । उपमेयरमा निर्वाचित साहले मेयरको भन्दा २ हजार ६० बढी मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी रुना झाले १० हजार ८ सय ८५ मत प्राप्त गरेकी छन् ।झाले पनि एमालेका मेयर प्रत्याशी हिरा साहको भन्दा १ हजार ३ सय ५३ बढी मत प्राप्त गरेकी छन् ।झा उम्मेदवारी दर्ता कै दिन नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी थिईन् । उनको नाम उपमेयरका लागि नेकांबाट प्राथमिकतामा सिफारिस भए पनि टिकट नदिए लगतै एमालेमा प्रवेश गरी उपमेयरमा लडेकी थिईन् । लोसपाबाट उपमेयरमा उम्मेदवार बनेकी निवर्तमान उपमेयर रिता झाले ५ हजार ८ सय १७ मत प्राप्त गरेकी छन् ।उनी तेस्रो स्थानमा रहेकी छन् ।झाले प्राप्त गरेकी मत सो पार्टीका मेयर उम्मेदवार चौधरीको भन्दा झण्डै ५ सय मत बढी छ । चुनावभरि अत्यन्त चर्चामा रहेका मेयरका स्वतन्त्र उम्मेदवार ठेकेदार बलराम महतोले ४ हजार २ सय ९० मत प्राप्त गरे । प्रचारप्रसारको क्रममा सर्वाधिक खर्च गरी जुटाएको भीडलाई मतमा रुपान्तरण गर्न असफल भए ।उनीसँगै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका निर्मल कुमार चौधरीले ३ हजार ७ सय ७२ मत प्राप्त गरे ।

त्यसैगरी वडा नम्बर १ मा नेपाली कांग्रेसका दिपनारायण यादव(देबु)१ हजार १ सय ४३, वडा नम्बर २ मा कांग्रेसकै शिवकुमार साह (शिुव)६ सय ११,वडा नम्बर ३ मा तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)का दिपेन्द्र कुमार साह २सय ६९, वडा नम्बर ४ मा कांग्रेसका सुरेश झाले ८ सय ३३ मत, वडा नम्बर ५ मा एमालेका बेचन साह(बाबा)२सय ९० मत, वडा नम्बर ६ मा कांग्रेसका दिनेश साहले ३ सय ३०, वडा नम्बर ७ मा कांग्रेसका निरजकुमार साहले १ हजार ६२, वडा नम्बर ८ मा एमालेका दिनेश सिंहले ९ सय ७, वडा नम्बर ९ मा कांग्रेसका परमेश्वर साहले ३ सय ५६ र वडा नम्बर १० मा स्वतन्त्र मिथिलेश कर्णले २ सय ८८ मत ल्याई निर्वाचित भएका छन् । वडा नम्बर ११ मा कांग्रेसका अर्जुन कुमार चौधरीले ४ सय २७ मत, वडा नम्बर १२ मा एमालेका महेन्द्र साहले ५ सय ३५, वडा नम्बर ८ मा कांग्रेसका जीतबहादुर राउतले ८सय७८ , वडा नम्बर १४ मा जसपाका पुण्यप्रताप यादवले ४सय १०, वडा नम्बर १५ मा लोसपाका सन्तोष कुमार साहले ४सय २९, वडा नम्बर १६ मा कांग्रेसका रामचन्द्र पजियारले १ हजार ८ सय ९ ,वडा नम्बर १७ मा माओवादी केन्द्रका रामवृक्ष यादवले १ हजार ५२, वडा नम्बर १८ मा एमालेका लक्ष्मेश्वर मण्डल ८ सय ६५, वडा नम्बर १९ मा एमालेका विनोद कुमार साह १हजार ७८, वडा नम्बर २० मा एमालेका मोती राइन कवारी ६सय ७९, वडा नम्बर २१ मा कांग्रेसका राजनारायण साह १ हजार ८ सय ४, वडा नम्बर २२ मा लोसपाका विमलेश मिश्र २ सय ४५, वडा नम्बर २३ मा स्वतन्त्र राघवेन्द्र् साह ८ सय ४१, वडा नम्बर २४ मा एमालेका उपेन्द्र सहनीले १ हजार १ सय ४४ र वडा नम्बर २५ मा कांग्रेसका चन्देश्वर साहले ७ सय ६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

Comment


Related News

Latest News

Trending News