निर्वाचनको बेला उम्मेदवारहरुको प्रचार पोस्टर वा लगाइने नारामा तपाँईले कहिल्यै ध्यान दिनु भएको छ ? उम्मेदवारहरुको प्रशंसामा भनिएको हुन्छ : ईमान्दार, संघर्षशील, त्यागी, कर्मठ, समाजसेवी, लोकप्रिय, आदिआदि । निर्वाचनका बेला उम्मेदवारहरु पनि भनेको जस्तै नम्र भएर हात जोडेर मिठो बोल्दै जनतालाई रिझाइरहेका हुन्छन् । हुन पनि लोकतन्त्रमा निर्वाचन भनेको जनता र देशको हितको निम्ती जनताका प्रतिनिधिहरुको छनौट नै भनिन्छ । यस पटकको स्थानिय निर्वाचनमा ७५३ पालिकामा ३५ हजार २ सय २१ वटा पदको निम्ती १ लाख ५० हजार भन्दा बढीले उम्मेदवार दिएका थिए । प्रष्ट छ यसमध्ये सफल हुने ३५ हजार २२१ जना नै हुन् । यस अतिरिक्तका १ लाख १५ हजार जतिजो निर्वाचन जित्न असफल हुन्छन्, उनिहरुले के गर्छन् त यिनीहरु र यिनका पक्षमा उभिएका ठुला बडा, मान्य जन, भलादमी र बौद्धिकहरुले प्रचारको क्रममा भनेको र विश्वास दिलाएको आधारमा विचारगर्दा जित्न नसके पनि यिनीहरु पनि जनताको सेवामा सक्रिय रहनु पर्ने हो । कुनैपनि देशको निम्तीलाखौँको संख्यामा राजनीति र विकासको निम्ती स्वयंसेवकहरु हुनू हितकर हो । तर के यस्तो हुनेछ त ?
निर्वाचन प्रणालीको मर्मको दृष्टिले निर्वाचनमा विजयी हुनेहरु सत्ताको अङ्ग बनेर राजकीय कार्य, जन कल्याण तथा विकास निर्माणका कामलाई आधिकारिक रुपमा सम्पन्न गर्ने दायित्व ग्रहण गर्छन् । तर जो पराजित हुन्छन्, उनिहरु विजयी प्रतिस्पर्धीका निम्ती प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने हो । उनिहरुले नजिते पनि जनताले उनको निम्ती मत त हालेका हुन्छन् । यस्तोमा उनलाई मत दिने मतदाताको हितको निम्ती सक्रिय हुनू, सत्ताले गरेका जनहित विरोधी कार्यहरुको विरुद्ध खडा हुनु, संघर्ष गर्नु तथा जनताको पक्षमा दबाब सृजना गर्नु उनिहरुको नैतिक दायित्व हुन जान्छ । आखिर उनिहरुले जनता सामू आफू सँधै जनताको पक्षमा खडा हुने प्रतिबद्धता गरको कारण नै भोट पाएका हुन् । यस दृष्टिले हेर्दा एउटा सामूहिक मोर्चा निर्माण गर्न सके भने विजयी प्रतिनिधि भन्दा पराजित उम्मेदवारको मोर्चा नै बलियो हुनेछ ।
यस पटकको स्थानिय निर्वाचनको जेठ ९ गते मध्यान्ह सम्मको परिणामलाई विचार गर्दा उमेरको दृष्टिले सफल हुनेमा ३० देखी ५० वर्षको उमेर समूहका ५० प्रतिशत भन्दा बढी छन् । अझ २१ देखी ४० वर्षको उमेर समूहको १५ हजार अर्थात कुलपदको ४३ प्रतिशतको हाराहारी हुन्छ । देखिएको प्रवृत्ति हेर्दा निर्वाचनको अन्तिम परिणाम पनि यसैको सेरोफेरोमा रहने देखिन्छ । यस्को तात्पर्य स्थानिय निर्वाचनमा यस पटक पद सम्हाल्नेहरुमा युवाहरु बढी छन् । तर के यी युवा प्रतिनिधिहरु युवा सोँचका छन् ? के यिनीहरुले वर्तमान सत्ताको कार्य प्रणालीमा व्याप्त पुरातन चिन्तन र शैली भन्दा भिन्न, उनिहरुले भने जस्तै ईमान्दारी पूर्वक, भ्रष्टाचार मुक्त र जनपक्षीय कार्य गर्न सक्छन् ? राजनैतिक पार्टी होस वा स्वतन्त्र, निर्वाचनमा जुनखाले उम्मेदवारहरु देखिए, ती उम्मेदवारहरुले निर्वाचन जित्न जसरी निर्वाचन आचार संहिता मिचेर खुले आम करोडौँ खर्च गरे तथा साम, दाम, दण्ड र भेदको प्रयोग गरे र मतदातालाई जसरी पनि लोभ्याउने प्रयत्न गरे, त्यसले माथीको प्रश्नहरु प्रति कुनै सकारात्मक उत्तरको अपेक्षा गर्न सकिँदैन । निश्चय नै जस्ले निर्वाचन जित्न लगानी गर्छ, जितेपछि उसले सबैभन्दा पहिले लगानी उठाउँछ नै । यस पटकका विजेताहरुले पनि यस भन्दा भिन्न हुने सम्भावना नगण्य छ । दुईचार अपवादमा हुन सक्छन्, तर त्यो पर्याप्त छैन ।
यस्तोमा पराजित उम्मेदवारहरुले मोर्चा बन्दी गरेर विजयी जन प्रतिनिधिहरुको निम्ती निगरानी र दबाब समूहको कार्य गर्नु पर्ने देखिन्छ । आफूले जनतासंग गरेका वाचाहरुलाई सम्झेर पराजित उम्मेदवारहरुले सामुदायिक प्रतिपक्षको रुपमा विजयी उम्मेदवार विरुद्ध सामूहिक मोर्चा बन्दीगर्न सके भने यो सकारात्मक हुन्छ । तर यो सम्भावना पनि थोरै छ । किनभने निर्वाचन जित पनि वा हारे पनि राजनीतिक र सामाजिक कार्य कर्ताहरु जनताको निम्ती सँधै समर्पित हुन्छन् वाहुनू पर्छ भन्ने दृष्टिकोणबाट निर्वाचनबारे बहस नै हुँदैन । वस्तुतः निर्वाचन जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि चयन गर्ने प्रणाली भन्दा पनि जनप्रतिनिधिको नाममा आर्थिक उपार्जन गर्ने अवसरको रुपमा बढी बुझिन्छ । मेयर, उपमेयर र अध्यक्ष बाहेकको पदमा स्थानिय निर्वाचनमा पदमा प्रतिस्पर्धा गर्नु तुलनात्मक रुपमा थोरै सरल जस्तै मानिन्छ । सानो गाउँपालिका र वडा भित्रै प्रयत्न गरे जित्न सकिन्छ । त्यसैले अन्य क्षेत्रमा केही नगर्न नसक्नेहरु स्थानिय निर्वाचनलाई पनि आर्थिक उपार्जनको दृष्टिले क्यारियर बनाउने अवसरको रुपमा पनि प्रयोग गर्छन् । पर्याप्त रोजगारीको अभाव भएको कारण यस पटकको निर्वाचनमा अधिकांश युवाहरु देखिनुको एउटा कारण यो पनि हुन सक्छ । यस्तोमा कमाउने उद्देश्यले ‘एक पटक चुनाव लडौँ न त, भयो भने ठिकै भो, होइन भने देखा जाएगा’ दृष्टिले पनि निर्वाचनमा भाग लिनेहरु पनि हुन्छन् । पेशेवर रुपमा निर्वाचनलाई आर्थिक लगानी बनाउने धनिक वर्ग र चुनावी राजनीतिक पार्टीहरु छँदैछन् । यस्तोमा हामीले भोगीरहेको निर्वाचन प्रणालीमा पराजित उम्मेदवारहरुले पराजित भएर पनि जन हितको निगरानी गरिरहने तथा गलत भयो भने त्यसको विरुद्ध आवाज उठाउने, संघर्ष गर्ने सोँच विकसित हुने सम्भावना साह्रै कमजोर हुन्छ । त्यसैले प्रायः के देखिन्छ भने स्थानिय निर्वाचनको बेला राजनीतिक पार्टीका अतिरिक्त समाजका अन्य आयामहरु समेतका मानिसहरु ‘एक पटक हेरौँ न त !’ भन्ने भावमा निर्वाचनमा भाग लिन्छन् ।
जित्नेले पद सम्हाल्छ र हार्नेहरु आ–आफ्ना दुनियाँमा फर्किन्छन् ।अर्को पटक निर्वाचन हुँदा पुराना मध्येका केही विगतको लगानी उठाउन फेरी चुनाव लड्छन्, केही आफ्नै दुःख धन्दामा नै व्यस्त रहन्छन् । तपाँईले भन्नु होला, यी मध्ये कयौँ त राजनीतिक पार्टीका कार्यकर्ताहरु पनि हुन्छन् ? हुन्छन्, तर संसदिय राजनीतिमा भएका पार्टीहरु पनि निर्वाचनकै बेला जाग्ने पार्टीहरु त हुन् ! पार्टीहरुलाई अर्थ राजनीतिक दृष्टिले हेर्ने हो भने यी पार्टीहरु पनि अचेल जनहित भन्दा बढी आर्थिक उपार्जन गर्ने राजनीतिक औजार जस्ता भएका छन् । त्यसै कारण आर्थिक उपार्जन गर्ने अवसर भएको ठाउँमा नेता देखी कार्यकर्ताहरुको भीड लाग्छ र आर्थिक अवसर नभएका शुद्ध सामाजिक तथा राजनीतिक कार्यक्रमहरु आकर्षण विहीनहुने गर्छन् । यस समग्र परिप्रेक्ष्यमा हेर्दा पराजित उम्मेदवारले पराजित भएपछि जनताको पक्षमा सक्रिय रह्नु पर्छ भन्ने बहस नै उठेको छैन । हुन त वर्तमान सत्ता प्रणालीबाट जनताले सकारात्मक अपेक्षा गर्नु गाह्रो छ । तर पनि जनता प्रति आफूलाई समर्पित र इमान्दार निर्दोष युवाहरुको एउटा समूहजो लह लहैमा वा ‘केही गर्न सकिन्छ कि’ भन्ने सोँच बाट यस निर्वाचनमा भागलिएको छ, उनिहरुले यस कोणबाट सोँचे भने राम्रै हुनेछ । ती पराजित उम्मेदवारहरुले सामूहिक मोर्चा बन्दी गरेर विजयी जनप्रतिनिधिको निगरानी गर्नु पर्छ, र जनताको तर्फबाट अनौपचारिक प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नु पर्छ । जनताका यी अनौपचारिक प्रतिपक्षले इमान्दारी पूर्वक यस्तो गर्नु गाह्रो छ । उनले यसो गरेमा अनेकौँ जोखिम मोल्नु पर्ने हुन्छ । उनिहरुले स्थानिय स्तरमा फैलिएको बहुआयामिक भ्रष्टतन्त्रसंग जुध्नुपर्ने हुन्छ । किनभने वर्तमान राजनीतिक ढाँचामा माथी देखी तलसम्म भ्रष्टाचारको जालो जग जाहेर नै छ । तर जनताप्रति थोरै पनि दायित्व बोध गर्ने हो भने पराजित उम्मेदवारहरुको यो नैतिक दायित्व हो ।
पराजित उम्मेदवारहरुमा थोरै राजनीतिक चेतना छ, भनेपनि यो उनिहरुको निम्ती जनताको बीचमा आफूलाई साबित गर्ने अवसर पनि हुन्छ । निर्वाचनबारे यस कोणबाट सोँच्न थालियो र अग्रसरता भयो भने अहिले गैर जिम्मेवार र असामाजिक हुँदै गएको राजनीतिलाई थोरै भएपनि जिम्मेवार र समाज उन्मुख बनाउन सकिन्छ । निर्वाचन र राजनीतिबारे यस कोणबाट बहस चलाउन सकिन्छ भन्ने अपेक्षा के वर्तमान राजनीतिक पार्टीहरु तथा नागरिक समाजबाट गर्न सकिन्छ ? र यस्तो सम्भव छैन भने यस समग्र प्रणालीको जिम्मेवार विकल्प खोज्ने हो कि? यस देश र समाजबारे तपाँई–हाम्रो पनि त केही दायित्व छ !