प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा सहभागी भएर चैते धानखेती गरेका ठोरीका किसानको धानमा दाना नलाग्दा मर्कामा परेका छन् ।
५० प्रतिशत अनुदानमा बीउ सुविधा र अन्य यान्त्रिकीकरणको सुविधा प्राप्त गरेर धानखेती गरेका ठोरी–३ का अधिकांश किसानको खेतमा बाला पसाए पनि दाना लागेको छ । धान जोन अन्तर्गत करिब १ सय १० बिघा र अन्य किसानले व्यक्तिगत रूपमा रोपेको धानमा बाला लागे पनि सुक्न थालेपछि किसान चिन्तित भएका छन् । धान जोन कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध भएको हर्दिनाथ–१ प्रजातिको धान लगाएका किसानको खेतमा नै बाला सुक्न थालेपछि लगानी र मेहनत दुवै खेर जान लागेको ठोरी–३ का नवनिर्वाचित अध्यक्ष शम्भु खड्काले बताए । ठोरी–३ मा सिंचाइको उपलब्धता र धानखेती धेरै हुने भएकोले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान जोन कार्यक्रम लागू छ । यस्तै, धान जोनमा सहभागी नभएका अन्य किसानहरूले समेत धानखेती गर्ने गरेका छन् । ठोरी–३ मा मात्र यस वर्ष करिब तीन सय बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको चैते धानमा दाना नलागेको स्थानीय अगुवा ठाकुरप्रसाद न्यौपानेले जानकारी दिए । बितेको चैतको पहिलो सातातिर धान रोपेको र विरुवा फस्टाएर बाला झुलेको भएपनि धानमा दाना नलाग्ने समस्या भेटिएको ठोरी गापाको कृषि शाखा प्रमुख चन्दन थारूले जानकारी दिए । उनले किसानले धानमा दाना नलागेको गुनासो गरेपछि फिल्डमा गएर हेर्दा धानबालीमा दाना नलागेको देखिएको बताए । यसको कारणबारे अध्ययन गर्न आएको कृषि ज्ञान केन्द्र, वीरगंजको टोलीले समेत कुनै निष्कर्ष निकाल्न सकेन ।
कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख मुनीलाल प्रसादले माटोमा बोरन तŒवको कमीका कारण दाना नलागेको हुन सक्ने बताए पनि ठोस कारण भन्न सकेनन् । बरु विभागीय प्राविधिकहरू बोलाएर अनुसन्धान गर्न पहल गर्ने किसानहरूलाई जवाफ दिएर उनको टोली फर्कियो । केन्द्रका बागवानी अधिकृत श्यामकिशोर यादवसमेत सहभागी टोलीले राहत र कारणको खोजी गरिरहेका स्थानीय किसानलाई थप अनुसन्धान गर्ने र क्षतिपूर्तिका लागि स्थानीय सरकारसँग पहल गर्न भनेको स्थानीय किसानले बताए । ठोरी–३ बुद्धनगरका ५५ वर्षीय चित्रबहादुर खड्काले करीब एक बिघामा चैते धान लगाएका छन् । बीउबिजन, खनजोत, मलखाद गरेर अहिलेसम्म करिब २५ हजार रुपैयाँभन्दा धेरै खर्च गरिसकेका खड्काको खेतमा धानको बाला रहर लाग्ने गरी झुलेको त छ तर दाना लागेको छैन, खोस्टो मात्र छ । उनले अब कतैबाट पनि क्षतिपूर्ति नपाउने भए ट्याक्टर लगाएर धान खेत नै जोत्ने बताए । यस्तै, सोही वडाको रामनगरका करीब ६० वर्षीय कर्णबहादुर पुलामीको डेढ बिघा खेतमा पनि उस्तै समस्या छ । बाला सुक्न लागेको भए पनि खेतमा पानी लगाउँदै गरेका उनलाई पनि करीब ३० हजार रुपैयाँभन्दा धेरै खर्च भएकोले तनाव थपिएको छ । बुद्धनगरका मुकुन्द ढुङ्गेललाई घरमा भएको धान पनि सकिएको र खेतमा पनि नफलेपछि अब धान किन्न नसकिएला भन्ने चिन्ताले पिरोलेको दुःखेसो पोखे । उनको पनि खेतमा धानको बाला लागे पनि दाना लाग्नु अगाडि नै बाला सुक्न थालेको छ । तुलनात्मक रूपमा अन्य वडामा भन्दा सबैभन्दा धेरै चैते धानखेती हुने ठोरी–३ मा धानमा समस्या देखिएपछि किसानहरूको खेती गर्ने जाँगर नै मरेको छ । आफूले थाहा पाएसम्म आजभन्दा अगाडि यस्तो समस्या कहिले पनि थाहा नपाएको बुद्धनगरका एकजना ७५ वर्षीय ज्येष्ठ नागरिकले सुनाए । आफूहरूलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने किसानहरूको मांग छ ।