जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २० रुपैठा स्थित विद्यालय भवन निर्माणको लागि दिइएको बजेटले सार्वजनिक भवन बनाउन लागेको आरोप लागेको छ ।
राष्ट्रिय माध्यमिक विद्यालयमा मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले २० लाख बजेट कक्षाकोठा निर्माणका लागि उपलब्ध गराएको छ । तर, उपभोक्ता समितिले उक्त बजेटले विद्यालयको प्राङ्गनमै सार्वजनिक धर्मशाला बनाउन लागेको स्थानीय रामप्रवोध महतोले आरोप लगाएका छन् क्। स्थानीयले कामको विरोध गरी आइतबार कामसमेत अवरुद्ध गरेका थिए । उनका अनुसार विद्यालयमा प्रधानाध्यापकसमेतको मिलोमतोमा काम भइरहेको छ । ११ फिट चौडाई ४० फिट लम्बाई भएको धर्मशाला कोठा निर्माण भइरहेको छ । स्थानीयले विद्यालयमा कक्षा कोठा बन्नु पर्ने जोड दिएका छन् । यता उपभोक्ता समितिका छेदी राउतले विद्यालयकै प्रायोजनका लागि भवन बनाउन लागेको बताए । केही व्यक्तिले बिना कारण विरोध गरेको उनको भनाइ छ । विद्यालयमा गोष्ठी हल अभाव रहेको भन्दै त्यही बनाउन लागिएको उनले बताए । यद्यपि विद्यालयमा कक्षाकोठा अभाव रहेको उनले स्वीकार गरे । मन्त्रालयले आश्वासन दिएको छ । अभाव रहेको कक्षाकोठा बनाउने वाचा गरेको छ,’उनले भने,‘ अर्को बजेट आएपछि ६ वटा कक्षाकोठा बनाउनु पर्छ ।’

