जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख– उपप्रमुख पदमा उम्मेदवारी दिएका ५९ जनाको जमानत जफत भएको छ ।
कुल सदर मतको दश प्रतिशत मत ल्याउन नसक्ने ५९ जनाको जमानत जफत भएको हो । प्रमुख पदमा ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । चार जना बाहेक ३५ जनाको जमानत जफत भएको छ । प्रमुख पदमा उम्मेदवारी दिएका जनमत पार्टीकी अनिता देवी साह, तराई मधेश लोकतान्त्रिक पार्टी (तामलोपा)की विभा ठाकुर, स्वतन्त्र उम्मेदवार बलराम महतो, जानकी राम साहसहित ३९ जनाको जमानत जफत भएको छ । जमानत जफत हुने बढी स्वतन्त्र उमेदवार देखिएको छ । प्रमुख पदमा उम्मेदवारी दिएका तीन जनाले पराजय भए पनि जमानत जोगाएका छन् । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार लालकिशोर साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मनोज कुमार चौधरी र नेकपा एमालेका उम्मेदवार शिव शंकर साह (हिरा)को जमानत जोगिएको छ । यस्तै, उपप्रमुख पदमा २७ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये २४ जनाको जमानत जफत भएको छ । नेकपा एमालेकी उम्मेदवार रुना झा र लोसपाकी उम्मेदवार रिता कुमारी मिश्रको जमानत जोगिएको छ । बाँकी २४ जनाको जमानत जफत भएको छ ।
जनकपुरधाममा ८६ हजार ७ सय ६९ मतदाता छन् । जसमध्ये ५९ हजार ९ सय ४९ मतदान भएको थियो । मतदान भएको मध्ये प्रमुख पदमा १२ हजार २ सय ७४ मत बदर भएको छ । जनकपुरधाममा विभिन्न १ सय २७ पदको लागि एक हजार ३९ जनाले उम्मेदवारी दिएका थिए । वडाध्यक्ष पदमा विभिन्न दल र स्वतन्त्र गरी ३ सय ४, महिला सदस्यमा १ सय ६९, दलित महिला सदस्यमा १ सय ४० र सदस्यमा १ सय ३६ र प्रमुख उपप्रमुख गरी एक हजार ३९ जनाको उम्मेदवारी परेको थियो । प्रमुख पदमा १५ सय, वडाध्यक्ष पदको एक हजार र सदस्यमा पाँच सय उम्मेदवारी शुल्क निर्वाचन कार्यालयले निर्धारण गरेका थिए । जफत भएको रकम निर्वाचन कार्यालयको राजस्व कोषमा जम्मा हुनेछ । परिणाम घोषणा भएको ९० दिनभित्र जमानत जोगिएका उम्मेदवारले फिर्ता पाउने व्यवस्था छ । ३० दिनभित्र प्रत्येक उम्मेदवारले खर्च विवरण पनि पेश गर्नुपर्ने समय तोकिएको छ । उपमहानगरको प्रमुख–उपप्रमुख पदका उम्मेदवारले पाँच लाख ५० हजार र वडाध्यक्षका उम्मेदवारले दुई लाख ५० हजार खर्च गर्न पाउने छन् ।
यस्तै, नगरपालिका प्रमुख–उपप्रमुखले ४ लाख ५० हजार, वडाध्यक्षले दुई लाख र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार र वडाध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउने तोकिएको थियो ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=O9G8Yeo_V04