वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज (मुकुट) लगाइ सम्मान गरिएको छ ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको मुकुट लगाइ सिंहलाई सम्मान गरेका हुन् । मेयरमा राजेशमान निर्वाचित भएपछि सबै भन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका थिए । सिंहलाई सांसद यादवले चाँदीको ताज लगाइ सम्मान गरे । त्यसपछि उनी मतगणनास्थल वीरगञ्ज–१४ पिपरा नरसिंह मावि पुगेर प्रमाणपत्र लिएका थिए । सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार सिंहलाई मेयरमा जिताउन सांसद यादवले मुख्य भूमिका निर्वाह गरेका थिए । नरसिंह माविमा मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलेको हातबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसपछि सांसद यादवसहित आफना समर्थकका साथ सिंहले वीरगञ्जमा विजय जुलुस निकालेर नगर परिक्रममा गरेका थिए । एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई पराजित गर्दै सिंह ४६ हजार २ सय १५ मतका साथ मेयरमा निर्वाचित भएका हुन् ।