सप्तरी । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सप्तरीमा पाँच पालिका प्रमुख जित्दै नेपाली कांग्रेसले आफ्नो पूर्ववत अवस्था कायम राखेको छ । कूल १८ वटा स्थानीय तह रहेको सप्तरीमा कांग्रेसले सात उपप्रमुख र ४१ वडा अध्यक्षसमेत जितेको छ ।
विसं २०७४ को चुनावमा पनि कांग्रेसले पाँच प्रमुख र सात उपप्रमुखमा विजयी हासिल गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसअघि जित हासिल गरेको सुरुङ्गामा कांग्रेस प्रमुख र उपप्रमुखमा निर्वाचित हुन सके पनि शम्भुनाथ नगरपालिका तथा विष्णुपुर, राजगढ र अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा भने कांग्रेसले नेतृत्व दोहो¥याउन सकेन । तर नयाँ पालिकाको रूपमा सप्तकोसी र कञ्चनरूप नगरपालिका तथा तिलाठी कोईलाडी र तिरहुत गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर कांग्रेसले पहिलेको अवस्था कायम राखेको कांग्रेस सप्तरीका अध्यक्ष रामदेव साह बताउनुहुन्छ । यसअघि जितेको विष्णुपुर र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको अध्यक्ष गुमाएको कांग्रेसले उपाध्यक्ष भने जितेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरीमा जनता समाजवादी पार्टीलाई नराम्रो धक्का लागेको छ । जसपाले यसपटक दुई पालिका प्रमुख र एक गाउँपालिका अध्यक्षमा चित्त बुझाउनुपरेको छ । राजविराज र बोदे बर्साइन नगरपालिकाको प्रमुख, उपप्रमुख तथा विष्णुपुर गाउँपालिकाको अध्यक्ष जितेको जसपाले राजगढ गाउँपालिका तथा खडक र हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुख मात्र जितेको छ । वडामा भने सबैभन्दा बढी ४६ वडाध्यक्ष पदमा जसपा विजयी भएको छ ।
गत स्थानीय तह विसं २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमले सप्तरीको बोदे बर्साइन र खडग नगरपालिका तथा तिरहुत, महादेवा र बलान बिहुल गाउँपालिका जितेको थियो । यसमध्ये बोदे बर्साइनमा जसपाले जित कायम राखेको छ । गत निर्वाचनमा छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष जितेको तत्कालीन नयाँ शक्ति पार्टी जसपामै समायोजन भएको थियो । त्यो लोसपाले लगेको छ । तत्कालीन सङ्घीय समाजवादी फोरम र राजपा मिलेर बनेको जसपा केही वर्षमा फुटेर जसपा र लोसपामा विभाजन भएको थियो । जसपा र लोसपा बनेपछि फोरमबाट निर्वाचित पदाधिकारी जसपामै रहे । राजपाबाट निर्वाचित पाँच पालिका प्रमुखमध्ये रूपनी गाउँपालिका तथा राजविराज, डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख जसपामै बसे । राजपाबाट निर्वाचित चारपालिकामध्ये तिलाठी कोईलाडी गाउँपालिका अध्यक्षले मात्र लोसपा रोजे । यी सबै समायोजनका कारण निर्वाचन पूर्वसप्तरीमा १८ मध्ये जसपाको १० वटा स्थानीय तहमा नेतृत्व थियो । मनोनयनकै दिन राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादव माओवादी प्रवेश गरेर चुनाव लडे । तथापि जसपाले राजविराजमा जित हासिल गरेको छ र कांग्रेसबाट खोसेर विष्णुपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको छ । बोदे बर्साइन नगरपालिकामा पुरानो विरासत जोगाउन जसपा सफल भएको छ । त्यसबाहेक जसपाले अन्य पालिकाहरूको नेतृत्व गुमाएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरीको क्षेत्र नम्बर २ मा रहेको चार पालिकामध्ये जसपाले ३ वटामा हार बेहोरेको छ । महादेवा र छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपा तथा तिलाठी कोइलाडीको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । जिल्ला र प्रदेशस्तरमा नेताहरूले पार्टीकै उम्मेदवारको विरोध गरेर अन्तर्घात गरेकाले जसपाले धेरै सिट गुमाउनुपरेको बताउँदै जसपाका युवा नेता तारकेश्वर यादवले त्यस्ता व्यक्तिले तुरुन्तै राजिनामा दिनुपर्ने आक्रोश पोख्नुभयो । गत निर्वाचनमा सप्तकोसी र कञ्चनरूप नगरपालिकाको प्रमुखमा जितेको एमालेले यसपटक ती दुवै पालिका जोगाउन सकेन् । तथापि एमालेले यसअघि नजितेको ३ पालिकामा जित हासिल गरेको छ । एमालेले कांग्रेसबाट अग्नीसाइर कृष्णसवरन र राजगढ गाउँपालिकाको प्रमुख खोसेको छ भने जसपाबाट डाक्नेश्वरी नगरपालिकाको प्रमुख, उपप्रमुख पद खोसेको छ । जसपा र कांग्रेसपछि एमालेले आफ्ना २४ जनालाई वडा अध्यक्षमा निर्वाचित गर्न सफल भएको छ । जिल्लाको पाँच वटा पालिका जितेको तत्कालीन राजपा यसपटक ३ वटा गाउँपालिको अध्यक्षमा सिमित भएको छ । महादेवा, रूपनीमा अध्यक्ष, उपाध्यक्ष जितेको राजपाले छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ । पार्टी एकता र विभाजनपछि पाँचमध्ये चार वटा पालिका प्रमुख जसपातिर लागेपनि प्रमुख पदमा जसपा जत्तिकै जित हासिल गरेकोमा राजपा सप्तरीका अध्यक्ष सुनिल झा सन्तोष व्यक्त गर्छन् । लोसपाको नेतृत्वमा बाँकी रहेको तिलाठी कोईलाडी गाउँपालिका जोगाउन नसके पनि जिल्लाका तीन गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्ष जितेको छ । महादेवा र रूपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार जितेका छन् । लोसपाले जिल्लामा १२ वडा अध्यक्षमा मात्र जित्न सफल भएको छ ।
पहिलो पटक निर्वाचनमा भाग लिएको सिके राउत नेतृत्वको जनमत पार्टीले जिल्लाको बलान बिहुल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख जितेको छ । सिके राउतको गृहपालिका महादेवाको वडा २ जनमत पार्टीले जितेको छ भने गाउँपालिका बहुमतका साथ लोसपाले जितेको छ । जसपाले सुरक्षित पालिका मान्दै आएको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पद जनमत पार्टीले खोसेको छ । मधेस प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा निवर्तमान नगर प्रमुख शैलेशकुमार साहलाई पराजित गरी जनमतका बिरेन्द्र माझी निर्वाचित भएका छन् । यस्तै जसपाकै अध्यक्ष र उपाध्यक्ष रहेको बलानबिहुल गाउँपालिकामा एउटा वडा अध्यक्षमा जसपा समेटिएको छ । जसपाबाट अध्यक्ष र उपाध्यक्ष दुवै पद यसपटक जनमत पार्टीले खोसेको छ । जनमत पार्टीले जिल्लाका सात वटा वडाध्यक्षसमेत जितेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लामा एउटै पालिका प्रमुख र उपप्रमुख जित्न नसकेको नेकपा (माओवादी केन्द्र)ले यसपटक खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष जित्न सफल भएको छ । नेकपा (एकीकृत समाजवादी) सँगको गठबन्धनमा माओवादीले खडग नगरपालिकाको प्रमुख जितेको छ ।
गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) का उपप्रमुखका उम्मेदवारले भने खडक नगरपालिकामा प्रमुखभन्दा आधा मत मात्र पाएर तेस्रो स्थानमा सीमित भएका छन् । माओवादीले जिल्लाको २० वटा वडासमेत जितेको छ । एमालेबाट फुटेर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले शम्भुनाथ नगरपालिकाको नगरप्रमुख र उपप्रमुख जितेको छ । उसले शम्भुनाथ नगरपालिकामा पाँच, सुरुङ्गा नगरपालिकामा चार, खडक नगरपालिकामा दुई, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिकामा एक÷एक वडाध्यक्ष जितेको छ । राप्रपाले राजविराज नगरपालिकाको वडा नम्बर १३ मा त्रिलोकीनाथ चौधरीलाई वडाध्यक्षमा जिताउन सफल भएको छ ।रासस

