२०७९ जेष्ठ १२, बिहीबार ०७:०९

नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा बुधवार प्रदर्शन गरेको विजय जुलुसमा स्वतन्त्रबाट जनकपुरधाम उपमहानगरपालिकाको निर्वाचित मेयर मनोज कुमार साह सहभागी भएका छन् ।

नेकांबाट उपमेयर सहित १२ जना निर्वाचित भएका छन् ।पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसको कोटामा उपमेयर परेको थियो ।मेयर गठबन्धनका जनता समाजवादी पार्टी( जसपा)मा परेको थियो । प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्ता र मतदाताहरुलाई गठबन्धनका उम्मेदवार लालकिशोर साहको पक्षमा छाता छापमा मतदान गर्न आह्वान गरेका थिए । उपमहानगरमा कांग्रेस जित्ने अवस्था रहे पनि पार्टीलाई क्षति गर्न सभापति देउवाले अन्य दललाई मेयरको पद भागमा पारेको आरोप लगाउँदै कांग्रेस छाडेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज कुमार साह निर्वाचित भएका हुन् ।उनले सभापति देउवाको निर्देशनलाई अवज्ञागर्दै पार्टीमा विद्रोह गरे, र मेयरमा निर्वाचित भए । साहको निर्णयमा कांग्रेसका केन्द्रीय नेतादेखि स्थानीय नेताहरुको समर्थन थियो ।मेयर साहले पनि कांग्रेसकै मतबाट जितेको सगर्व बताउँछन् ।‘नेपाली कांग्रेसकै नेता, कार्यकर्ता, मतदाताहरुको सहयोगमा मेयरमा जितेको छु’ उनले भने, सबै वडाको मतपत्रमा मेयरमा घण्टाघर छाप र उपमेयर सहित अन्य ६ वटा रुख छापमा मतदान गरिएको हो । ‘मेरो जितको सम्पूर्ण श्रेय नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई छ ’ उनले भने, जुलुसमा कांग्रेसका वडाअध्यक्षहरुको आग्रहमा सहभागी भएको छु ।कांग्रेसका उपमेयर सहित बहुमत वडाअध्यक्षलाई लिएर नै अगाडि बढनु पर्ने भएकाले पनि उनीहरुसँगै जुलुसमा सहभागी भएको उनले बताए ।

गठबन्धनमा रहेका अन्य दलहरुले कांग्रेसका उपमेयरमा किशोरी साहलाई मतदान गरे पनि कांग्रेसीहरुले जसपाबाट मेयरका उम्मेदवार लालकिशोर साहको पक्षमा मतदान गरेको मतपत्र बिरलै देखिए । कांग्रेसले गरेको जुलुसमा प्रदेश सरकारमा गठबन्धनमा रहेका कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, धनुषा जिल्ला सभापति योगेन्द्र पजियार लगायतका नेता, कार्यकर्ताहरुको व्यापक सहभागिता थियो । नवनिर्वाचित मेयर साहले पनि राताम्य अनुहार सहित रुख छापको ब्यानर समातेर अग्र भागमा थिए ।उपमेयर किशोरी साह, निर्वाचित र पराजित कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवारहरु लगायतको सहभागिता जुलुसमा रहेको थियो । ‘उपमहानगरपालिकाको २५ वटै वडामा कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवारहरु नै सहयोगी रहेका थिए’ मेयर साहले भने, आगामी दिनमा पनि कांग्रेससित नै सहकार्य हुनेछ । उपमहानगरपालिकाका उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुको विहीबार शपथग्रहण कार्यक्रम राखिएको छ ।शपथग्रहण कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व केन्द्रीय उपसभापति विमलेन्द्र निधि प्रमुख अतिथि रहने छन् ।उपमहानगरको कार्यालय परिसरमा हुने सो कार्यक्रममा शपथग्रहण मेयरले नै गराउने छन् । गठबन्धनका उम्मेदवार विरुद्ध मेयरमा मनोज साहलाई जिताउन नेता निधिले सक्रिय भूमिका निर्वाह गरेका थिए ।उनले उपमेयर र वडाअध्यक्षका उम्मेदवार, वडाका पार्टी सभापति, जिल्लाका उपसभापतिहरुलाई समेत घण्टाघर छापमा मतदान गर्न निर्देशन दिएका थिए ।यद्यपि यसलाई सार्वजनिक रुपमा स्वीकार गरिएको छैन् ।तर कांग्रेसकै एउटा समूहले गठबन्धनका उम्मेदवारको विरुद्धमा मतदान गराएर कांग्रेसलाई नेता निधिले बदनाम गराएको आरोप लगाउँदै आएको छ ।

मेयर साह कांग्रेसको नगरसभापति थिए ।पार्टीको सधारण सदस्य समेत नरहनेगरी सभापतिबाट राजिनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।उनीसित सीमित पदाधिकारी र सदस्यहरुले पार्टी परित्यागको घोषणा गरे पनि अधिकांशले साहलाई साथ दिएनन् ।तर मतदानमा सबै साथ रहेको मेयर साहको दावी छ ।

मेयर साह आफै आएका हुन

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले मेयर मनोज कुमार साह स्वयं नै जुलुसमा सहभागी भएको दावी गरेका छन् ।

‘कांग्रेसका निर्वाचित उपमेयर, वडाअध्यक्ष र वडासदस्यहरु सहितको विजय जुलुस निकालिएको थियो’ उनले भने, त्यसमा मेयर पनि सहभागी भएपछि सहभागी नहुन भन्ने विषय नै भएन् । मेयर साहले नगर सभापतिबाट दिएको राजिनामा स्वीकृत भइनसकेको बताउँदै सभापति पजियारले भने, राजिनामा स्वीकृत गर्ने नगर्ने विषय केन्द्रको सल्लाहबाट टुंग्याइनेछ ।

 

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News

Latest News

Trending News