वीरगञ्ज महानगरपालिकाको मेयर र उपमेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएको खुसीयालीमा बिजयी जुलुस निकालिएको छ ।
पाँच दलीय गठबन्धनका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएपछि बुधबार वीरगञ्ज महानगरमा विजयी जुलुस निकालिएको हो । वीरगञ्ज महानगरको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् । सिंह र आलम विजयी भएको खुशीयाली मनाउन र वीरगञ्जवासीलाई धन्यवाद दिन पाँच दलीय गठबन्धनका नेताहरुको सहभागितामा बुधबार दिउँसो आदर्शनगर रंगशालाबाट संयुक्त विजयी र जुलुस निकालिएको थियो । संयुक्त विजयी जुलुसमा नवनिर्वाचित मेयर सिंह, उपमेयर आलम, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीका साथै जसपा, कांग्रेस, माओवादी र नेकपा एसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
आदर्शनगरबाट शुरु भएको गठबन्धनको विजयी जुलुस घडिअर्वा , घण्टाघर, मुर्ली चोक, पावरहाउस चोक, गण्डक चोक हुँदै परवानीपुर पुगेको थियो । त्यसपछि जुलुस परवानीपुरबाट जितपुर हुँदै वीरगञ्ज महानगरको टेढा, सोलाखपुर, मिलनचोक, कट्गेनवा, बेलवाचोकबाट लालपर्सा, जगरनाथपुर, भवानीपुर, मनियारी आएर त्यहाबाट प्रसौनिबिर्ता, सबैठ्वा, रामगढवा, सिर्सिया, खल्वाटोला, इनरवा पनि पुग्ने सचिव अहमदले बताए ।