
महोत्तरीको बर्दिबास नगरपालिकाका नव निर्वाचित नगर प्रमुख प्रलाह्द क्षेत्रीले पदभार ग्रहण गरेका छन् ।
विहीबार पदभार ग्रहण गर्दै तीन वटा महत्तवपूर्ण निर्णय गरेका छन् । पहिलो दिन उनले निःशुल्क स्वास्थ्य वीमा, प्रमुख चढ्ने सवारी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने र सुत्केरी भत्ता नगरको तर्फबाट दिइने निर्णय गरेका छन् । नगर बाहिरको स्वास्थ्य संस्थामा उपचार गराउन जानु परे निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताइएको छ । वडाबाट सिफारिस भएर आएको विपन्नलाई निः शुल्क स्वास्थ्य वीमा र नगर प्रमुख चढ्ने सवारी आवश्यकता परे एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णयमा उल्लेख गरिएको छ । साथै अव नगरकी गर्भवती महिलालाई २ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउने भएका छन् ।
नेपाल सरकारले दिँदै आइरहेको १ हजार यातायात खर्चमा पालिकाले थप एक हजार दिने निर्णय पनि गरेको छ । नगरभरिका गर्भवती महिलालाई नियमित स्वास्थ्य जाँच गरी आमा बच्चा दुबैको स्वास्थ्य सुरक्षामा प्रभावकारिता ल्याउने उद्देश्यले नगरले एक हजार रुपैयाँ थप गरिएको मेयर क्षेत्रीले जानकारी दिए । ‘यसभन्दा अगाडि रकमकै अभावमा सर्वसाधारणहरु प्रसूति सेवा घरमै गराउनुपर्ने बाध्यता रहेको थियो,’उनले भने,‘अब अस्पतालमा जानु परे नगरले निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउनेछ ।’