अपडेट 
२०७९ जेष्ठ १३, शुक्रबार ०६:३९

विदर्भनरेश भीष्मक का छोरी रूक्मिणी थिइन् । रूक्मिणीको दाइको नाम रूक्मि थियो । उनी गणको अंशबाट उत्पन्न भएका थिए । रूक्मिको शिक्षा–दिक्षा गन्धमादन निवासी किम्पुरूष द्रुमबाट भएको थियो । उनी चारै पादले युक्त सम्पूर्ण धनुर्वेदको शिक्षा प्राप्त गरेका थिए । द्वापरयुगमा पनि प्रेम विवाह, प्रबन्ध विवाह तथा विरताको आधारमा विवाह गर्ने चलन थियो । अहिले जस्तै समाजमा कसैको छोरी विवाह गर्ने उमेरमा आइ सकेपछि गाउँका सगी सम्बन्धितका साथै भरभलाद्मीसम्मले छोरीको विवाह बारे सल्लाह दिन्थे । आज जस्तै त्यस बेला पनि रूक्मिणी जवान भइ सकेपछि इष्टमित्र करकुटुम्ब तथा समाजका भरभलाद्मीले रूक्मिणीकी दाइ रूक्मिलाई विवाह गराउन सल्लाह दिए । खासगरी मगध देशका पराक्रमी राजा जरासन्धले रूक्मिणीको विवाह शिशुपालसँग गराइ दिन प्रस्ताव राखेका थिए । शिशुपाल चेदिराजवंशमा जन्मिएका थिए । उनी चेदी देशका राजा दमघोषका छोरा थिए । शिशु पालकी आमा सुप्रभा श्रीकृष्ण र बलरामकी फुपू थिइन् । रूक्मिणीको विवाह शिशुपालसँग हुने तयारी भयो । यी दुबै जनाको विवाहको व्यवस्था जरासन्धले मिलाएका थिए । रूक्मि अर्थात रूक्मिणीका दाइ पनि शिशुपालसँगै आफ्नी बहिनीको विवाह गराउन राजी थिए । तर रूक्मिणी श्रीकृष्णलाई मन पराउँथिन । उनले श्रीकृष्णलाई पतिका रूपमा स्वीकार गरिसकेकी थिइन् । सधैं कृष्ण कै आराधनामा लिन थिइन् । श्रीकृष्णले पनि उनलाई मन पराउँथे । रूक्मिणीलाई शिशुपालसँग मेरो विवाहको तयारी हुँदै छ भने कुरा जानकारीमा आएपछि रूक्मिणी छटपटिन थालिन् । श्रीकृष्णलाई रूक्मिणीको विवाह हुँदै छ भन्ने थाहा भयो । त्यसै बेला रूक्मिणीले श्रीकृष्णलाई एउटा प्रेमपत्र लेख्ने विचार गरिन् । प्रेमपत्र लिएर रूक्मिणीका अंगरक्षक श्रीकृष्ण कहाँ गए । पत्रद्वारा विस्तारमा रूक्मिणीको विवाह वारे थाहा पाउनु भयो । श्रीकृष्णले प्रतिउत्तरमा रूक्मिणीलाई जबाब पठाए र त्यस जबाबमा भोलि विहान अर्थात विवाहको एक दिन अगाबै पूजा गर्ने बहानाले मंदिर आउनु र तिमीलाई त्यहीबाट म द्वारिका ल्याइ हाल्छु । रूक्मिणी पनि श्रीकृष्णले भने अनुसार नै गरिन् । विवाह हुनु भन्दा एक दिन अगावै श्रीकृष्णले रूक्मिणीलाई हरण गरेर लग्दै गर्दा बाटोमा रुक्मि, शिशुपाल लगायतले घेराहाली उनीसँग युद्ध गर्न थाले । युद्धमा रूक्मि पक्षका सबै पराजित भए । रूक्मिणीका दाइ रूक्मिले के प्रण गरे भने म श्रीकृष्णसँग युद्ध गरेर रूक्मिणीलाई फिर्ता ल्याउन सकिन्न भने आफ्नो राजधानी फर्किन्न भनेर प्रतिज्ञा गरे । युद्धमा पराजित भएपछि उनी त्यही बसे र बडो मिहिनेत साथ त्यसैलाई नगरको रूपमा परिणत गरे ।

यसै कारणले श्रीकृष्ण र शिशुपालको बीचमा ठूलो तिक्तता बढेको थियो । प्रेमपत्र बारे गहिरो खोज गर्दा द्वापर युगमा रूक्मिणीले श्रीकृष्णलाई लेखेकी प्रेमपत्र नै सबै भन्दा पहिलो प्रेमपत्रको रूपमा लिन सकिन्छ । त्यसपछि धेरै प्रेमपत्रहरू भेटेका छन् । यस प्रेमपत्र बारे विभिन्न शास्त्रहरूमा उल्लेख छ । यो प्रेमपत्र समयमा नभेटेको भए रूक्मिणीको विवाह श्रीकृष्णसँग हुने थिएन होला । यसैले यस प्रेमपत्रको महत्व विश्व जगतका लागि एउटा ऐतिहासिक दस्ताबेज बनेको छ । यसलाई हामीले युगौं युगसम्म सुरक्षित राख्नु पर्दछ । अब पुनः रूक्मिणीको पारिवारिक जीवन तिर फर्केर हेरौं । श्रीकृष्णका आठ मुख्य रानी थिएः रूक्मिणी, सत्यभामा, जाम्बवती, सत्या, कालिन्दी, लक्ष्मणा, मित्रविन्दा र भद्रा । रूक्मिणीबाट दस छोरा जन्मिए ती छोराहरू प्रद्युम्न, चारूदेष्ण, सुदेष्ण, चारदेह, सुचारू, चारगुप्त, भद्रचारू, चारूचन्द्र, विचारू र चारू थिए । एक छोरी भइन–चारूमती । उनीहरू सबैका सबै एकसे एक सुन्दर थिए । मुख्य रानीहरूभन्दा अलग श्रीकृष्णका रोहणी आदि सोह्र हजार एक सय अन्य पत्नी थिए । ती रानीहरूबाट पनि दस–दस छोरा जन्मिए । श्रीकृष्णका छोराहरूका आमानै सोह्र हजार भन्दा धेरै थिए । त्यसैले छोराहरू लाखौं भए । सोह्र हजार राजकुमारीलाई श्रीकृष्णले एकै पटक विवाह गरेका थिए । भौमासुर नामक शक्तिशाली राजाले सोह्र हजार राजकुमारीलाई अपहरण गरेर कैद गरेका थिए । श्रीकृष्णले भौमासुरलाई मारेपछि ती राजकुमारी श्रीकृष्णलाई देखेर मोहित भए र सबैले कृष्णसँग विवाह गर्न पुगे । श्रीकृष्णसँग वैवाहिक समय विताउँदा सबै पत्नी खुशी देखिन्थे । अब शिशुपाल तिर लागौं । युधिष्ठिरको राजसूय यज्ञ पूरा हुनै लाग्दाको कुरा हो । यज्ञको अन्तिममा आचार्य, राजा, ऋत्विज आदिको पूजा गर्ने पालो आयो । यसमा युधिष्ठिरको पक्षबाट कृष्णको नाम लिइयो । शिशुपाल कडा प्रतिबादमा उत्रिए । श्रीकृष्णको पूजा गर्नु थियो भने आफूहरूलाई किन बोलायो ? श्रीकृष्णको पूजा भएपछि शिशुपाल झनै क्रोधले तल माथि गर्न थाले । सभामा उपस्थित सबैलाई गाली गलौज गर्न थाले । शिशुपालले श्रीकृष्णलाई युद्धका लागि ललकार लगाए । शिशुपालले श्रीकृष्णलाई चुनौती दिए पछि उनले गम्भीर हुँदै राजाहरूलाई सम्बोधन गरे । शिशुपालले गरेका अपराधलाई एक एक गरेर सुनाउन थाले । शिशुपालले विचैमा मने तेरो क्रोध या खुशीले मेरो कुनै हानी या लाभ हुने छैन । तिमीलाई जे मन लाग्छ गर ।

अति भएपछि श्रीकृष्णले सुदर्शन चक्रको स्मरण गरे । तुरून्तै उनको हातमा चक्र आइ पुग्यो । कृष्णले उच्च स्वरमा भने नरपतिहरू । मैले यसलाई अहिलेसम्म जति क्षमा दिनु पथ्र्यो, दिइसके । अब मेरा बचनानुसार सङ्ख्या पूरा भयो । अब म तपाईहरूकै सामुने यसलाई बध गर्दैछु । त्यसपछि श्रीकृष्णले तुरून्तै आफ्नो चक्रले शिशुपालको टाउको शरीरबाट छुट्याइ दिए । सबै राजामहाराजाहरू हेर्दै रहे । शिशुपाल पहाड झै ढले र मृत्यु वरण गरे । यस्तो अद्भूत घटना देखेर सबै नरपतिहरू आश्चर्य चकित भए । युधिष्ठिरले तत्कालै सबैका सामुन्ने शिशुपालका छोरा धृष्टकेतुलाई चेदिराज्यका राजा बनाइ राज्यभार सुम्पी हाले । यसरी शिशुपालको जीवन लीला समाप्त भयो । अहिले पनि के देखिन्छ भने विना प्रेमको विवाह इच्छा राख्दा शिशुपालकै दशा भएका सैकडौं उदाहरण भेट्छन् । विवाहको अवधारणातिर गाउँ र शहरका बातावरणमा भिन्तता देखिन्छ । गाउँमा अहिले पनि पूरानै परम्पराद्वारा विवाह गर्ने÷गराउने चलन छ भने शहरी क्षेत्रमा बढी जसो केटा–केटीहरू आफै रोजी रोजी विवाह गर्ने चलनमा बृद्धि भएको देखिन्छ । अहिले सरकारले पनि विवाहको उमेरमा बृद्धि गरि दिएको हुनाले यौन जीवनलाई प्राप्ति गर्न ब्याँज र गर्ल फ्रेण्डका कुरामा निकै बृद्धि भएको देखिन्छ । शहरीया केटा केटीहरू लगभग शतप्रतिशत यस्ता फ्रेण्डशीप कायम गरेका हुन्छन् । तर ग्रामीण क्षेत्र अहिले पनि यस्ता व्यवहारबाट परै देखिन्छ । गाउलेहरू प्रेमविवाह भन्दा अहिले पनि प्रबन्ध विवाहकै पक्षमा रहेका छन् । अहिले पनि अन्तर्जातीय विवाह गर्दा केटाकेटीका बुवा–आमा प्राण त्याग गरेका घटनाहरू भेटि रहेका छन् । हुनत सरकारको कानून अनुसार जातीय भेदभाव हटाउन अन्तर्जातीय विवाह गर्न उत्साहित गरि रहेको छ । यसबाट समाजमा जातीय भदेभावमा त केही कमी पक्कै आएको छ तर यसबाट सामाजिक संरचनामा बिचलन आएको देखिन्छ । अहिले समाजमा व्याप्त र छाडापनलाई हेर्दा भोलि के कस्ता विकृति ल्याउने हो भविष्यले नै बताउँला । कतिपय परिवार पश्चिमा परिवारको नक्कल गर्न थालेका छन् । आ–आफ्ना संस्कृति, धर्म, कर्म, रीतिरिवाज, रहन–सहन, आचार–विचार, लताकपडा, खानपान, बोलीबानी आदि कुरामा परिवर्तन गर्दैछन् । यसबाट हाम्रो परम्परा अनुसार चल्दै आएका व्यवहार हरूमा बदलाव देखिएका छन् । तर यस्ता व्यवहारले हाम्रो पूर्वीय संस्कारलाई ह्रास गर्दैछ र भोलि हामी अर्काको आश्रयमा बस्न बाध्य हुनेछौं । यसैले यस्ता कुरालाई अपनाउँदा हाम्रो पूर्वीय संस्कृतिलाई कसरी जोगाउन सकिन्छ त्यतातिर पनि विचार पु¥याउनु पर्ने देखिन्छ । नेपाल भारतमा जातीय र धार्मिक विविधता यति व्यांप्त छन् कि मान्छेलाई पग–पगमा संघर्षको सामना गर्नु पर्ने हुन्छ । प्राकृतिक नियम के छ भने मानिसहरू जुन बातावरण र संस्कृतिमा रहन्छन् त्यसलाई परिवर्तन गर्न खोज्छन् तर परिवर्तनका बेला जथाभावी लाग्दा जीवनमा निकै अप्ठ्याराहरू आउन सक्छन् तसर्थ सोच विचार गरेर गर्दा जीवनलाई शान्त र सुखमय बनाउन सकिन्छ । हुनत विगतको तुलनामा अहिलेको समाजलाई हेर्दा केही कुरामा तिब्र विकास गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरातिर जाँदा अहिले प्रत्येक गाउँसम्म पुगेका छन् । मान्छेको जीवनमा पहिले भन्दा अहिले निकै सुधार भएको देखिन्छ ।

यहाँका मानिसहरू विश्वका कुना–कुनासम्म पुगेका छन् । यी कुराहरू यसका सकारात्मक पक्ष रहेका छन् । यस्ता कुराहरूका साथै अध्यात्मिक विकासमा पनि जोड दिन विर्सनु हुँदैन । नैतिक चरित्र विकास गर्न अध्यात्मवादलाई समात्नै पर्दछ, होइन भने हाम्रो जीवन कहाँ जाला त्यसको सीमा हुँदैन । अध्यात्म हाम्रो जीवनलाई पगपगमा बाटो बताइ रहेको हुन्छ । मान्छेको जीवन सजिलै काट्न यसको मद्दत आवश्यक छ । श्रीकृष्णले हजारौं विवाह गरेका थिए तर पनि कृष्णको जीवन दागी भएन किनभने कृष्ण सबैसँग समान व्यवहार गरेका थिए । वहाँ एक सर्वशक्तिमान थिए । वहाँको उदाहरण दिएर अहिले पनि समाजमा बहु विवाहको वकालत गरेका छन् । त्यस बेला पृथ्वी संरचनाको कुरो थियो । त्यस बेला संतानको वारेमा के भनाइ थियो भने ‘धेरै सन्तान ईश्वरको वरदान’ तर अहिले त्यस्तो भनाइमा परिवर्तन आएको छ । अहिलेको भनाइ अनुसार ‘थोरै सन्तान ईश्वरको वरदान’ । त्यसैले अहिलेको सरकारले बहुविवाहलाई रोक्न ऐन नियम बनाएको छ भन्ने केटाकेटीको विवाह उमेरलाई बढाएको देखिन्छ । इतिश्री । लेखक त्रिविका सेवानिवृत सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News