राजविराज । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाका डोम समुदायकी एकल महिलालाई प्रमुख अतिथि बनाउदै नवनिर्वाचित जनप्रतिनिधिको फरक शैलीबाट विहीवार पदस्थापना गरिएको छ ।
छिन्नमस्ता–३ स्थित गोविन्दपुरकी डोम समुदायकी –५० वर्षीया एकल महिला राजोदेवी मरिकलाई प्रमुख अतिथि वनाई गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विद्यानन्द चौधरीले शपथ तथा पदभार ग्रहण गरेका छन् । प्रमुख अतिथि मरिकले दीप प्रज्वलन गर्दै समारोहको उदघाटन गरेकी थिइन् । डोम जातिलाई छुन नहुने मान्यतालाई चिर्दै उनीहरुलाई पनि सम्मान गर्ने तथा जातीय छुवाछुतलाई निरुत्साहित गर्ने उदेश्यले मरिकलाई प्रमुख अतिथि बनाइएको अध्यक्ष चौधरीले बताए ।
उनले प्रमुख अतिथि मरिकलाई आफ्नो छेऊ मै वसाउँदै दोसल्ला ओढाए्र सम्मान समेत गरेका थिए । कार्यक्रममा छिन्नमस्ता भगवती मन्दिरका महन्थ महाकान्त ठाकुर तथा इस्लाम धर्मका मौलाना लगायतका धर्मगुरुहरुले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताका लागि आशिर्वादसमेत दिएका थिए । पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष चौधरीले गाउँपालिका भित्रका सवै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट समेत पठनपाठनको व्यवस्था मिलाउने पहिलो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलीप यादवले जानकारी दिए ।

