बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम सम्बन्धि उच्च अदालत जनकपुरमा १४ वटा मुद्दा दर्ता भएको छ ।
शुक्रबार सम्म निर्वाचन बदर गर्न चार र पुनः मत गणना गर्न दश वटा मुद्दा दार्ता भएको छ । यी मुद्दाहरु धनुषा, महोत्तरी र सर्लाही जिल्लाको स्थानीय तहका मात्र छन् । अदालतका सूचना अधिकारी कुवेर घिमिरेका अनुसार सर्लाहीका पाँच वटा मुद्दा दर्ता भएको छ । सर्लाहीका धनकौल गाउँपालिकाको तीन वटा मतदान स्थलको निर्वाचन बदर गरी पुनः निर्वाचन गर्न माग दावी गरिएको छ । नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका फकिरा महतोले निर्वाचन बदर गर्न मुद्दा दिएका छन् । महतोले धनकौल–५, उनी निकट रामअधार राय यादवले वडा नम्बर २ र वडा नम्बर १ को निर्वाचन रामकिशोर ठाकुरले बदर गर्न मुद्दा दायर गरेका हुन् । यहाँको वडा नम्बर २ मा बुथ कब्जा गरी नेपाली कांग्रेसका उम्मेदवारले मतपत्र छापेको आरोप लागेको छ । वडाध्यक्ष पदमा १ हजार ४ सय १९ मत ल्याएर नेपाली कांग्रेसका रामबहादुर सहनी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी रामअधार राय यादवले मात्र ६ मत ल्याएका छन् । निर्वाचन अधिकृत र गणना अनुसार धनकौलको पालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह निर्वाचित भएका छन् । साहले महतोलाई एक हजार ९९ मतले पराजित गरेका छन् । साहले ४ हजार ४ सय ४४ मत ल्याए भने पराजित भएका महतोले ३ हजार ३ सय ७८ मत ल्याएका छन् । यस्तै, सर्लाहीकै हरिवन नगरपालिका ७ मा पुनः मतगणना गर्न माग गरिएको छ । नेकपा एमालेका उम्मेदवार निरधव्ज कार्की एक मतले निर्वाचित भएका छन् । एक मतले मात्रै पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार टीका जंङ्ग थापाले पुनः मतगणना गर्न माग गर्दै मुद्दा दार्ता गराएका छन् । मलंगवा नगरपालिका ११ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । पाँच मतले माओवादीका नन्दकिशोर राय निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवलाई पराजित गरेका छन् । पानो देवीले यस वडामा पुनः मतगणना गर्न माग गर्दै मुद्दा दिएकी छन् । महोत्तरीको पनि ६ वटा मुद्दा दार्ता भएको छ ।
बर्दिबास नगरपालिका ८ को निर्वाचन बदर गर्न मुद्दा परेको छ । यहाँ माओवादीका उम्मेदवार समशेर सिहं निर्वाचित भएका छन् । एक मतले पराजित भएका एमाले उम्मेदवार रुद्र बहादुर किंगारिंग मगरले निर्वाचन बदरको माग गरेका छन् । उनले यही जेठ ९ गते अदालतमा मुद्दा दर्ता गराएका थिए । बर्दिबास १४ मा पनि पुनः मतगणनाको माग गरिएको छ । यहाँ स्वतन्त्र उमेदवार विजय कुमार महतो एक मतले निर्वाचित भएका छन् । एक मतले कांग्रेसका उम्मेदवार भरत बहादुर हमाल पराजित भएका छन् । यस्तै, महोत्तरीकै भंगहा ७ मा पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ एक मतले नेपाली कांग्रेसका उम्मेदवार नरेश साह सुनार निर्वाचित भएका छन् । एक मतले पराजित माओवादीका उम्मेदवार राजेन्द्र प्रसाद सिंहले पुनः मत गणना गर्नु पर्ने माग गर्दै मुद्दा दार्ता गराएका छन् । यही पालिकाको वडा नम्बर ८ मा पनि पुनः गणना गर्न माग गरिएको छ । यहाँ ६ मतले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सरिफ कवारी निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार रामबाबु राउत पराजित भएपछि पुनः मतगणना गर्न माग गर्दै मुद्दा दायर गरेका छन् । महोत्तरीको, महोत्तरी गाउँपालिका १ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ एक मतले लोसपाका रंजित चौधरी निर्वाचित भएका छन् भने एमालेका उम्मेदवार मोहमद अनामुल राईन पराजित भएका छन् । चौधरीले ३६६ मत ल्याएका छन भने राईनले ३६५ मत ल्याएका छन् । यसै जिल्लाको एकडारा गाउँपालिका ४ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ तीन मतले लोसपाका जिवछ प्रसाद यादव निर्वाचित भएका छन् भने जसपाका विन्देश्वर राय पराजित भएका छन् । यादवले ७२० मत ल्याएका छन् भने रायले ७१७ मत ल्याएका छन् । यस्तै, धनुषामा पनि तीन वटा मुद्दा दार्ता भएको छ । जनकपुरधाम उपमहानगरपालिका १४ मा पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ जसपाका पुण्य प्रताप यादव ९ मतले निर्वाचित भएका छन् । नेपाली काँग्रेसका ब्रम्हदेव मिश्र पराजित भएपछि मुद्दा दायर गरेका । निर्वाचित यादवले ४ सय १० मत ल्याएका छन् भने पराजित मिश्र ४०१ मत ल्याएका छन् । त्यस्तै मिथिला विहारी नगरपालिका ८ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ ।
यहाँ एक मतले जसपाका जिवछ यादव निर्वाचित भएका छन् । उनले एमालेका सुरेन्द्र यादवलाई पराजित गरेका छन् । निर्वाचित जिवछको ४ सय १ र पराजित सुरेन्द्रले ४ सय मत प्राप्त गरेका छन् । यस्तै धनुषाधाम नगरपालिका ८ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ एमालेका कपिल बहादुर बस्नेत एक मतले विजयी भएका छन् । कांग्रेसका विनोद दीप लामा पराजित भएका छन् । निर्वाचित बस्नेतले ५ सय २२ र पराजित लामाले ५ सय २१ मत ल्याएका छन् ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=D0l7A2nTN7s&t=2s


