राकेश भक्त पौडेलको हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयहरुले शनिवार ईलाका प्रहरी कार्यालय सिमरामा डेलिगेसन गएका छन् ।
बैशाख ३० गते बिहान भएको राकेश भक्त पौडेलको मृत्युलाई परिवारजनले हत्या भएको दाबी गरेको छ । मृत्तक पौडेलका दाई राजेश पौडेलले आफनो भाईको योजनाबद्ध तरिकाले हत्या भएको आरोप लगाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–६ का पौडेलको मृत्यु चित्र केसीको घरमा भएको थियो । मृत्कको घर केसीको घरभन्दा करिब १ सय मिटरको दुरीमा रहेको छ । यता केसी परिवारले आफ्ना नाबालिक १६ बर्षिय छोरी निरुता केसीलाई रक्सीले मातेका राकेश भक्त पौडेलले कोठा भित्र छिरेर यौन दुब्र्यवहार गर्न खोज्दा आफनो बचाउँमा छोरीले बोतल खोसेर हान्दा टाउँकोमा लागेको र राकेश भक्त पौडेल कोठाबाट भाग्न खोज्दा च्यानल गेटमा ठोकिएर मृत्यु भएको बताएको छ ।
तर पौडेल परिवारले मृत्तकको टाउँकोमा लागेको चोटतर्फ ईङ्कित गर्दै राकेशको मृत्यु लडेर भन्दा यातना दिएर पछाडिबाट टाउँकोमा धारिलो हतियारले प्रहार गरी मारेको जस्तो देखिएको बताएको छ । यता, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमलसिनाले घट्नाको अनुसन्धानको क्रममा प्रहरीले निरुतालाई नियन्त्रणमा लिईएको छ । निरुताको आफन्तजनले प्रहरीले निरुतालाई चरम यातना दिएर हत्या स्वीकार गर्न दबाब दिईरहेको आरोप लगाएको छ । प्रहरी नायब उपरीक्षक तिमलसिनाले अहिले घटनाको बिषयमा अनुसन्धान भईरहेकाले केही भन्न सक्ने अवस्था नरहेको बताए ।