धनुषाको मिथिला नगरपालिकाका नवनिर्वाचित मेयर महेन्द्र महतोले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन अध्यापनको गराउने घोषणा गरेका छन् ।
पदभार ग्रहण गर्दै मेयर महतोले कक्षा १–१० सम्म हरेक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन अध्यापनको प्रबन्ध मिलाउने नगरपालिकाको टिप्पणी आदेशमा हस्ताक्षर गरेका हुन् । जनताको मतबाट विजय भएको छु, त्यसैले जनभावना अनुरुप काम गर्नु मेरो दायित्व हो, नगरपालिकाबाट मेयरले पाउनु पर्ने सरकारी सेवा सुविधा नलिने मेयर महतोको प्रतिबद्धता छ । मेयर महतोले पदभार ग्रहण पश्चात नवनिर्वाचित उपमेयर, वडाध्यक्ष र वडासदस्यहरुलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । नगरपालिकाको कार्यालय परिसरमा आयोजित समारोहकाबीच मेयर महतोले नवनिर्वाचित उपमेयर सुनिता सिंह बुढाथोकीसहित ११ वटै वडाका वडाध्यक्ष र वडासदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित मेयर महतोले आफूले मेयरको हैसियतमा पाउने गाडीलगायत अन्य सेवा सुविधा नलिने घोषणा गरे । ‘नगरवासीलाई सेवा गर्न आएको छु । नगरपालिकाको कुनै सेवा सुविधा लिन्न । मलाई हरेक माध्यमबाट यहाँका जनतालाई सेवा गर्नु छ,’ मेयर महतोले भने ।
उनले अब पार्टीको छाप र चिन्ह विर्सिन नवनिर्वाचित सबै जनप्रतिनिधीलाई आग्रह गरे । निर्वाचित जनप्रतिनिधीको कुनै पार्टी वा चिन्ह नहुने उल्लेख गर्दै उनले सबै जनतालाई एक समान हेर्न जनप्रतिनिधीलाई अनुरोध गरे । ‘म पनि कुनै पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएको छु । तर, अब त्यो समय सकिएको छ,’ मेयर महतोले भने ‘अब हामी एउटा परिवार भएका छौं । मिलेर काम गरौं । नगरको विकासमा जुटौं । मिथिला नगरपालिकालाई देशकै नमूना पालिका बनाऔं ।’ नगरपालिका कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका मेयर महतोले मिथिला नगरपालिकालाई सुन्दर, समृद्ध, रमणिय र हराभरा नगर बनाउने अभियानको सुरुवात भएको बताए । मिथिला नगरबासीलाई स्वास्थ्य सुविधाका लागि ईमरजेन्सी स्वास्थ्य उपचारको एकदमै आवश्यकता छ, ढल्केबरमा छिट्टै हामी ईमरजेन्सी सेवा सुचारु गराउछौं, मेयर महतोले भने । मेयरमा नवनिर्वाचित महतो नेपाल प्रहरीको सेवाबाट अवकाश हुन तीन वर्ष बाँकी रहँदै काठमाडौं महानगर प्रहरीको नायब उपरीक्षक (डीएसपी) पदबाट २०७९ वैशाख ५ गते राजीनामा दिएका थिए । उनको राजीनामा प्रहरी संगठनले बैशाख ८ गते स्वीकृत गरेको थियो ।

