जनकपुरधाम ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक विमान आइतवार बिहानदेखि सम्पर्कविहीन भएपछि अझै स्थिति अज्ञात छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताका अनुसार ट्विनअटर ढल्ब्भ्त् विमान सम्पर्कविहीन भएपछि त्यसलाई खोज्न हेलिकप्टर तथा स्थलमार्गबाट सुरक्षाकर्मीहरू परिचालन गरिए पनि उपलब्धिमूलक हुन सकेको छैन् । प्रतिकूल मौसमका कारण खोजी कार्य प्रभावित भएको उड्डयन अधिकारी र नेपाली सेनाले बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमानमा चालकदलका ३ जनासहित २२ जना सवार थिए । त्यसमध्ये धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ लोटा गाउँका एकै परिवारका ७ जना रहेको पुष्टि भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी(एस) का मधेश प्रदेश समितिका सदस्य समेत रहेका युवा नेता राजनकुमार गोले उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको मधेश प्रदेशका पर्यटन, उद्योग तथा वन मन्त्री सत्रुधन महतोले जनाएका छन् । उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलेको मन्त्री महतोले जनाए ।
तारा एयरले विमानमा ४ जना भारतीय, २ जर्मन र बाँकी नेपाली नागरिक रहेको जनाएको छ ।जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माका अनुसार ९ः५५ बजे उडेको विमान केही मिनेटपछि सम्पर्कविहीन भएको थियो। उक्त विमान १०ः११ बजेपश्चात् जोमसोम टावरमा सम्पर्कमा नआएको उल्लेख गरिएको छ । विमान तथा उडानको तथ्याङ्क राख्ने बेवसाइट फ्लाइट रडार २४ का अनुसार अहिले हराइरहेको विमानले आफ्नो पहिलो उडान ४३ वर्षअगाडि गरेको थियो ।


