खराब मौसमका कारण तारा एअरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको जानकारी दिनुभयो ।
संसद्को अन्तर्राष्ट्रिय समितिको आज साेमवारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।
घटनाको जाँच–बुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्य/तथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाउनुभयो । घटनास्थल जोमसोम विमानस्थलबाट आठ नटिकल माइल दुरीमा पर्छ । त्याे विमान मुस्ताङको थासाङ गाउँपालिका २ काे सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ ।
पोखराबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटपछि सम्पर्कविहीन भएको थियो । पाँच वटा हेलिकोप्टरले आइतवार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो ।
विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन
सरकारले तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्जमा वरिष्ठ एरोनटिक इन्जिनियर रतिशचन्द्र लाल सुमन रहनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।
यो समितलिाई दुर्घटनाको कारण पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
हिजो आइतवार पोखराबाट जोमसोमका लागि छुटेको तारा एअरको ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा विमानमा रहेका सबै २२ जनाको ज्यान गएको छ ।