भक्कानिएर रुदा रुदै घाँटी बसिसकेको छ । आवाज स्पष्ट आउँदैनन् , आँखा रातो र सुनिएको छ । कोही आउँदा सासु ससुरा खोई ? भन्दै विलौना गर्दे छिन छिनमै बुहारी प्रेम कुमारी मुर्छा पर्छिन् । छोरी कान्ति र शान्तिद्वय अचेत छिन् । होश आएपछि बरबराउँछिन्,‘ बुबा आउनु भयो ।’ कान्छी छोरी कान्ति कुनै बेला हाँस्छिन्, कुनै बेला रुन्छिन् । दुई दिनदेखि घरमा चुलो बलेको छैन् । घर र गाउँ शोकमा डुबेको छ । यो कारुणिक अवस्था छ, धनुषाको मिथिला नगरपालिका ११ लोटा टोलस्थित मंकर बहादुर तामाङ्को घरमा ।
मकर र उनको श्रीमती सुकुमायासहित सात जना परिवारको विमान दुर्घटनामा निधन भएको पुष्टि भइसकेको छ । शव पोखराबाट काठमाण्डु लगिदै छ । यो खबरले घरमा रहेकी छोरी बुहारीको आँसु थामिनसक्नु छ । मुक्तिनाथ तीर्थटनका लागि गएका बाबुआमा चढेको विमान बेपत्ता भएको खबर पाएपछि छोरा उत्तम आइतबार नै पोखरा पुगे । कान्छा छोरा सुरेश पनि काठमाण्डुबाट पोखरा पुगेका छन् । माइलो छोरा रत्नभूषण कतारबाट स्वदेश फर्किने तयारीमा छन् । घरमा मृतक मंकरका छोरी र बुहारी नाती नातीनी र ज्वाई छन् । बुहारी पे्रम कुमारीले भगवानले अन्याय गरेको बताउँछिन् । उनी भन्छिन् , ‘जसलाई भाकल गर्न बुबाआमा जानुभयो । उहाँले नै मृत्युको मुखमा पु¥याइदिनुभयो,’‘यो घटनाले हाम्रो संसार नै समाप्त भएको छ । टुहुरो भएका छौ. ।’ ज्वाई मदन लामा पनि बोल्न सक्ने अवस्थामा छैनन् । गाउँका कोही आउने वित्तिकै एकान्तमा जान्छन् । घटना सम्झेर उनको पनि आँखा रसाउँछ । घटनाले छिमेकी सुरेश लामा निकै दुखित छन् । ‘संसारमा केही रहेन छ । असल मान्छेको राम्रोप्रति कसको कुदृष्टि पर्यो , घोर अन्याय हो भगवान यो के भयो ? ,’उनले भने,‘राजनले गाउँका धेरैले सहयोग गरेको थियो, कतिलाई रोजगारी पनि दिएको थियो ।’
गाउँका युवालाई गलतबाटो बाट सही बाटोमा डो¥याउने काम गरेको र वन जंगल र चुरे जोगाउन पनि उनको पहल सराहनीय रहेको उनी बताउँछन् । मृतक मंकर अवकाश प्राप्त शिक्षक थिए । उनीहरु गएको फागुन महिनामा मुक्तिनाथ तीर्थ जाने सोचेका थिए । पछि सबै परिवार एकै पटक जाने कुरा भएको थियो । सोही कुरा अनुसार मकर दम्पती शुक्रबार काठमाण्डौं गएका थिए । उनका भान्जा राजन गोले काठमाण्डौंमै परिवारसहित बसिरहेका थिए । सबै जना शुक्रबार एकजुट भए । शनिबार मुक्तिनाथ जाने योजना अनुरुप पोखरा पुगे । राजन एक दशकदेखि सम्पूर्ण परिवार काठमाण्डौंमै बसिरहेका छन् । गाउँमा घर तयार भएपछि आउने सोचेका थिए । गाउँमा सात कोठेसहितको दुई तल्ले भवन निर्माणाधीन छन् । घरको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । शनिबार भएको विमान दुर्घटनामा राजनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका, पुरुषोत्तम गोले र काकी तुल्सा देवीको पनि मृत्यु भएको छ ।