राजविराज । स्थानीय कानून व्यवसायीहरुको साझा संगठन सप्तरी बार एशोसिएसनको नयाँ नेतृत्वका लागि उम्मदेवारी दर्ता सँगै कानून व्यवसायीहरुमा चुनावी सरगर्मी बढाएको छ ।
एशोसिएसनको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सकिएको छ भने निर्वाचन आगामी जेठ २१ गते शनिबार हुने तय भएको छ । अध्यक्ष सहित १० पदका लागि हुने निर्वाचनमा पेशागत समावेशी प्रगतिशील लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा रामप्रसाद चौधरी प्यानल सहित उम्मेदवारी दिएका छन् । उनको प्यानबाट सहसचिव पदमा भने अधिवक्ता किरण साह निर्बिरोध निर्वाचित भएकी छिन । सो पदमा प्रदेश कानून अधिकृत समेत रहेकी साहको एकमात्र उम्मेदवारी दाखिला भएकाले उनी निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कृपा नारायण यादवले जानकारी दिए । यस्तै बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायीहरुको गठबन्धन समूहबाट कामेश्वर यादवपनि सभापति पदमा प्यानल सहित चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । दुवै समुहले आपूm जिते कानून व्यवासयीको पेशागत हकहित र अधिकारको संरक्षण तथा संस्थालाई साझा संगठनको रुपमा विकास गर्ने प्रतिबद्घता सहित मतदाता रिझाउने प्रयास तिब्र बनाएका छन् ।
सभापति पदमा अर्का कानून व्यवसायी महेश्वर यादव र शंकर कुमार मिश्रले पनि उम्मदेवारी दिएकोमा सोमबार ती दुवैले उम्मेदवारी फिर्ता लिएका कारण चौधरी र यादव प्यानल बिच सोझै प्रतिष्पर्धा हुने भएको छ । एशोसिएसनमा ९७ जना कानून व्यवसायी मतदाता छन् ।

