गरुडा । रौतहटको गरुडा नगरपालिकाका नवनिर्वाचित मेयर कन्थमनी प्रसाद जयसवालले आफनो कार्यकालको शुरुवातमा सबभन्दा पहिला नगरका प्रत्येक दलित र विपन्न परिवारको घर बनाइदिने उद्घोष गरेका छन् ।
घरको अभावमा नगरका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सिमान्तकृत जातजाति एवं समुदायलाई निकै कठिनाई भइरहेको अवस्थालाई मध्य नजर गर्दै आपूm आफ्ना पहिलो नीति तथा कार्यक्रम मार्फत प्राथमिकताको आधारमा उनीहरुको आवास निर्माण गर्ने तर्फ लाग्ने मेयर जयसवालले घोष्णा गरेका हुन् । नवनिर्वाचित नगर उपप्रमुख पुनम कुमारी चौधरी सहित वडा अध्यक्ष र सदस्यहरुलाई सोमवार पद तथा गोपनियताको शपथग्रहण गराउँदै नगर प्रमुख कन्थमनी जयसवालले यस्तो बताएका हुन । विपन्न परिवार एवं समुदायको घर निर्माणका लागि यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा आवश्यक बजेट छुटयाउने उनले बताए । गरिबीकै कारण विपन्न परिवारहरुको बस्ने राम्रो घर नभएको र चुहिने छानो भएको घरमा सुत्न, बस्नसमेत ढुक्कले राम्ररी नपाइरहेकोले उनीहरुलाई बस्नको लागि सुरक्षित र भरपर्दो आवासको व्यवस्था गर्न लागेको उनले बताए । गरुडा नगरपालिकाको हजारौ दलित एवं आर्थिक स्थिति कमजोर भएका विपन्न परिवारहरु फुसले छाएको र बाँसको खम्बा भएको घरमा जोखिम मोलेर बस्न बाध्य छन ।