सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमाथि छलफल गर्न आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिसकेको छ।
सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको छ। पहिलो एजेण्डामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।
त्यसैगरी दोस्रो एजेण्डामा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभएको छ ।
बजेटमाथिको छलफल तीन दिनसम्म चल्ने सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको दोस्रो बैठकमा जानकारी गराउनुभएको छ । छलफलमा दलीय आधारमा भाग लिन संसदीय दलले एक घण्टा अघि नाम टिपाउन सापकोटाले सूचित गर्नुभएको थियो ।
यसैबीच सदनमा प्रस्तुत बजेटको प्रतिपक्षी नेकपा एमालेले भण्डाफोर गर्ने भएको छ। सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको झण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको हो ।