जनकपुरधाम । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ २१ गते प्रस्तुत हुने भएको छ ।
यसका लागि मधेश प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन यही जेठ १९ गते आह्वान गरिएको छ । प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहका अनुसार २१ जेठमा बस्ने प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । विगतका पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता र थप कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गर्नुका साथै कृषि, स्वास्थ्य, शिक्षा, सिचाई तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले बताए । वागमती सहितको प्रदेशको नीति तथा कार्यक्रम यस अघि नै सार्वजनिक भइसकेको छ । वजेट ल्याउनु भन्दा अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान रहेकाले प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । जेठ १ गतेमा संघीय र असार १ गते प्रदेश सरकारले वजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
स्रोतका अनुसार प्रदेश सरकारले आउँदो प्रदेश र प्रतिनिधि सभालाई लक्षित गरी चुनावमुखी नीति तथा कार्यक्रम ल्याउन लागेको छ। आफ्नो कार्यकालको अन्तिम वर्षमा रहेकाले प्रदेश सरकारले चुनावलाई लक्षित गरी अनुदानमुखी कार्यक्रमहरु थपिन लागेको नीति तथा योजना आयोगका एक कर्मचारीले बताए । उनका अनुसार वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई प्रदेशमै रोजगारीका लागि अनुदान, कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने लगायतका कार्यका लागि अनुदानमूलक कार्यक्रम अन्य वर्षको तुलनामा बढी राख्न प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीहरुले जोड दिएका छन् । यसभन्दा अघिका प्रदेश प्रमुखहरुले नीति तथा कार्यक्रमबाट प्रस्तुत गरिएका योजना अनुरुपको बजेट नहुने , बजेटमा जनता भन्दा मन्त्रीहरुको विकास हुने किसिमले बजेट विनियोजन हुने , मन्त्री र कर्मचारीको स्वार्थको द्वन्द्वले अमर्यादित घटना घटित हुने , केही मन्त्रीले आफन्त , परिवारलाई पोषण गर्ने किसिमले बजेट विनियोजन गरेका तथ्यका साथै अर्थमन्त्रीले नीति तथा कार्यक्रमलाई बेबास्ता गर्दे नीति तथा कार्यक्रममा उल्लेख गरिएका योजनालाई उपेक्षा गरी बजेटको व्यवस्था नगरेको गुनासो पनि अधिक सुनिएको थियो । सोही कारणले मन्त्रीहरुको द्वन्द्व उत्कर्षमा पुगेपछि अर्थमन्त्रीको मन्त्रालय नै परिवर्तन गरी अन्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो । नीति तथा योजना आयोगका एक कर्मचारीका अनुसार अहिले सम्म नीति तथा कार्यक्रमहरुको मस्यौदा मात्र भएको छ, त्यसमा छलफल भइरहेकोले एक दुई दिन भित्रमा तयार हुने छ ।
शुरुमा जेठ २२ गते आइतवार नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेकोमा सरकारले एक दिन पहिला नै जेठ २१ गते शनिवार प्रस्तुत गर्न लागेको छ । लामो समयदेखि बन्द रहेको बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने विषयमा छलफल भएको ती कर्मचारीले बताए । सरकारले लोकप्रिय नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन अवस्था फितलो कारण विगतका वर्षहरुका आलोचना हुदै आएको छ । त्यसलाई सुधार गर्ने तर्फ पनि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको उनले बताए ।