अपडेट 
२०७९ जेष्ठ १८, बुधबार ०७:४१

जनकपुरधामस्थित एउटा विद्यालयमा गत महिना एउटा कामले पुगेको थिएँ । विद्यालयको शौचालयमा जताततै थुकका दीर्घकालीन कृत्रिम दागहरु थिए । बजारमा पाइने विभिन्न किसिमका सूर्तीजन्य पदार्थका खाली साना पाकेटहरु फालिएका थिए । साथै सोझै सूर्ती अर्थात् खैनी खाएर फालेको पनि देखिन्थ्यो । एक दिन हेटौँडाबाट फर्किरहेको थिएँ । जाडोको महिना थियो । बसका सबै सीसा बन्द थिए । अरुले थाहा नपाउने गरी कसैले चुरोट खान थालेछन् । धुवाँ कताबाट आएको हो भन्ने त बुझ्न सजिलो भएन तर मध्यमा उभिएको मानिसहरुले पछाडिबाट र पछाडिका मानिसहरुले अगाडिबाट चुरोटको धुवाँ आएको गाइँगुइँ गर्न थाले । जसले खाएको भए पनि तुरुन्त बन्द गर्न सबैले कराउन थाले । चुरोट खानेले मुस्किलले एक वा दुई सर्को ताने होलान् र गाइँगुइँका कारणले सम्भवतः ओढ्नेभित्र नै लुकाएर निभाए होलान् । गाईँगुइँ चर्केसँगै विस्तारै चुरोटको धुवाँको गन्ध कम हुँदै गयो । तर पनि कसैले मलाई रिङटा लाग्छ, मलाई चुरोटको धुवाँले वाक्वाक्ती लाग्न थाल्छ, कसैले मलाई निकै गन्हाउँछ भन्दै रहे । चुरोट खाने मानिसलाई चिन्न सकिएन तत्काल । एउटा सरकारी कार्यालयको छेउमा एक जना बिँडी तान्दै थिए । उनलाई एक जनाले सम्झाउँदै धम्क्याए – यसरी बिँडी तान्दा हाकिमले देख्नु भयो भने जरिवाना गर्नुहुन्छ । तुरुन्त फालिदिनुहोस् । बिँडी पिउने मानिसले नरम जवाफ फकाए – हामीलाई अमल लागेपछि तलतल लाग्छ, कतै ठाउँ बनाइदिनु पर्ने हामीजस्ताको लागि पनि । खोजेको त यहाँ कतै देखिएन अनि कुनातिर एकान्तमा आएर डरले नै तानेको हुँ ।

यी केही उदाहरण मात्र हुन् । खैनी खाएर र खैनीजन्य पदार्थ खाएर धेरै राम्रो ठाउँ, घरका भित्ता, कुना तथा कतिपय महत्वपूर्ण ठाउँलाई कतिपयले देख्नै नहुने गरी फोहोर पारेका हुन्छन् । कोही कोही त अरुले नदेखोस् भनेर अलिक सचेत भएर खान्छन् तर कोही कोही भने निर्धक्कसित चुरोट तान्छन्, खैनी खान्छन् । धेरै विद्यालय यस्ता छन् जहाँका शिक्षकले खैनी खान आज पनि छाडेका छैनन् । विद्यालय परिसरमा खैनी खानु हुँदैन भन्ने थाहा छ, कानुनले रोकेको छ भन्ने पनि बुझेका छन्, बालबालिकाले देखे नराम्रो मान्लान् भन्ने पनि नजानेका होइनन् वा शिक्षकले खैनी खाँदा बालबालिकाले देखेर त्यसरी अभ्यास गर्न सक्छन् भन्ने कुरा नबुझेका होइनन् तर पनि आफूलाई निरन्तर अभ्यस्त बनाइरहेका छन् खैनीमा । आजभोलि पहिलेजस्तो खैनी खान पाउने उन्मुक्त स्वतन्त्रता छैन । खैनी खानै पाउँदैनन् भन्ने होइन । यो वैयक्तिक स्वतन्त्रता हो । वैयक्तिक स्वतन्त्रताले अरु पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा खलल पार्नु हुँदैन भन्ने मान्यता राख्दछ । यसै कारण सरकारी कार्यालय, विद्यालय, मूल बजार, चोक, बस आदिमा पनि खैनी खाँदा कसै नकसैले रोकेकै हुन्छन् । धेरैलाई अप्ठ्यारो परेको हुन्छ । कतिपयले त बलजफ्ती गरेर खाइराखे वा खान खोजे उनलाई धेरैले हप्काएको शैलीमा वा गाली गरेको शैलीमा वा सम्झाएको शैलीमा खैनी नखान वा चुरोटको धुवाँ नफ्याँक्न भन्दछन् । अहिले पनि अरुलाई हानी गर्ने कुराहरुको सेवनकर्ताहरुमा यो सचेतनाको अभाव देखिएको छ कि यस्ता कुराको सेवनको लागि सीमित स्वतन्त्रता मात्र छ ।

कतिपय ठाउँमा त नैतिकताको सबाल पनि आउँछ । अझै पनि गाउँघरमा यस्ता धेरै अभिभावक छन् जो आफ्ना छोराछोरीलाई यही चुरोट वा खैनी किन्नलाई पठाउँछन् । खल्तीमा रहेको चुरोटको डिब्बाबाट एउटा खिल्ली मगाउँछन् र सबैको अगाडि सल्काउँछन् । घरका केटाकेटीले देखिरहेका हुन्छन् वा अझ चुरोट सल्काएर बट्टा वा सलाई त्यही छोराछोरीलाई दिएर पहिले रहेको ठाउँमा राख्न पठाउँछन् । यस्तो काम स्वाभाविक रुपमा गर्दा तिनै छोराछोरीमा पनि विस्तारै चुरोटको धुवाँको बानी पर्दै जान्छ र एक दिन कोसिस गर्छ कि हेरुँ कस्तो हुने रहेछ ? अर्को पनि एउटा सत्य घटना छ । एउटा सानो बजारको सानो होटलमा एक दिन खाजा खाइरहेको थिएँ । पन्द्र–सोर वर्षका चार पाँच जना नवयुवक वा किशोरहरु आए । एउटा टेबलमा बसे । त्यस होटलको जे विशेषता थियो त्यसअनुरुप खाजा मागे । एउटाले चुरोटको बट्टा निकाल्यो र होटलको भाइलाई भनेर लाइटर मगायो । चुरोट तिन जनाले एक एक ओटा निकाले र सल्काएर धुवाँ उडाउन थाले । चुरोटको बट्टा निकाल्नेले भनेको कुरा निकै घत लाग्दो छ । उसले भन्यो – “म त आफ्नी आमाको काखमा सिरानी राखेर मज्जाले चुरोट तान्छु । आमा मेरो कपाल मुसारिरहनु हुन्छ । त्यत्ति बेलाको जस्तो आनन्द मलाई कहिल्यै आउँदैन । साँच्चै आमको काखमा नै स्वर्ग हुन्छ भन्ने कुरो सही हो ।” उसका अरु साथीहरुमध्ये एक जनाले हो मा हो मिलायो र अरुले चाहिँ अचम्म माने । मलाई चुरोटको धुवाँले पारेको अप्ठ्यारोभन्दा तिनको सम्वादले पा¥यो र पूरा खाजा नखाई होटलबाट निस्कें । बाहिर आएर होटलको साहुलाई विस्तारै भनें – भित्रको झ्याल खुलेको भए धुवाँ अलिक बाहिर जान्थ्यो कि मलाई अलिक अप्ठ्यारो भएको छ, त्यसैले मैले पूरै खाजा खान सकिनँ । पैसा त पुरैको तिरें तर पनि पसलेलाई कुनै अप्ठ्यारो लागेन । सम्भवतः ती किशोरहरु त्यस होटलका नियमित ग्राहक थिए । किशोर र नवयुवकहरुमा पनि सूर्तीजन्य पदार्थको सेवनको लत बढिरहेको छ । आजभोलि जहाँ नवयुवक तथा किशोरहरुको समूह एक्लै खेल्न जान्छन्, त्यहाँ पनि यस प्रकारको गतिविधि बढेको छ । एकान्त फूलबारी, कुनै क्लब वा पार्टी कार्यालय जहाँ भीडभाड हुँदैन, जहाँ अभिभावकको आँखा छल्न सकिन्छ, त्यस्तो ठाउँमा नवयुवक र किशोरहरुले मुख्य गरी साना पाकेटमा पाइने पदार्थको सेवन गरिरहेका भेटिन्छन् । विस्तारै तिनीहरु यस्ता पदार्थको सेवनकर्ताको रुपमा बन्न पुग्दछन् ।

सूर्तीजन्य पदार्थको सेवन पनि गर्न थाल्दछन् । नवयुवा वयका मानिसहरु अहिले धेरै हदसम्म गुटखाजस्ता धेरै किसिमका साना पाकेटमा पाइने पदार्थको सेवनमा अभ्यस्त बन्न थालेका छन् । यतातिर अपेक्षित निगरानी कम भएको छ र केही हदसम्म कोरोना समयमा विद्यालय तथा क्याम्पस बन्द भएर सहरका नवयुवक गाउँमा आएर बस्नु पनि हो जस्तो लाग्छ । सहरमा कुनै उद्यम गरेर बसेका अभिभावकको जब उद्यम बन्द गर्ने वातावरण बन्यो तब तिनीहरु आफ्नो परिवारसहित गाउँ आउँदा सहरमा अलिकति देख्ने गरेको गुटखाजस्ता पदार्थको सेवनलाई गाउँको उन्मुक्त वातावरणमा आफूलाई अलिकति सहरिया देखाउन र आफूसित भएको पैसा खर्च गरी साथीभाइमा रमाइलो गर्न त्यस्ता पदार्थ र सूर्तीजन्य पदार्थको सेवन गरेको देखिएको थियो । गाउँ आफैँमा अछुतो त होइन तर पनि कोरोना कालपछि वर्तमान समयमा सहरबाट आएका किशोरहरु सहर नै फर्किसकेको भए पनि छाडेर गएका केही विकृतिहरुमध्ये सूर्तीजन्य पदार्थको सेवन भने अद्यापि छ । नवयुवक तथा किशोरहरुमा बढेको सूर्तीजन्य पदार्थको सेवन बढेको छ । यो दुःखलाग्दो पक्ष हो । तराई मधेसमा एउटा निकै सकारात्मक पक्ष के हो भने किशोरी तथा नवयुवतीहरुमा यस्तो किसिमको दुव्र्यसन पाइन्न । यद्यपि हाम्रो समाजमा जुन किसिमले स्वच्छन्दता बढेको छ, त्यसले निकट भविष्यमा यसले महिला पक्षलाई पनि नगाँज्ने होइन । यसकारण सम्भव भएसम्म नवयुवा तथा किशोर पुस्ताप्रति अभिभावक र समाज दुवै अलिक सचेत बन्नै पर्दछ । गत चैतमा विद्यालय तहको परीक्षा सुरु भएदेखि जेठको दोस्रो हप्तासम्म विद्यालयीय शिक्षामा रहेका किशोरहरु एक किसिमले बेरोजगार नै थिए तराई मधेसमा । राम्ररी विचार गरी हेर्ने हो विद्यार्थीमा नपढी पास हुने प्रवृत्तिको विकास भएको छ । पढाइमा शिक्षक र विद्यार्थीले ध्यान नदिने तर परीक्षामा राम्रो नतिजा ल्याउने भइरहेको छ । जब नतिजा राम्रो आउँछ भने किन दुःख गर्नुप¥यो ? यही भावनाले ग्रसित अवस्थामा अहिले कक्षा बारको परीक्षा पनि भइरहेको छ । निसन्देह अहिलेको परीक्षामा अभिभावक, शिक्षक र विद्यालय सबै मिलेर सम्भव भएसम्म विद्यार्थीले परीक्षामा राम्रो वा बढी लेखून् भन्ने चाहिरहेका छन् । भइरहेको पनि छ । यसले फेरि पनि नतिजा राम्रो आउने देखिएको छ । यसको अर्थ यो पनि हो कि विद्यालयमा पढाइ नहुँदा पनि विद्यार्थीले नतिजा राम्रो ल्याउँछ । सबैले देखे र भोगेको सत्य हो कि अहिले परीक्षा दिइरहेका विद्यार्थीले एक वर्षमा कति दिन पढ्न पाएका छन् ? पढाइ कम दिन हुँदा मात्र होइन बढी नै भएको भए पनि परीक्षाको अवस्था यही हुन्थ्यो किनभने पहिलेदेखि यही हुँदै आएको छ ।

पहिलेदेखि यही हुनुको अर्थ हो हाम्रो संयन्त्रमा नै गडबडी छ । हाम्रो संयन्त्रमा रहेको गडबडीको असर विद्यार्थी वा किशोर वा नवयुवा पुस्तामा परिरहेको छ । नवयुवा पुस्ताले सूर्तीजन्य पदार्थको सेवन गर्न पाउने समय निकालिरहेका छन् । पढाइतिर ध्यान दिनुभन्दा पहिले शिक्षक, अभिभावक र समाजले जुन कुरा खाएर, मुखमा हालेर वा धुवाँ उडाएर आनन्द वा सन्तुष्टि मानिरहेका छन्, सोहीको अनुकरण गरिरहेका छन् । यसलाई सम्भव भएसम्म रोक्न जरुरी छ । हाम्रो समाज भोलि दुव्र्यसनीको समाज नबनोस्, हाम्रा युवाहरु कर्तव्यनिष्ठ बनून् भन्ने चाहना सबैको छ । यस अर्थमा अबको दिनमा हामीले अझ बढी सचेत हुनुपरेको छ । सूर्तीजन्य पदार्थको सेवनले निम्त्याउने रोगबाट जोगिन आफू सचेत रही आफ्ना किशोर र नवयुवक पुस्ताप्रति बढी सचेत र उत्तरदायी बन्ने हो भने केही हदसम्म सकारात्मक आशा गर्न सकिन्छ । र, सार्वजनिक ठाउँ, विद्यालय, कार्यालय, सडक, चौक, चौतारी आदि स्थानमा कोही सूर्ती वा सूर्तीजन्य पदार्थको सेवन गरिरहेका छन् भने एकचोटि मिठो मुखले नै कृपया यस ठाउँमा यो कुराको सेवन नगरी दिनुहोस् भन्ने बानी बसालौँ । यस किसिमको साहसिलो बानीले गर्दा खासै धेरै तत्काल असर त नपर्ला तर जब धेरै ठाउँमा र धेरै पटक धेरै मानिसबाट यसै किसिमले आग्रहपूर्ण सल्लाह कसैले सुन्दछन् भने तिनलाई पनि परहेज गर्न मन लाग्छ वा परहेज गर्नुपर्ने बाध्यता आउँछ । यो असम्भव पनि होइन । कसैलाई कुनै सकारात्मक कुराको आग्रह गर्न कठिनाइ मान्नु हुन्न । झन् एउटा सेवन गर्दा अरुले देखेर सिक्ने वा जहाँ पायो त्यहाँ पिक फाल्दा पनि बेफाइदा हुने वा त्यसको धुवाँले असर गर्ने हुनाले सम्भव भएसम्म त्यस प्रवृत्तिलाई नै रोक्ने प्रयासमा शिक्षित समाज तथा बुद्धिजीवी वर्ग लाग्नु उचित हुन्छ । यदि कसैले कसैलाई सेवन नगर्न सल्लाह दिन्छन् भने त्यहाँ आफूले पनि विनम्रतापूर्वक नै सहभागी भइदिनु पर्छ । यसले सेवनकर्तालाई लाग्छ कि धेरै मानिसलाई मेरो बानी मन परेको छैन र जसले सल्लाह दिएका छन्, तिनलाई लाग्छ कि मेरो आन्दोलन सही हो । यसलाई निरन्तरता दिँदा समाजले सहयोग गर्ने वातावरण बन्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News