नेपालको संविधान २०७२ अनुसार नेपाल सरकार तीन तहमा विमाजित छन् । स्थानिय, प्रादेशिक तथा संघीय सरकार रहेका छन् । यसमध्ये स्थानीय तहको निर्वाचन यहि २०७९ वैशाख ३० गते सम्पन्न भएको छ । एकादूका छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न भएको देखिन्छ । यस निर्वाचनले नेपाल सरकार, पार्टी, राजनीतिक नेता, कार्यकर्ता, बुद्धिजीवी लगायत सर्वसाधारण समेतलाई निकै राम्रा तथा नराम्रा कुराहरूका संकेत दिएको छ । यसबाट देशका पार्टीहरू राम्रोसँग संचेत भएन भने भोलि ठूल्ठूला राजनीतिक घटना समेत नघट् ला भन्न सकिन्न । यसपालि निर्वाचन परिणामलाई हेर्दा पार्टीहरूलाई समयमै सचेत हुनु पर्ने देखिन्छ । प्रजातन्त्रका लागि पार्टीहरू मेरूदण्ड मानिन्छन् ।
यदि पार्टीहरू आ–आफ्ना सैद्धान्तिक स्तर खस्काउँदै गए भने भोलि यसको असर लोकतन्त्रमा समेत पर्न जान्छ । कुनै पनि पार्टी केही सिद्धान्तमा आधारित हुन्छ । कतिको सैद्धान्तिक कुरा आर्थिक कुरासँग जुटेका हुन्छन् भने कतिका सामाजिक÷सांस्कृतिक कुरासँग जोडिएका हुन्छन् । कतिपय पार्टी क्षेत्रीय कुरालाई मूल मुदा बनाई पार्टी निर्माण गरेका छन् । यसरी हेर्दा जुन सुकै पार्टीले आफ्नो सैद्धान्तिक पक्षलाई स्पष्टसँग उल्लेख गरेको हुन्छ । सिद्धान्तविहीन पार्टीले देश तथा जनताका लागि दिगो रूपमा केही दिन सक्दैन । तत्काल कतिपय ठाउँमा जितेपनि सैद्धान्तिक आधारविना उ भोलि निश्चित रूपमा ढल्ने नै देखिन्छ । बहुपार्टी प्रणालीमा जसले पनि पार्टी खोलेर निर्वाचनमा प्रतिस्पर्धी बन्न पाउँछ । लोकतन्त्रमा नागरिकको यो नैसर्गिक अधिकार हो । हुनत् सिंगो व्यक्ति पनि निर्वाचनमा भाग लिएर कतिपय ठाउँमा जितेका हुन्छन् तर त्यस्ता व्यक्तिले आफूलाई टिकाउन निकै कठिनाइको सामना गर्नु पर्ने देखिन्छ । अब नेपालमा बर्खर सम्पन्न भएको निर्वाचनतिर लागौं । यस निर्वाचनले पार्टीहरूका लागि धेरै प्रश्न एकै चोटी जन्माएको छ । यसका लागि नेपालका मुख्य पार्टीहरूलाई सोच्न बाध्य बनाएको छ । यसपालिको निर्वाचन तथ्याङ्कतिर जाँदा सबैभन्दा ठूलो नेपाली कांग्रेस बनेको छ । नेपाली कांग्रेसले ३२८ स्थानीय तहको प्रमुख÷अध्यक्ष पदमा जित हासिल गरेको छ । यसलाई २०७४ को निर्वाचनसँग दाँज्दा यस पालि ६२ पद बढी भएको छ । यस्तै नेकपा एमाले २०५ प्रमुख÷अध्यक्ष पद पाएको छ । २०७४ को निर्वाचनमा सबैभन्दा बढी सिटमा जित ल्याएर एमाले प्रथम स्थानमा आएको थियो भने यस पालि ८९ स्थान गुमाएर दोस्रो स्थानमा झरेको छ । यसलाई दोस्रो स्थानमा झर्नुको मूल कारण पार्टीको विभाजनलाई मान्न सकिन्छ । यस्तै नेकपा एमाले १२१, जनता समाजवादी पार्टी नेपालले ३० स्थान तथा नेकपा (एस) ले २० वटा स्थानीयको प्रमुख÷अध्यक्ष पद जित्न सफल भएका छन् । राष्ट्रिय जनमोर्चा चार स्थानीय तहको प्रमुख÷अध्यक्ष पद जितेको छ । माओवादी केन्द्रले २०७४ भन्दा १५ प्रमुख÷अध्यक्ष पद थपेर तेस्रो स्थानमा आएको छ भने जनता समाजवादी पार्टी, नेपाल चौथो स्थानमा स्थापित भएको छ ।
नेकपा (एस) ले जति स्थानको आशा गरेको थियो त्यति ल्याउन सकेन । यस स्थानीय निर्वाचनमा उसले जम्मा २० स्थान पाएर पाँचौं स्थान कायम गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी १६ स्थानमा विजय हासिल गरेर छैठौं स्थान कायम गरेको छ । यसरी गठबन्धनका पार्टीहरू क्रमशः नेपाली काँग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा, नेपाल र राष्ट्रिय जनमोर्चा छन् । यी गठबन्धनमा सामेल भएका पार्टीहरूका विजयी सिटलाई जोर्दा जम्मा ५०३ स्थानीय तहको प्रमुख÷अध्यक्ष पदमा जितेका छन् । यसलाई प्रतिशतमा देखाउँदा ६६.८० प्रतिशत हुन आउँछ जो दुई तिहाइ भन्दा बढी आएको देखिन्छ । यसबाट के देखिन्छ भने यस निर्वाचनमा सबैभन्दा ठूलो धका नेकपा (एमाले) लाई लागेको छ । यदि आगामी निर्वाचनसम्म गठबन्धन कायम रह्यो भने एमाले अझ तल झर्ने लगभग पक्का पक्की देखिन्छ । स्थानीय निर्वाचन २०७९ मा मत परिणामको आधारमा कुल २२ दलले मात्र प्रतिनिधित्त्व गरेका छन् । लगभग आधा दर्जन दल पहिलो पटक प्रतिनिधित्व गर्दैछन् । स्थानीय निर्वाचन २०७९ का लागि कुल ७९ दल दर्ता भएकामा ६५ दल मात्रै चुनावमा भाग लिएका थिए जसमध्ये ४३ दलले एउटा पनि स्थानमा जित्न सकेन । यस्तै यसपालिकाको निर्वाचनमा २५ पालिकामा महिला प्रमुख निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार तीनवटा पालिकामा प्रमुख र उपप्रमुख दुबै जना महिला निर्वाचित भएका छन् । झापाको गौरीगञ्ज गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र कैलालीको लम्कीचूहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार निर्वाचित भएका छन् । यसरी यसपालि केही नयाँ तस्वीर सामुने आएका छन् । यसबाट महिला जनसंख्या भोलिको निर्वाचनमा अझै उत्साहसाथ भाग लिनेमा आशा गर्न सकिन्छ । यस पालिको निर्वाचनमा एउटा अर्को दृश्य के देखियो भने स्वतन्त्रहरू पनि उल्लेख्य हिस्सा पाएको देखिन्छ । यस स्थानिय निर्वाचनमा १२ जना स्वतन्त्र (बागी) उम्मेदवारले प्रमुख÷अध्यक्ष पदमा जित हात पारेका छन् । अघिल्लो निर्वाचनमा ६ जना मात्र स्वतन्त्र उम्मेदवार प्रमुख पदमा निर्वाचित भएका थिए । वागी उम्मेदवार जित्नु लोकतन्त्रका लागि राम्रो मानिँदैन । गत निर्वाचनमा ६ वटा मात्र रहेकामा यसपालि शतप्रतिशत बृद्धि भएको छ । जसमध्ये काठमाण्डु जस्तो राजधानी नगर जित्नुको अर्थ पार्टीहरूका असफलतालाई इंगित गरेको छ ।
हुनत काठमाण्डु महानगरपालिका, धरान, धनगढी एवं जनकपुरधाम उपमहानगरपालिका तथा बर्दिवास नगरपालिका गरी पाँच विशेष महत्त्वका क्षेत्रहरू छन् । यसबाट के देखिन्छ भने पार्टीहरूका मुन्टो नै काटिएका छन् । यी पार्टीहरूले गम्भीर रूपमा लिनु पर्ने हुन्छन् । किन यस्तो परिणाम आयो भने पार्टीहरूका बीचमा छलफल तथा समीक्षाको विषय हुन आएको छ । खास गरी यस्ता बागी उम्मेदवारमा बृद्धि हुनुका पछाडि पार्टीहरूकै गलत क्रियाकलाप जिम्मेवार छन् । पार्टीहरू सिद्धान्तनिष्ट भयो भने यस्ता स्वतन्त्र उम्मेदवारको संख्यामा आपसेआप कमी हुन आउँछ । पार्टीहरू निर्वाचनमा जाने उम्मेदवारका लागि टिकट बाँडदा पैसाका चलखेल निकै मात्रामा हुँदो रहेछ । जिन्दगी बिताएका पार्टीका कैडरहरू टिकट नपाइकन निरास भएका हुन्छन् र आजको आजै पार्टी प्रवेश गराइ टिकट दिएर बर्षौदेखि लागेका कार्यकर्ताको मन तोडेको देखिन्छ । यसले सिद्धान्तनिष्ट कार्यकर्ता कहिले काँही पार्टी प्रतिनै नकारात्मक भूमिकामा आउँछ । अर्कोतिर पार्टीका नेताहरू नाताबाद कृपाबादमा नराम्रोसँग फसेको देखिन्छ । यसबाट पनि पार्टीभित्र इमान्दार तथा कर्तव्यनिष्ट कार्यकर्ता पार्टीमा विद्रोह गरी अलग भएका सैकडौं उदाहरणहरू रहेका छन् । यस्ता घटनाले बागी उम्मेदवार हरूका मन हौसियर आएका हुन्छन् र महत्वपूर्ण ठाउँका स्थानहरू समेत हात पार्छन । यसपालि काठमाण्डुमा मात्र होइन, जनकपुरधाम, धरान, धनगढी र बर्दीवास जस्ता प्रमुख पदमा स्वतन्त्रले विजय हासिल गर्नु भनेको पार्टीहरूका सामुन्ने एउटा ठूलो चुनौती थपिएका छन् । पार्टीहरूका लागि राजनीतिक सिद्धान्त हुन्छ । त्यस सिद्धान्तलाई निर्वाचन मार्फत मूर्त रूप दिन चाहन्छन् । जुन पार्टीको सिद्धान्त हुँदैन, त्यस्ता पार्टीले कसरी हाँक्न सकिन्छ ? विचारणीय पक्ष रहेको छ । नेपालमा जन्मिएका अधिकांश पार्टीहरू सिद्धान्तविहीन छन् । यसले पनि स्वतन्त्र उम्मेदवारलाई मलजल थपेको देखिन्छ । अर्कोतिर पार्टीहरू सरकारमा जाँदा जनता सामु खाएको शपथ शतप्रतिशत विर्सिन जान्छ । कुनै यस्तो पार्टी छैन जो आफूलाई भ्रष्टाचार मुक्त गरेको छ । स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्म यसको जाल बडो बलियो रूपमा पिछाइएको छ जो साधारण हुरी बतासले टुट्नेबाला छैन । हुनत् मुखले भ्रष्टाचारको विरोध सबै पार्टीहरूले गरेका छन् ? व्यवहारमा ठीक उल्टो देखिन्छ । नेपाल पछाडि पर्नुमा पार्टीहरूमा राजनीतिक नैतिकताको ह्रास पनि हो । यसैलाई हथियार बनाइ स्वतंत्र उम्मेदवारहरूले ठाउँ ठाउँमा ठूला पार्टीहरूका बलियो उम्मेदवारहरूलाई हराउन सफल भएका छन् ।
यस्ता कुरा बारे कुनै पार्टीहरूले जोडदार आवाज उठाउन सकेका छैनन् । यस्तै भ्रष्टाचार दिन दिनै बढ्दै गयो भने स्वतन्त्र उम्मेदवार मात्र होइन चरमदक्षिणपन्थीहरू पनि सत्ता कब्जा गर्न सक्छन् । भोलि व्यवस्थै रहेन भने के को पार्टी र नेता ? यस देशमा बहुदलीय व्यवस्थालाई कैयांै चोटी मौका त भेट्यो तर राम्रोसँग चलाउन नसकेर भत्किएको देखिन्छ । जनता कसैका दास छैनन् । जुन व्यवस्थाले जनतालाई बढी भलाई गर्छ त्यतैतिर जनतालाई ढल्किन बेर लाग्दैन । यसैले समयमा पार्टीहरूलाई सचेत हुनु आवश्यक छ अन्यथा भन्न सकिन्न । यस देशले पनि निकै ठूल्ठूला इमान्दार नेता, कार्यकर्तालाई जन्माएको छ । विगतमा काम गरेको विपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी, सुशील कोइराला, जस्ता नेताहरू आफ्ना छाप छोडेर गएका छन् । के उनीहरूका उचाँइमा पुग्न कसले रोकेको छ त ? घूस तथा भ्रष्टाचारी गरेर केही दिन भौतिक सुख सुविधा लिन सकिन्छ । तर महापुरूष बन सकिँदैनन् । देशले माथि उल्लेख भएका राजनेताहरुलाई चाहेको छ । अहिलेको गठबन्धनले भर्खर देशलाई प्रतिगामी शक्तिबाट जोगाएको छ भने यस्ता कुरातिर पनि सबै मिलेर लाग्नु पर्दछ अन्यथा भोलि त्यही प्रतिगामीहरू लखेटन बेर लाग्दैन । त्यसर्थ आजका लागि मात्र होइन भोलिका लागि पनि सोचांै । पार्टीहरूले आ–आफ्ना गलत क्रियाकलापलाई सुधारेर अगाडि बढ्नुको अर्को विकल्प छैन । अहिले हातमा आएको सत्तालाई चलाउन सकेन भने भोलि पश्चाताप गर्ने बाहेक अरू केही हुँदैन । समयको चेत समयमा नै काम दिन्छ । अहिले मौका छ । गठबन्धनका पार्टी मिलेर कमीकमजोरीलाई नियन्त्रण गर्दै अगाडि बढनुको विकल्प छैन । कम्तिमा आउने संसदीय निर्वाचनसम्म गठबन्धनलाई जोगाई राख्नु सबैका लागि हितकर हुने देखिन्छ । होइन भने कुन पार्टी कता जाला ठेगान हुँदैन । अस्तु । लेखक त्रिविका सेवानिवृत सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।