२०७९ जेष्ठ २३, सोमबार १०:५०

निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै मतदाता नामावली सङ्कलन गर्ने तयारी थालेको छ।

असार १ गतेदेखि नामावली सङ्कलनको तयारी भएको आयोगले जनाएको छ । आयोगका अनुसार १८ वर्ष उमेर पुगेका, तर मतदाता नामावलीमा नाम नभएकाले आफू बसेकै जिल्लाबाट नामावली दर्ता गर्न सक्नेछन् ।

स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाउने तयारी भइरहेको आयोगले जनाएको छ। आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गर्नेछ।

आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो हप्ताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ । यसबीचमा मतदाता नामावलीमा देखिएका त्रुटि पनि सच्याइने आयोगले जनाएको छ।

पालिका चुनावमा कतिपयको नाम नभएको, दोहोरो नाम भएको र मृत्यु भइसकेकाहरुको पनि नाम रहेको भन्ने गुनासो आएको थियो। यस्ता गुनासालाई ध्यान दिँदै मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने प्रयास भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

वैशाख ३० मा भएको पालिका चुनावअघि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ।

Comment


Related News

Latest News

Trending News