नेपाल टेलिकम जनकपुरधामको कर्मचारीले सरकारी सम्पत्तीमा रजाई गर्ने गरेको पाइएको छ ।
कार्यालयका सहायक अधिकृत कमलेश यादवले टेलिकम प्रमुख अमरेश लाल कर्णसँगको मिलोमतोमा व्यक्तिगत प्रयोजनको लागि टेलिकम कार्यालयको पोल प्रयोग गर्ने गरेका पाइएको छ । अधिकृत यादवले धनुषाधाम नगरपालिका ५ नौसय बिघ्घास्थित आफ्नो खेतमा सिँचाईको लागि उक्त पोल जडान गरेका छन् । गाउँमा टावर प्रायोजनको लागि टेलिकमले उपलब्ध गराएको पोल चोरी गरी खेतमा सिँचाई गरेको स्थानीय गणेश यादवले जानकारी दिए । उनका अनुसार उनले छिमेकी किसानसँग सिँचाई वापत पैसा पनि असुल गर्ने गरेका छन् । टेलिकमले आवश्यकता भन्दा बढी मात्रामा दिएको तार र करिव ६० हजार मूल्य बराबरको पोल कमलेशले कार्यालयलाई चोरी भएको भन्दै व्यक्तिगत प्रयोग गर्ने गरेको स्थानीयको भनाई छ । उनले टेलिकमको (एनटीसी) टावर पनि ऐलानी जमीनमा राखेर त्यस वापतको भाडा समेत लिने गरेका छन् । कर्मचारी कमलेशले आफ्नो श्रीमती मीना देवी यादवको नाममा ऐलानी जमीन व्यक्तिगत रहेको भन्दै टेलिकम कार्यालयसँग सम्झौता गरेका छन् । उनले प्रति महिना ४५ हजार भाँडा स्वरुप बुझिने गरेका छन् । टेलिकमको जनकपुरधाम, बीगरञ्ज स्थित क्षेत्रीय, काठमाण्डुको केन्द्रीय कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यी अनियमितता विरुद्ध उजुरी पनि परेको छ ।
यद्यपी यस विषयमा सरोकार बला निकाय मौन छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उजुरी दर्ता गर्न मानेका छैनन् । पोलचोरी र अवैध भाँडा सम्बन्धमा छानविनका लागि स्थानीय सत्यनारायण महतोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयमा उजुरी पनि दिएका छन् । अख्तियारले अनुसन्धान अगाडि बढाए पनि उजुरी परेको चार महिना बितिसक्दासमेत कुनै कारवाही नभएको भन्दै उनीहरुले आक्रोस समेत पोखेका छन् । टेलिकमको केन्द्रीय कार्यालयले क्षेत्रीय कार्यालय र जनकपुरधाम कार्यालयलाई सरसमानहरुको विवरण बुझाउन समेत निर्देशन दिएको छ । तर, जनकपुरधाम कार्यालयले समान चोरी भएको बताउँदै आएको छ । टेलिकमको केन्द्रीय कार्यालयले धनुषाको किसानपुरमा टावर जडान गर्न निर्देशन दिएपनि कमलेशले आफुखुसी नौसय बिघामा टावर लगेका छन् । यस विषयमा क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक राम नारायण महतोले यस विषयमा उजुरी परेको र अनुसन्धान प्रक्रिया शुरु भएको जानकारी दिएका छन् । तर, उनले अनुसन्धानमा ढिलो भएको बारे जनकपुरधाम कार्यालयसँग बुझ्न भन्दै पञ्छिए । अधिकृत यादवसँग यस बिषयमा बुझ्न खोज्दा कार्यक्रममा व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन मानेन ।