अपडेट 
२०७९ जेष्ठ २४, मंगलवार ०७:४६

गरुडा । रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकाश जयसवालले विद्यालय भवनको शिलान्यास गरेका छन् । कटहरिया नगरपालिका–६ माध्यमिक विद्यालय बगहीमा सो भवनको मेयर जयसवालले शिलान्यास गरेका छन् ।

कटहरिया नगरपालिकाकै पहिलो विद्यालयको रुपमा रहेको सो विद्यालयमा सोमवार आयोजित एक कार्यक्रमका बीच मेयर प्रकाशले भवनको शिलान्यास गरेका छन् । चालु आर्थिक वर्षभित्रमा नै निर्माण कार्य सम्पन्न हुने गरी नगरपालिकाको ६४ लाख रुपैयाँको लागतमा सो विद्यालयको ४ कोठे सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । २००६ सालमा नै स्थापना भएको बगही माविको भवन धेरै पुरानो अर्थात जीर्ण भएको कारण त्यस्तो भवनमा जोखिम मोलेर विद्यार्थीलाई पठनपाठन गर्न बाध्य भएको देखेपछि आपूm नयाँ भवन निर्माणका लागि शिलान्यास गरेको मेयर जयसवालले बताए । विद्यालयमा वर्षौदेखी भवनको अभाव रहेको गुनासो बढेपछि नगर प्रमुख जयसवालले पहिलो कामको रुपमा भौतिक पूर्वाधार निर्माण तर्फ विद्यालय भवनको शिलान्यास नै रोजेका हुन् । नगर प्रमुखमा निर्वाचित हुनेबित्तिकै उनले शिक्षा आफनो पहिलो प्राथमिकतामा रहेकोले केही समय भित्र कटहरिया नगरपालिकाको शिक्षामा पूर्ण सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शिक्षा क्षेत्रलाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ विद्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाएको समेत उनले बताए । नगरका प्रत्येक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता व्यक्त गरे । सो विद्यालयमा लामो समयदेखि रहेको शिक्षक अभावको कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित हुँदै आएकोले अबको केही दिनभित्रमा शिक्षकको पदपूर्ति गर्ने समेत उनले बताए । शिलान्यास कार्यक्रममा नगर उप–प्रमुख रीता देवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, वडा अध्यक्ष शहीद मिया धोवी, पूर्व वडा अध्यक्ष हरिभजन साह, वडा सचिव जयराम साह लगाएतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News