अपडेट 
२०७९ जेष्ठ २५, बुधबार ०७:५५

मधेश प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ । प्रदेशसभामा सांसदहरु छलफल गर्दै नीति तथा कार्यक्रमको कमजोरी औल्याएका छन् । प्रदेश प्रमुख हरि शंकर मिश्रले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम संशोधन प्रस्ताव सत्तारुढसँगै प्रतिपक्षी दलका सांसदले पनि गरेका छन् ।

सभामुख सरोजकुमार यादवले पाँच जना सांसदले संशोधन प्रस्ताव दार्ता गराएको शुरुमै जानकारी गराएका थिए । सरकारको नेतृत्व गरिरहेका जनता समाजवादी पार्टी (जसपा)का सांसद बच्चा राउत अहिरले संशोधन प्रस्ताव दर्ता गराएका छन् । जसपाका सांसद बच्चा राउतले कृषि क्षेत्रको विकासको लागि ल्याइएको शीत भण्डारमा आपत्ती जनाए । अर्का संशोधनकर्ता प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सचेतक परमेश्वर साहले नीति तथा कार्यक्रमलाई कर्म काण्डको संज्ञा दिएका छन् । जनतामाझ झुटो आश्वासन बाँडिएको उनले बताए । सरकारले पुरानै योजनाको भाषा परिर्वतन गरी मात्रै ल्याएको उनको भनाइ छ । उनले शहीद दुर्गानन्द झाको नाममा प्रत्येक वर्ष बजेट छुटयाइए पनि काम कुनै वर्ष अगाडि नबढ्ने गरेको बताए । प्रदेश सरकारले बनाउने कोल्ड सटोर क्यान्सर साबित भएको भन्दै कटाक्ष पनि गरे । ‘सरकारले नीति तथा कार्यक्रम ल्याउँछ । तर त्यसमा बजेट नै राखिएको हुँदैनन्,’उनले भने– ‘प्रत्येक वर्ष शहीद दुर्गानन्द झाको नाममा बजेट राखिने गरिन्छ । तर काम हुँदैनन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि त्यो योजना थियो । तर बजेट भाषण आउँदा त्यो शीर्षकमा बजेट नै गायव थियो ।’ छोरी वीमा अलपत्र रहेको भन्दै सरकारले लेखेर, पेश गरेर मात्रे केही नहुने उनको भनाइ छ । सरकारले जनताको आँखामा धुलो हालेजस्तै नीति तथा कार्यक्रम ल्याएको छ । दलित छात्राबास र ज्येष्ठ नागरिक भवन बनाउने कुरो प्रत्येक वर्ष उल्लेख गरिएपनि काम नहुने गरेको बताए । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद दिलीपकुमार साहले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् । विगतभन्दा अहिलेको नीति तथा कार्यक्रम सुधारिएर आएको बताए । किसानको लागि मल, बीउ स्थानीय तहमार्फत बाँडदा केही समस्या देखिएको उनले बताए । चुरेलाई मरुभूमि बनाइरहेको भन्दै प्रदेश सरकारले निगरानी गर्ने योजना नल्याएको उनले उल्लेख गरे । टोल क्लिनिक योजना ठीक रहेको र घुम्ती स्वास्थ्य टोली परिचालन जस्ता योजना पनि सरकालाई ल्याउन सुझाए । ‘हामीले प्रत्येक वर्ष नमुना विद्यालय बनाउने योजना राख्ने गरेका छौं । तर हामीले एउटा पनि नमुना विद्यालय बनाउन सकेका छैनौं,’उनले भने–‘सवारी चालक अनुमति पत्रमा व्यापक भ्रष्टाचार भइरहेको छ ।

त्यसलाई नियमन गर्ने योजना पनि ल्याउनु पर्छ ।’ लोसपाका अर्का सांसद बाबु लाल साहले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् । रौतहटका गौर नगरपालिका ७ स्थित राइस मिल नामले परिचित जग्गा प्रयोग गर्न सुझाए । पाँच विघा १९ कठ्ठा ५ धुरमा रहेको उक्त जग्गा भूमाफियाहरुले विक्री गर्ने प्रयास गरिरहको भन्दै ध्यानाकर्षण गराए । त्यो जग्गाको भोग चलन प्रदेश सरकारले गर्नुपर्ने योजना प्रदेश सरकारले ल्याउनु पर्ने उनको माग छ । अर्को संशोधनकर्ता नेकपा एकीकृत समाजवादीका सांसद सुन्दर बहादुर विश्वकर्मालाई अर्को बैठकमा समय मिलाइएको छ ।

Comment


Related News

Latest News

Trending News