अपडेट 
२०७९ जेष्ठ २८, शनिबार ०७:२२

चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सर्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.२२ प्रतिशतले वृद्धि भएको छ । गत आव १० महिनामा यस्तो मूल्य वृद्धि ३.६५ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ वैशाखको तुलनामा यस वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २४.८६ प्रतिशतले बढेको छ । यस्तै फलफूलमा १२.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको मूल्य वृद्धि ११.३० प्रतिशत छ । यस्तै दाल तथा गेडागुडीको मूल्य वृद्धि १०.५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्य वृद्धि ९.७० प्रतिशत छ । गैर खाद्य तथा सेवा उपसमूह अन्तर्गत यातायातमा २१.८१ शिक्षामा ११.६४ र मनोरन्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा मधेश क्षेत्रमा मूल्य वृद्धि आकासिएको केन्द्रीय बैंकले जनाएको छ । चालु आवको १० महिनामा मुद्रास्फीति काठमाण्डु उपत्यकामा ७.३९ प्रतिशत मधेशमा ८.१५ प्रतिशत र पहाडमा ७.८९ प्रतिशत छ ।

यस्तै हिमाल क्षेत्रमा मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति क्रमश ३.६२, ३.५१, ४.१४ र १.३३ प्रतिशत थियो । यसै वीच मुलुकको विदेशी मुद्रा सञ्चिति महिनैपिच्छे घट्दै गएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को वैशाख मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड थियो । पछिल्लो १ महिना अवधिमा मात्र २१ अर्ब रुपैयाँले सञ्चिति घटेको छ । २०७८ असार मसान्तमा नेपालको कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर थियो । जसमा १० महिनामै १८ प्रतिशतले कमी आएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति झन् धेरै २१ प्रतिशतले घटेको छ । २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड डलर कायम भएको छ । २०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत छ । आर्थिक वर्ष २०७८÷७९ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ३ महिनाको वस्तु आयात र ६ दशमलव ५७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

वैशाख मसान्तसम्म कायम रहेको विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादनको अनुपातमा २३.६ प्रतिशत र कुल आयातको अनुपातमा ५४.८ प्रतिशत बराबर हो ।

Comment


Related News

Latest News

Trending News