जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले विपत्बाट जोगिन पूर्व तयारी अवस्थामा रहन सबैलाई आग्रह गरेका छन् ।
जनकपुरधाममा आयोजित मनसुन जन्य प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै नगर प्रमुख साहले बिगतका वर्षहरुमा बाढी पहिरोबाट भएको क्षति अपूरणीय रहेको भन्दै सावधानी अपनाउन आम नागरिकलाई अनुरोध गरेका छन् । नगर क्षेत्रमा समेत कटरैत , ओसरा , भोईल सहितका स्थानहरुमा बाढीबाट हुने क्षतिलाई नियन्त्रण गर्न चाडै तटबन्ध निर्माण गरिने उनले बताए । वेपत्ता र घरबारविहीन भई विचल्लीमा परेकाहरुका लागि तत्काल उद्धार तथा राहत कार्यमा जुट्न सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउदै उनले सुरक्षा निकायसहित विपद् व्यवस्थापनमा खटिने निकायलाई तयार रहन आग्रह गरे ।
आगामी केही दिनमा अविरल वर्षा हुने, बाढी आउने सम्भावना उच्च रहेकोले पूर्व तयारी अवस्थामा रहन आम नागरिकलाई उनले अनुरोध समेत गरेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय जनप्रतिनीधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विपत्को तयारी सम्बन्धमा पूर्व अभ्यास गरेका थिए ।

