वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले इमान्दारीताका साथ घरबहाल कर मात्रै उठेमा अरु सबै कर खारेज गर्ने बताएका छन् । कर सम्बन्धी छलफलमा उठेका जिज्ञासा र सुझावलाई ग्रहण गर्दै मेयर सिंहले अरु सबै करबाट मुक्त हुनका लागि इमान्दारीताका साथ घरबहाल कर तिर्न आग्रह गरेका छन् ।


वीरगञ्ज महानगरपालिकाको अहिलेको वार्षिक प्रशासनिक खर्च झण्डै ७० करोड हुने गरेको जानकारी गराउँदै यो आर्थिक वर्षदेखि झण्डै १ अर्ब पुग्ने बताए । महानगरको आम्दानीको स्रोत करमात्रै भएको हुँदा अब करलाई व्यवस्थित बनाइने मेयर सिंहको भनाई छ । उनले भने, “कर उठाउनुपर्ने ठाउँ टन्नै छ, महानगरपालिका लथालिंग छ । धेरै ठाउँमा कर चोरी पनि हुन्छ, घरबहाल कर ५० हजार देखाएर ५ हजार दिनेहरु पनि यहीँ छन् । त्यसैले इमान्दारीताका साथ घरबहाल कर दिनुहोस्, अरु सबै कर खारेज गर्नेछौँ ।”
बैंकहरुले सामाजिक उत्तरदायित्वअन्र्तगत गर्ने गतिविधिहरुमा महानगरसँग समन्वय गर्न पनि उनले अनुरोध गरेका छन् । कर्पोरेट सामाजिक उत्तरदायित्वअन्र्तगत कुनै विद्यालयमा पंखा, ट्यांकी, कुर्सी लगायतका सामाग्री वितरण गरेपनि महानगरमा अभिलेख नभएको हुँदा समन्वय गरेर काम गर्नुपर्ने सिंहको भनाई छ । नगरसभा हुनुभन्दा अगाडी पुनः सबैसँग छलफल गरेर करको दर निर्धारण गर्ने सिंहले बताए ।


