अपडेट 
२०७९ जेष्ठ ३१, मंगलवार ०७:१२

वर्तमानमा संसारभरीका युवाहरु माझ सर्वाधिक लोकप्रिय अनुहारहरुमा एउटा लोकप्रिय अनुहार ‘चे ग्वेभारा’को हो । क्याप लगाएको, कुनै ग्रीस देउता जस्तो सुन्दर, लामा कपाल र दाढीवाल अनुहार भएको ‘चे’को तस्वीरको लोकप्रियताको चरमोत्कर्ष कतिसम्म छ भने उनको बारेमा कतिपय थाहा नपाउनेले पनि टी सर्ट, भेस्ट, क्याप, मोटरसाइकल, कार, ट्याक्सी, ट्रक, तथा युवा छात्रहरुको कोठामा स्टिकर र पोस्टरको रुपमा प्रयोग गरेको पाइन्छ । ल्याटिन अमेरिकी देश क्युबाको क्रान्तिका नायक ‘चे’को यो लोकप्रियता उनको हत्या भएको ४३ वर्षपछि सन् २०१०मा उनको शव फेला परेपछि झन् चुलिएको हो । सन् १९५९मा क्युबाली क्रान्तिको सफलतापछि देशको नेतृत्व क्रान्तिका कमान्डर फिडेल क्यास्त्रोले सम्हाले । ‘चे’लाई शिक्षामन्त्रीको पद दिइयो । तर विश्व समाजवादी क्रान्तिका स्वप्नदर्शी ‘चे’ मन्त्री पदको घेरामा बाँधिन चाहेनन् । उनले मन्त्री पद त्यागेर समाजवादी क्रान्तिको प्रचारको निम्ती मध्य अमेरिकी देशहरु कङ्गो, पेरु र बोलिभियामा गए र त्यहाँका किसानहरु बीच क्रान्तिकारी सङ्गठनको विस्तार गर्न थाले । बोलिभियामा हुँदा त्यहाँको प्रतिक्रियावादी सरकारले गिरफ्तार गरेर ९ अक्टोबर १९६७को दिन उनको हत्या ग¥यो । ‘चे’को जन्म आजकै दिन अर्थात १४ जुन, १९२८मा अजेन्र्टिनामा भएको हो । विश्व क्रान्तिमा ‘चे’ दुर्लभ नायक मध्येका एक हुन्, जस्ले सम्पूर्ण विश्वलाई आफ्नो सम्झे र संसारभरीका उत्पीडित वर्गहरुको मुक्तिको निम्ती संघर्षको प्रेरक दायित्व बोके । ‘चे’को यिनै दायित्वबोध र त्यसको निम्ती सक्रिय भूमिका खेलेको तथा जीवन समेत उत्सर्ग गर्न तयार हुनुले नै उनिप्रति संसारभरीका युवाहरुको आकर्षण बढाएको हो ।

कतिसम्म भने उनको बारेमा थाहा नपाउनेले पनि उनको तस्वीर भएको भेस्ट र स्टिकर प्रयोग गर्छन् । हिजो जनकपुरमा एक जना यस्तै युवासंग मेरो भेँट भयो । मैले उनलाई उनले लगाएको भेस्टमा भएको तस्वीरको बारेमा सोधेँ । उनलाई थाहा रहेनछ । तरयो कुनै क्रान्तिकारीको तस्वीर हो भन्ने उनलाई थाहा रहेछ । उनले यसलाई दुर्गानन्दसंग तुलना गरे । ‘दुर्गानन्द’ नेपालमापञ्चायती निरङकुश राजतन्त्र लाद्ने राजा महेन्द्रमाथी जनकपुरमा बम प्रहार गरे वापत तत्कालीन राज्यबाट मृत्युदण्ड भोगेका क्रान्तिकारी शहिद हुन् । ‘दुर्गानन्द’ले माफी माँगेको भए उनको मृत्युदण्ड उनका अन्य साथी जस्तै आजीवन कारावासमा बदल्न सक्थ्यो, तर उनि तयार भएनन र गौरवपूर्ण मृत्युदण्ड स्वीकारे । नेपालका लोकप्रिय युवाहरुमा शहिद दुर्गानन्दपनि एक हुन् । मेरो निम्ती यो खुशीको विषय थियो । हामी कहाँ युवा पुस्तामा मूख्यतः तीनवटा प्रवृत्ति पाइन्छ । एउटा जो मौज मस्ती, सिनेमा, खेलकूद र रइसी ठाठमा जीवन बिताउन चाहन्छ । वर्तमान सत्ताधारी पार्टीका नेता र मन्त्रीहरु, सिनेमाका फ्यासनेबल र ग्ल्यामरस हिरो हिरोइनहरु, क्रिकेट र फुटबलका खेलाडीहरु तथा बलिउड र हलिउडका लोकप्रिय पोप गायक र डान्सरहरु उनिहरुका आकर्षणका विषयहरु हुने गर्छन् । यस खालका युवाहरु गलत–सही जसरीपनि पैसा कमाउनुलाई उचित ठान्छन् । एनी हाउ पैसा कमाउलाई जीवन सूत्र बनाएकाप्रायः मध्य र निम्नमध्यम वर्गका यस्ता युवाहरु मौद्रिक सम्पन्नतालाई नै प्रतिष्ठा र समृद्धि भन्छन् । यस्ता युवाहरु कुराकानीमा इमान्दारी, सत्य, निष्ठाको जतिसुकै कुरा गरेपनि, आवश्यक परे सरकारविरोधी मुद्रामा देखिएपनि उनको नजर क्यारियर निर्माणमा बढी हुन्छ ।

कुराकानीमा यिनीहरुले देश र समाजको निम्ती भूमिका निर्वाह गरेका नायकहरु र शहिदहरु प्रति आदर व्यक्त गरेपनि यथार्थमा यिनीहरु प्रति उनको आकर्षण हुँदैन । अधिकांशको यस विषयमा ज्ञानपनि छिपछिपे (सतही) हुनेगर्छ र उनिहरुको कुराकानीमा कुनै तारतम्यता हुँदैन । प्रायः उच्च शिक्षा प्राप्त गरेका यस्ता युवाहरुले सिद्धान्त, निष्ठा, समाज र राजनीतिबारे ज्ञान बघार्नुको एकमात्र उद्देश्य बौद्धिकता प्रदर्शन गर्नु हुने गर्छ । यस्ता युवाहरु बेरोजगार हुँदासम्म कुनै राजनीतिक नेता, जनप्रतिनिधि वा मन्त्रीहरुको क्याम्पमा सामेल भएर जागिर अथवा कुनै राजनीतिक नियुक्ति अथवा कुनै आर्थिक उपार्जनको अवसरको खोजी गरिरहेका हुन्छन् । उनिहरुको निम्ती सैद्धान्तिक र आदर्शवादीता बेकुफपना बकवास र अव्यवहारिक हुनेगर्छ । ‘चे’ र ‘दुर्गानन्द’ जस्ता क्रान्तिकारी नायकहरु प्रति उनिहरुले सम्मान प्रकट गरेपनि वर्तमानमा यिनीहरुलाई पछ् याउन नसकिने बोधपनि पालेका हुन्छन् । समाजमा मध्यम, निम्न मध्यम, टुटपुँजिया तथा गरिब वर्गको अर्धशिक्षित युवाहरुको एउटा यस्तो जमातपनि हुन्छ, जो बेरोजगार हुन्छ, र मौज मस्तीको निम्ती राजनीतिक नेता, संघीय, प्रदेश र स्थानीय स्तरका जनप्रतिनिधिहरु तथा समाजका चतुर अगुआहरुको निम्ती लगभग पालतु लडाकूको भुमिकामा हुन्छन् । यस्ता जमातहरुले आफूलाई ज्ञानीको रुपमा प्रस्तुत गर्छन्, तर हाउभाउ र दबाब भने बलकै हुनेगर्छ । तपाँईहरुले कुनै आन्दोलनमा जुलूसमा आक्रामक गालीयुक्त नाराहरु सुन्नु भएको होला । यस्ता नाराहरु लगाउने यी जमातहरु नै हुने गर्छन् । प्रायः लम्पट चरित्रका यस्ता युवाहरु दुव्र्यसनी, असाँस्कृतिक र रुखो व्यवहारका हुनेगर्छन् र यिनीहरुलाई प्रयोग गर्नका निम्ती आर्थिक प्रलोभन एकमात्र शर्त हुनेगर्छ । भीड जुटाउन र आक्रामक हल्ला गर्नको निम्ती वर्तमान चुनावी राजनीतिमा सबैभन्दा बढी प्रयोग गरिने जमात यो नै हो ।

यस्तो जमातको निम्ती बौद्धिकता, त्याग, बलिदान, सैद्धान्तिकता, आदर्श र जनवादिताको कुनै अर्थ हुँदैन । यिनको निम्ती यिनलाई पालन गर्ने नै सबै थोक हुने गर्छन् । विवेकशून्य यी युवाहरुको पालक राजनीतिक नेताहरु, महत्वाकांक्षी धनीमानी र सन्त महन्त जो सुकैपनि हुनसक्छन् । यस्ता युवाको गोजी भरिएको हुनूपर्छ, यिनको मोजमस्तीको जोगाड हुनूपर्छ, यत्ति हो । यी दुई बाहेक एउटा राजनीतिक रुपमा सचेत र प्रतिबद्ध युवा जमातपनि हुन्छ । यिनीहरुको निम्ती राजनीतिक संघर्षको अर्थ र उद्देश्य, सत्ता र सरकारीपद भन्दापनि समाजको सकारात्मक आमूल परिवर्तनको निम्ती सचेत प्रयत्न हुने गर्छ । सामाजिक वर्गलाई उत्पीडनबाट मुक्ति दिलाउनु यिनीहरुको निम्ती आदर्श हुने गर्छ । ‘चे’ यस्तै मध्येका एक आदर्श क्रान्तिकारी युवा थिए । एउटा यस्तो युवा जो जन्मे अर्जेन्टिनामा, चिकित्सकको अध्ययन सकेर मोटरसाइकलमा सम्पूर्ण मध्य अमेरिकाको भ्रमण गरे र त्यहाँका मानिसको जीवनको जटिलता, बाध्यता, सरकारी दमन तथा चौतर्फी पस्रिएको भयानक गरिबीलाई नजिकबाट चिने, क्युबाली क्रान्तिमा भाग लिए, सफल भए र मन्त्री पदपनि पाए । तर उनि रोकिएनन् । बोलिभियामा क्रान्तिको प्रसारको क्रममा शहिद भए । हत्याको तिरचालिस वर्षपछि ‘चे’लाई गोली हान्ने सैन्य अधिकारीका अनुसार, हत्या गरिने बेला चेले भनेका थिए रे ! ः ‘एउटा क्रान्तिकारी कसरी मारिन्छ, तिमीले देख्ने छौ । तिमीले मेरो शरिरको हत्या गर्न सक्छौ, मेरा विचार र आस्थाको होइन ।’ ‘चे’ बर्मा (हालको म्याँमार)मा भ्रमणमा रहेका बेला हाम्रो देशका गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंह उनलाई भेट्न गएका थिए ।

एउटा अन्तवार्ताको क्रममा यस लेखकसंग रामराजा प्रसादले ‘चे’संग भेटेका बारे बताउँदै भने अनुसार उनले चेलाई आफूलाई संगै लग्न भनेका थिए । ‘तिम्रो आफ्नै देशमा क्रान्तिको आवश्यकता छ, त्यहीँ गएर समाजवाद र क्रान्तिको प्रचार गर, क्रान्ति गर’ भनेर चेले जवाफ दिएको रामराजा प्रसादले संस्मरण सुनाएका थिए । नव साम्राज्यवादले राजनैतिक र सामाजिक संघर्षका क्रान्तिकारी आदर्श नायकहरुलाई उपभोक्तावादी प्रतिकहरुको भीडमा हालेर नाफाको आकर्षण पैदा गर्छ र बेच्छ । यसमा उसको उद्देश्य एकातिर ती क्रान्तिकारी नायकहरुको प्रतिकको भ्रष्टिकरण र अर्कोतिर उनको लोकप्रियतालाई नाफा बजारको मालमा परिणत गरिदिनु हुने गर्छ । अमेरिकामा साम्राज्यवाद विरोधी देशभक्त गायक बब मार्ली होस वा नस्लवादी आन्दोलनका नेता सेन्ट मार्टिन लूथर किङ्ग, दक्षिण अफ्रिकी गोरा उपनिवेशवाद विरोधी क्रान्तिका नायक नेल्सन मन्डेला होस अथवा भारतमा ब्रिटिस उपनिवेशवाद विरोधी स्वतन्त्रता आन्दोलनका नायक मध्यपन्थी महात्मा गान्धी अथवा समाजवादी क्रान्तिकारी शहिद ए आजम भगत सिंह वा असहायको सेवामा जीवन अर्पण गरेकी मदर टेरेसा सबैको लोकप्रियता नवसाम्राज्यवादको निम्ती बेच्ने मालभन्दा बढी छैन । यी राजनीतिक र सामाजिक नायकहरुलाई नवसाम्राज्यवादले सबैभन्दा पहिले विचारबाट कटाएर देवता तुल्य बनाउँछ, उपभोक्तावादी आकर्षण उत्पन्न गर्छ र पूँजीवादी लोकप्रिय प्रतिकहरु पोपस्टार म्याडोना, माइकल ज्याक्सन, हलिउड स्टार, सिल्भर स्ट्यालोन, बलिउड स्टार अमिताभ बच्चन, आमिर खान, माधुरी दिक्षित, दिपिका पादुकोन, खेलाडीहरु रोजर फेडरर, पेले, सचिन तेन्दुलकर, जस्ता पुँजीवादी मोडेलहरुको भीडमा हालेर यसरी प्रस्तुत गर्छ, मानौ यी क्रान्तिकारी र सामाजिक नायकहरु पनि यसै पूँजीवादी भिडका हिस्सा हुन् ।

वस्तुतः नवसाम्राज्यवाद आफू विरुद्धको विश्वव्यापी संघर्षलाई सिध्याउन चाहन्छ । त्यसैले उसले क्रान्तिकारी नायकहरु तथा समाजको आमूल परिवर्तनका गाथाहरुलाई विकृत बनाएर युवाहरुलाई दिग्भ्रमित गर्न चाहन्छ । युवाहरु हरेक परिवर्तनका मूल वाहक हुने गर्छन् भन्ने उसलाई थाहा छ । विचारबिना र सन्दर्भबाट कटाएर बजारमा कुनै ज्याकेटको पिठ्युँमा, अथवा भेस्टको अगाडीपट्टी, अथवा कुनै कारको सीसामा अथवा कुनै ट्रकको पछाडीपट्टी देखिने ‘चे’को तस्वीर यस्तै उपभोक्तावादी माल मात्र हो । यो स्थिति ‘चे’को मात्रै हो भन्नेपनि होइन । यस्तै स्थिति हामी कहाँ पनि छ । हाम्रो आधुनिक इतिहास सानो छ, तरपनि जेजति हामीलाई थाहा छ, त्यसमापनि राजा महाराजा, देवी देउता र सन्त महन्थका खिस्साहरु हुन् । यस्ता सन्दर्भ र प्रतिकहरु जस्ले आम जनताहरुको निम्ती ज्यान गुमाए, सर्वस्व गुमाए, जीवन गुमाए, त्यसबारे हाम्रो ज्ञान र रुची दुबै थोरै छ । जब कि समाजको अग्रगामिताको निम्ती यो नै आवश्यक छ । हाम्रो निम्तीपनि हिरो र प्रेरणाका स्रोतहरु सिनेमा, खेल, फेसन र ग्ल्यामरका दुनियाँका हुन् । यसै कारण राजनीतिक र सामाजिक सन्दर्भहरु हाम्रा निम्ती अरुचिकर र आकर्षणहीन हुँदै गैरहेका छन् । नवसाम्राज्यवाद हाम्रा यसै अरुचि र आकर्षणको फाइदा उठाउँदै राजनीति र समाजलाईपनि बजारमा परिणत गर्न खोज्दै छ । ‘चे’लाई एकपटक पत्रकारले सोधेका थिए ः ‘तपाँई त डाक्टर हो, पेशामा भएको भए रोगीहरुलाई सही उपचार गर्नु हुन्थ्यो नि !’ जबाफमा ‘चे’ले भने ः ‘तपाँईले ठीक भन्नु भयो, तर अहिले त समाज नै बिरामी छ, रोगीसंग औषधी किन्ने पैसा छैन, साधन छैन । पैसामा त पूँजीवादले कब्जा गरेका छ । साधनलाई पूँजीपतिहरुको कब्जाबाट छुटाउन समाजवादी क्रान्तिको आवश्यकता छ । त्यसैले अहिले म समाजलाई उत्पीडन र भेदभावको रोगबाट मुक्त गर्ने प्रयत्न गर्दै छु ।’

सामाजिक परिवर्तनको संघर्षमा चे जस्ता प्रतिकहरुलाई सम्झनुको अर्थ राजनीतिलाई सही अर्थमा सामाजिक धरातलसंग जोडनु तथा समाजलाई बजार हुनूबाट बचाउने दायित्वबोध गर्नु हो ।

Comment


Related News

Latest News

Trending News