२०७९ जेष्ठ ३१, मंगलवार ०७:२०

तराई मधेश लोकतान्त्रि पार्टी (तमलोपा)ले नागरिकता विधेयक पास गर्न माग गरेका छन् ।

सोमबार जनकपुरधाममा तमलोपाका नेता तथा कार्यकर्ताहरुले सदनमा पेश भएको नागरिकता विधेयक पास गर्न माग गरेका छन् । संघीय संसदलाई ध्यानाकर्षण गराउने उद्देश्यले प्रर्दशन गरिएको तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले बताए दिए । राजनीतिक दलहरु नागरिकता विधेयक बारे स्पष्ट धारणा सार्वजनिक गर्न पनि उनको माग छ । जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तानहरुलाई सरकारले गैर नागरिकजस्तो व्यवहार गरेको उनको गुनासो छ । यी नागरिकहरुको लागि राज्य गम्भीर नभएको उनले आरोप लगाए । संघीय सांसदहरुलाई नागरिकता विधेयक पारित गर्न आग्रह गर्दै उनले यस पटक पनि नागरिकता विधेयक पारित नगरेमा चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिए । नागरिकता विधेयकमा उनीहरुले कुनै पनि बन्देज वा लैङ्गिक विभेद पनि नमान्ने अडानमा रहेको बताए । संघीय सांसदको पाँच वर्षको कार्यकाल बित्नै लाग्दासमेत मौलिक अधिकारको व्यवस्था गर्न नसकेको प्रति तामलोपामा असन्तुष्टि छ । नागरिकताबाट बञ्चित भएका आम नागरिकको जीवन कष्टकर रहेको नेतृ विभा ठाकुरले बताइन् ।



‘उनीहरुको जीवन कसरी निर्वाह भइरहेको छ । न व्यपार गर्न पाएको छ, न शिक्षा स्वास्थ्यको लाभ लिन पाएका छन्,’उनले भनिन् । सरकारले न्युनतम आवश्यकता पनि पूरा गर्न नसकेको उनले आरोप लगाइन् । सरकारले मधेशी जनताको मागलाई वेवास्ता गरेको उनले आरोप लगाइन् । सरकारले नागरिकता विधेयक पारित नगरे चरणबद्ध आन्दोलन गर्ने उनले चेतावनी दिइन् । संविधान संशोधन मूल माग राखेका तमलोपाले पहिलो चरणमा नागरिकता विधेयकको विषय उठाएका छन् । जकपुरधामको जनक चोकबाट निस्केको जुलुस सोनारपट्टी, राम चोक, विद्यापति चोक, विसहारा चोक, कदम चोक, भानु चोक, शिव चोक हुँदै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनमा सहभागीहरुले नागरिकता विधेयक पारित गर, मधेशी जनता अव सहदैनन् र संघीय सांसद आँखा खोल लगायतको नारावाजी गरिएका थिए ।

Comment


Related News

Latest News

Trending News