एक सातादेखि महोत्तरी जलेश्वरकी कुमारी आमा निहारीका सिंह राजपुत काठमाण्डुंस्थित बसन्तपुरमा अन्सनरत छिन् । साथीको भाइले बलात्कार गर्दा गर्भ बसेको भन्दै आरोपीतलाई कारवाहीको माग गर्दै उनी अनसन बसेकी छन् । विहीबार उच्च अदालत जनकपुरले उनको मुद्दामा आदेश दिइएको हो ।
निहारीकाले जिल्ला अदालत धनुषाको फैसलाबाट असंतुष्ट भएर उच्च अदालत जनकपुरमा ०७८ फागुन १५ गते जवर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा न्यायाधीश गुणराज ढुगेंल र रामेश्वर रेग्मीको संयुक्त इजलाशले आरोपित क्षीरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउने आदेश दिएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार अदालतले आरोपिलाई झिकाउने आदेश दिएका छन् । अदालतले आरोपित शिवराज श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकेको छ ।
‘समयमा आरोपित अदालतमा हाजिर नभए एकल पैरवी हुनेछन् । हाजिर भए दुबै पक्षले आफ्नो वकालत गरेपछि न्यायाधीशको तजविजमा जानेछन्,’उनले जानकारी दिदै भने–‘ त्यसपछि न्यायाधीशले सुनुवाईको प्रक्रिया अगाडि बढाउने छन् । सुनुवाई भएपछि प्रमाणको आधारमा अदालतले फैसला सुनाउने छन् ।’ जिल्ला अदालत धनुषाले यी मुद्दामा ०७८ माघ १४ गते फैसला सुनाउँदै आरोपित श्रेष्ठलाई सफाई दिएको थियो ।
निहारिकाले ललाई फकाई बलात्कार गरेपछि गर्भ बसेको जिकिर गर्दै आएकी छिन् । तर उनले सुरुवाती समयमा जिल्ला प्रहरी कार्यालय धनुषामा श्रीमान–श्रीमती रहेको र अंश पाउ भनी दुई वटा निवेदन दिएकी थिइन् । सोही निवेदनको आधारमा जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईले दावी नपुग्ने फैसला सुनाएको थिए । निहारिका गर्भवती भएपछि फरार रहेका शिवराज गत भदौ १८ गते कानून व्यवसायीमार्फत दुई वर्षपछि जिल्ला अदालतमा हाजिर भएका थिए । निहारिका ०७६ मंसिरमा गर्भवती भएकी थिइन् । त्यसको ६ महिनापछि पुसमा जिल्ला प्रहरी कार्यालय धनुषामा जबर्जस्ती करणी मुद्दा दर्ता गराइएको थियो ।
यसेबीच निहारिकालाई न्याय दिलाउन काठमाण्डुमा राष्ट्रियसभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानीमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनका बच्चाको संरक्षण गरी घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठककमा सांसद मृगेन्द्रसिंह यादवले मधेशी महिला नेहारिका राजपूत न्यायको खोजीमा भौतारिएको जनाउँदै उनको माग सम्बोधन गर्न सरकारको ध्यान पुग्नुपर्ने बताए । सांसद बिमला घिमिरेले बलत्कार पीडित भनिएकी युवती निहारिका न्यायका लागि आफ्ना बालक सहित राजधानीमा अनसन बस्दा पनि उनीको माग सुनुवाइ नहुनु दुःखद् भएको जनाउँदै सो घटनाका विषयमा छानबिन गर्न समिति गठनको माग गरे ।