कोभिड विरुद्धको अभियान अन्र्तगत आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर नामक भ्यासिन लगाइने भएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रको सहकार्यमा स्वास्थ्य पत्रकार मञ्ज नेपालले शनिबार जनकपुरधाममा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने सो खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको जानकारी कार्यक्रममा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले दिए । प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७ सय १६ जनसंख्या रहेपनि पहिलो चरणमा प्रदेशका ५ जिल्लाका लक्षित ५ लाख १६ हजार २ सय ३६ बालबालिकालाई खोप दिइने उनले बताए । लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने बताउंदै उनले पहिलो खोप असार ९ देखि १५ गतेसम्म र दोश्रो मात्रा २१ दिनपछि साउन २ गतेदेखि ८ गतेसम्म दिइने जानकारी दिए । झाले मधेश प्रदेशमा यसअघि खोप कार्यक्रम सफल रहेको जानकारी दिदैं अब यस प्रदेशमा कोभिड–१९ को विरामी न्यून भएको दाबी गरे । कार्यक्रममा सहभागी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.अंकुर साहले खोप लगाउँदा टाउको दुख्ने, सुई लगाएको ठाउँमा दुख्ने, रातो हुने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वारो आउने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका सामान्य लक्षण देखिन सक्छ जुन सबै खोपमा लक्षण देख्न्छि, यसमा डराउने कुनै कुरा नरहेको बताए ।
तर शरीर चिलाउने, विमिरा आउने, डाबर हुने, बढी आलस्य हुने, सुई लगाएको ठाउँमा बढी चिलाउने वा फोका जस्तो देखिएमा तुरन्त सम्बन्धित खोप केन्द्र वा चिकित्सक कहाँ सम्पर्क गर्नुपर्नेमा उनले जोड दिए । कोभिड– १९ विरुद्धको खोप अभियान होस् वा स्वास्थ्य उपचार प्रदेश सरकारले गम्भीरतापूर्वक लागेको बताउदै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमित विरामीको विशेष उपचारका लागि व्यवस्था मिलाएको पनि जानकारी दिए । सो कार्यक्रममा युनिसेफका सुन्दर लामाले कोभिड खोपको बारे प्रकाश पार्दै सबैलाई निर्धक्क भई खोप लिन आग्रह गरेका थिए । कार्यक्रमा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले कोभिड न्यूनीकरणमा सञ्चारकर्मीमा पनि भूमिका महत्वपूर्ण रहेको बताउदै खोप विरुद्ध गरिने दुष्प्रचार प्रसारलाई चिर्न संचारकर्मीको दायित्व रहेको बताए । स्वास्थ्य जस्तो संवेदनशील विषयलाई सामाचार संप्रेषण गर्दा गम्भीरताको साथ गर्नुपर्ने नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णले जानकारी दिए । मंचको अध्यक्षमा रामप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मंचका मधेश प्रदेश संयोजक हदीस खुद्दारले कार्यक्रमको महत्व बारे धारणा राखेका थिए ।