अपडेट 
२०७९ असार ६, सोमबार १२:५१

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा देशका विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदै छ ।
यसै क्रममा यातायात व्यवसायीले पूर्वको विराटनगरमा प्रदर्शन गरेका छन् ।

यातायात व्यवसायीले सोमवार बिहानैदेखि कोसी लोकमार्ग अवरुद्ध पारेका छन्। नेपाल आयल निगमले पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्यवृद्धिको विरोधमा कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ तथा ४ को राजवंशी चोक र दूध फारमनजिक सवारीसाधन तेर्स्याएर यातायात व्यवसायीले सडकमा अवरोध गरेका हुन्।

व्यवसायीको आन्दोलनका कारण लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। एम्बुलेन्स लगायत अति आवश्यकीय सवारीसाधनलाई पनि अवरोध गरिएको छ। सार्वजनिक सवारीका सञ्चालकले दुवै तर्फको सडकमा चक्काजाम गरेर सवारीसाधन सञ्चालनमा अवरोध गरेको प्रहरीले जनाएको छ। यातायात व्यवसायीले सरकारले गरेको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन्।

सवारीसाधनमा अवरोध गरिएको स्थानमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको। सुरक्षाकर्मीले बल प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेका छन्। त्यस क्रममा प्रहरीले ४ जना सवारी चालकलाई पनि नियन्त्रणमा लिएको छ।

सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।

बुटवलमा पनि प्रदर्शन

नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा आन्दोलन गरेको छ। सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि विद्यार्थीहरुले प्रदर्शन गर्दै मूल्यवृद्धिको विरोध गरेका हुन् ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै आन्दोलन जारी रहने बताए । उनले थप आन्दोलनका कार्यक्रम तय गर्ने पनि बताए ।

मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्षको तयारीमा एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अनियन्त्रित र चर्को मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिसँगै त्यसको प्रभाव हरेक बस्तुमा पर्ने भएकाले महँगीविरुद्ध सशक्त आन्दोलनको खाँचो रहेको एमालेको भनाइ छ ।

चर्को महँगीविरुद्ध आज बस्ने प्रतिनिधि सभा बैठक अघि पार्टीका शीर्ष नेताहरूबीच छलफल गर्ने एमालेको तयारी छ । सोही छलफलअनुसार कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News