जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र बचाउन गठबन्धन कायम राखेको बताएका छन् ।
जनकपुरधाममा सोमवार पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । गठबन्धनको सरकारले मधेशी जनताको माग सम्बोधनमा कठिनाई देखाए पनि लोकतन्त्र बचाउन गठबन्धनमै रहेको उनले दावी गरे । ‘गठबन्धनभन्दा बाहिर गए अर्को शक्तिले लोकतन्त्रलाई धरापमा पार्न सक्छन् ’ उनले भने, त्यसकारण गठबन्धनमा बसेर लोकतन्त्रलाई जोगाएको छु । ‘सरकारमा भएर पनि मधेशी जनताले पाउनु पर्ने अधिकार प्राप्तिमा केही कठिनाई भइरहेको छ’ अध्यक्ष यादवले भने, तर गठबन्धन गरेरै जानु पर्ने बाध्यात्मक अवस्था छ । तर मधेशी जनताले अधिकार पाउन सुरुवात भएको उल्लेख उनले दाबी गरे । नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण लगायत समान अधिकारको लागि पार्टी संघर्षरत रहेको उनले बताए । मधेशी जनताको बलिदानीबाट आएको संघीयता धेरैलाई नपचेको भन्दै उनले नेकपा एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरे । आगामी निर्वाचनमा पनि यही पाँच दलीय गठबन्धन निरन्तर रहने उनले बताए । पार्टीका नेताहरुलाई उपेक्षित समुदायको अधिकारका लागि आ– आफ्नो ठाउँबाट पहल गर्न उनले निर्देशनसमेत दिए । प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारको लागि संघर्ष गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । ‘सामाजिक परिर्वतनको बिना समाजवाद सम्भव छैन्’ अध्यक्ष यादवले भने, त्यसकारण प्राप्त अधिकारलाई संस्थागत गरी थप अधिकारको लागि हामीलाई संघर्ष गर्नुपर्छ । संघीय व्यवस्था हटाउन केही षडयन्त्र भइरहेको प्रति आशंका व्यक्त गर्दै उनले भने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने कुनै पनि षडयन्त्रलाई सफल हुन दिनु हुँदैन् ।
अध्यक्ष यादवले जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र प्रत्याशी बलराम महतोलाई जसपामा प्रवेश गराएका छन् । पार्टी अध्यक्ष यादवको हातपाट सदस्यता लिएका महतोले आगामी दिनमा पार्टीको हनुमान भएर काम गर्ने प्रतिबद्धता जनाए । उनलाई पार्टी अध्यक्ष यादवले टिका र माला लगाएर स्वागत गरे । जसपा विभाजन हुने संघारमा पुगेको चर्चा चलिरहेको बेला अध्यक्ष यादवले निस्फिक्र भएर संगठन सुदृढ बनाउने अभियानमा जुटेका छन् । मधेश प्रदेशलाई लक्षितगरी अध्यक्ष यादवले कयौं कार्यक्रमहरु सम्पन्न गरेका छन् । जसपा राष्ट्रिय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पार्टी विभाजनका लागि हस्ताक्षर संकलन गरिरहे पनि अध्यक्ष यादवले त्यसलाई महत्व दिएको देखिदैन् । उनले पार्टीमा प्रवेश गराएका महतो नेपालको ‘क’ वर्गको सीमित निर्माण व्यवसायीहरु मध्येका ठेकेदार मानिन्छ । पार्टी प्रवेश गरेका महतो आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने बताइएको छ । उनले पार्टीका नेताहरु समक्ष धनुषा निर्वाचन क्षेत्र २ बाट लड्ने इच्छा व्यक्त गरेका थिए । यद्यपि पार्टीको हाईकमाण्डले यसबारे कुनै आश्वासन नदिएको बताइएको छ । पाँच दलीय गठबन्धन कायमै रहे महतोको निर्वाचन क्षेत्र फरक हुन सक्ने बुझिएको छ । अहिले उनको गृह पालिका सबैला छन् । गठबन्धन भए निर्वाचन क्षेत्र नम्बर ४ बाट पनि टिकट पाउन सक्ने सम्भावना रहेको पार्टीका नेताहरुले बताएका छन् । ज न क प ु र ध ा म उपमहानगरपालिकामा मेयरको चुनावमा महतोले ४ हजार २ सय बढी मत प्राप्त गरेका थिए ।
जसपाको टिकट निवर्तमान मेयर लालकिशोर साहले नै पाउने निश्चित भएपछि महतो स्वतन्त्र उम्मेदवार बनेका थिए । हुनत उनले अन्य दलहरुबाट समेत मेयरको टिकटका लागि प्रयास गरेका थिए । तर गठबन्धनको उम्मेदवार साह भएको र एमालेले पनि उनलाई टिकट दिन चासो नदेखाएकाले महतो स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनावमा उनीसँगै उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेका निर्मल कुमार चौधरी भने पार्टी प्रवेशमा महतोसित छुटेका छन् । चुनावमा सहयोगी बनेका उनका सम्धी लालबाबु साह पनि महतोसित अलग्गिएको देखिन्छ । धनुषा जिल्लामा ठेकेदार बाहेकको पहिचान बनाउन नसकेका महतोले जसपाको टिकटमा सांसद बन्ने दरिलो विश्वास लिएका छन् । उनी टिकट नपाए समानुपातिकमा पनि समावेश हुन इच्छुक देखिएका छन् ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=D0l7A2nTN7s