राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त अध्यक्ष धर्मेन्द्र झाले संस्कृत भाषा साहित्य अथाह ज्ञानको भण्डार रहेको बताएका छन् ।
महोत्तरीको मटिहानी–७ स्थित ३०४ वर्ष पुरानो संस्कृत पाठशाला (राजकीय संस्कृत माध्यमिक विद्यालय) परिसरमा चार कोठे पक्की भवनको बुधबार शिलान्यासपछि झाले विद्यालयलाई यसपाली राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणको बजेट प्राप्त भएको जानकारी दिए । अध्यक्ष झा, मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल र विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले संयुक्तरूपमा भवनको शिलान्यास गरे । संस्कृत अतिप्राचीन वैज्ञानिक भाषा रहेको उल्लेख गर्दै झाले दर्शन, चिकित्सा, साहित्य, ब्रम्हण्डसहित जीवन र जगतसम्बन्धी सबै ज्ञान संस्कृतमा उपलब्ध रहेको बताए ।
विद्यालयको १०० वर्ष पुरानो छात्राबास भवन गत वर्षको बर्षामा ढलेपछि बटुकको बसोबासमा समस्या रहँदै आएको थियो । गत मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मटिहानी भ्रमणका क्रममा अवलोकन गरेपछि गुरुकूलले नयाँ भवन निर्माणका लागि ३६ लाख प्राप्त गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।