
धनुषाको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न भएको ८ औं गाउँसभाबाट गाउँपालिकाको लागि ४७ करोड बढी बजेट अनुमान गरिएको छ । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखी भौतिक पूर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दाको रुपमा अगाडि सारिएको छ । गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको सभापतित्व तथा उपाध्यक्ष कमला सहगलको विशेष आतिथ्यमा आर्थिक बर्ष २०७९÷०८० को बजेट सार्वजनिक गरिएको हो । आर्थिक वर्ष २०७९÷०८० को लागि कुल ४७ करोड २ ९ लाख ९६ हजार अनुमानित बजेट सार्वजनिक गरिएको छ । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ स्थित रहेको स्वास्थ्य चौकीको सभाहलमा युवा, विद्यार्थी, जेष्ठ नागरिक, कर्मचारी, भद्रभलादी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीको उपस्थितिमा बजेट सार्वजनिक गरिएको थियो ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष अब्दुल मालिकले अतिथिहरुलाई स्वागत गरेका थिए। सो क्रममा गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले चालु आर्थिक वर्षको लागि बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी थिइन् । गाउँपालिका अध्यक्ष दिपिन देव यादव नेता बनेर होइन, जनताको बेटा बनेर सेवा गर्नको लागि आएको बताए। जनताको आवश्यकता र समस्या बुझ्दै जनकनन्दिनी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु पार्टी भन्दामाथि उठेर गाउँपालिकालाई तीन वर्ष भित्रै गाउँपालिकाको प्रत्येक वडामा चार पाङ्ग्रे, कार गुड्ने बाटोको निर्माण गरेर देखाउने उनले दाबी गरे ।