नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । प्रचण्डको तेस्रोपटक प्रधानमन्त्री बन्ने इच्छा जाहेरपछि गठबन्धनमाथि आशंकाको बादल मडारिदै धक्का दिने/नदिने बहस शुरु भएको छ । अरुलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेल्दै आएका प्रचण्डको प्रधानमन्त्री मोहले यतिबेला गठबन्धनमा विभिन्न आशंकाको प्रवेश स्थिति भएको छ । प्रचण्ड स्वयम्ले कांग्रेसले माओवादीलाई उपेक्षा गरेको आरोप लगाउँदै आइरहेका छन् । प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा देखाउनुभन्दा पहिले नै नेकपा एमालेले उनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हल्ला बाहिरिएको थियो । एमालेकै ग्रीन सिग्नलले प्रचण्डको अभिव्यक्ति आएको बहस पनि भइरहेको छ । तर यसको भने तथ्थपूर्ण पुष्टि भएको छैन् ।
यद्यपि प्रतिपक्षी एमाले गठबन्धन टुटाउने मौका कुरेर बसिरहेको छ । काँग्रेस इमान्दार नहुँदा माओवादीसहित गठबन्धनका अन्य दल थोरै सिटमा खुम्चिएको प्रचण्डले सार्वजनिक मञ्चमै बोल्दै आएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेशसभामा पनि कांग्रेसले माओवदीसहितको दललाई कम उम्मेदवार उठाउन खोजेको भन्दै असन्तुष्टि पोखिरहेका छन् । गठबन्धन सफल नभएको भन्दै उनले अन्य विकल्पको पनि खोजी गरिरहेको बताइन्छ । नेकपा एकीकृत समाजवादीमा पनि आन्तरिक विवाद देखिएको छ । यता, अर्कोतिर, कांग्रेस पनि कम्तीमा चुनावसम्म गठबन्धन कायमै राख्न चाहन्छ । यसर्थ, आफू नेतृत्वको सरकार ढल्ने स्थिति भए प्रचण्डलाई नै अगाडि सार्ने सम्भावना पनि देखिएको छ । अथवा प्रधानमन्त्री बन्ने संकेतले गठबन्धनलाई धक्का दिन सक्छन् । यस्तोमा दुई ठूला दलको लडाइले संसदमा तेस्रो दलको संसदीय दलका नेता रहेका प्रचण्डलाई फाइदा पुग्ने देखिन्छ । दुवैतर्फबाट ग्रीन सिग्नल देखाएकाले प्रचण्डको पछिल्लो अभिव्यक्ति आएको अनुमान गर्न गाह्रो छैन । प्रचण्डले तयार रहेकातर्फ संकेत गरेका हुन् अनुमान गरिएको छ । अर्को तर्फ गठबन्धनलाई धक्का दिन शनिबार नेकपा एकीकृत समाजवादीले पनि निर्णय गरेका छन् । केन्द्रीय कमिटिको बैठकमा पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य खुला गर्ने निर्णय गरिसकेको छ । पटक पटक सरकारको आलोचना गर्दै आएका नेकपा एसको निर्णयले वामपन्थी गठबन्धनलाई एक ठाउँमा ल्याउन सक्ने कुरालाई बल दिएको पनि देखिएको छ । ‘गठबन्धनको विषयमा पाँच दलीय गठबन्धन सबैसँग सहकार्य गर्छौं । तर शरण पर्दैनौं । सहकार्य गर्न हामी खुला छौं,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने,‘सबै दलसँग छलफल खुला गर्छौं ।
पाँच दलीय गठबन्धन हाम्रो प्राथमिकता हो । तर पाँच दल बाहेकका दलहरूसँग पनि खुला छलफल गर्नेछौं ।’ यस्तै एकीकृत समाजवादीकै पहलकदमीमा बामपन्थी शक्तिहरूको ध्रुव सिर्जना हुनसक्ने पनि उनले बताए । ‘देशभक्त र बामपन्थीहरू बीचमा व्यापक सहकार्यको सम्भावना भएको कुरा देख्न सकिन्छ । यसबारेमा पनि हामी बहस छलफल गर्न सबै राजनीतिक दलहरू, व्यक्ति व्यक्तिसँग, समूह समूहसँग भेट्न तयार छौं,’ उनले भने, ‘हाम्रो पहलमा देशभक्त बामपन्थी लोकतान्त्रिक शक्तिहरूको ध्रुव सिर्जना हुनसक्छ । हामी सबैलाई समेटेर देशको हितको रक्षाका लागि देशको लोकतन्त्र संविधानको रक्षाको लागि हाम्रो पहल कदमीमा हामी अगाडि बढ्न सक्छौं ।’ नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको उनको टिप्पणी छ । उनले अब मन्त्रिमण्डलको पुनर्गठनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने पनि दावी गरे । ‘मन्त्रिमण्डलका सन्दर्भमा आजसम्म जति हामीले प्रधानमन्त्रीलाई पर्खियौं, माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं । अब हामी उहाँहरूलाई पर्खिने छैनौं,’ उनले भने, ‘तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस् । नयाँ मन्त्रीहरूलाई सपथ ग्रहण गराउनुहोस् । पार्टीको निर्णयको कदर गर्नुहोस् । अब उप्रान्त पनि ढिलो गर्नुभयो भने यसलाई हामी तपाईंहरूले हामीलाई गरेको अपमान हो भन्ने सम्झिनेछौं ।’


